३३ दलको बन्दले देशभर सास्ती

Nepal-Bandaकाठमाडौं, २६ चैत । नेकपा–माओवादीसहित ३३ दलले आह्वान गरेको नेपाल बन्दका कारण आइतबार मुलुकभरको जनजीवन प्रभावित बन्यो । प्रधानन्यायाधीश नेतृत्वमा गठित अन्तरिम चुनावी मन्त्रिपरिषद् खारेज गरी सर्वदलीय सरकार गठनको माग राख्दै आह्वान गरिएको बन्दका कारण जनजीवन कष्टप्रद बन्न पुगेको हो ।

सरकारी कार्यालयबाहेक मुलुकका मुख्य व्यापारिक केन्द्रहरू दिनभर ठप्प रहे । यातायातका साधन पनि दिनभरजसो चलेनन् । बिहान मुख्य सहरमा केही सवारीसाधन चल्ने प्रयास भए पनि बन्दकर्ताले तोडफोड तथा आगजनी गरेपछि सडक ठप्प बन्न पुग्यो । बन्दकर्ताले लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनका साथै मोटरसाइकलमाथि तोडफोड गरे । गाडी तोडफोडमा संलग्न २२ पुरुष र २ महिला गरी २४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनामा ३ तीन जना सामान्य घाइतेसमेत भएका छन् ।
प्रहरीका अनुसार बन्दकर्ताले इलामको कन्याममा काठमाडौंबाट पशुपतिनगर जाँदै गरेको ना.३ ख २५६९ नम्बरको बस र बाकेको कोहलपुर–३ मा ना.४ ख ४७११ नम्बरको बसमा ढुंगा प्रहार गर्दा क्षति पुगेको छ । बाँकेकै नेपालगन्ज नगरपालिका–१६ स्थित मनकामना भेकल सेन्टरमा ढुंगा प्रहार हुँदा ३ वटा झ्यालका सिसा फुटेका छन् । वीरगन्जबाट पोखरा जाँदै गरेको ना.२ ख ८५२२ नम्बरको ट्रक चितवनमा तोडफोड भयो ।
बन्दकर्ताले सञ्चारमाध्यमका सवारीसाधनलाई समेत छाडेनन् । काठमाडौंको चाबहिलमा उनीहरूले बा.७ च ६८४० नम्बरको माउन्टेन टिभीको भ्यान तोडफोड गरे । प्रदर्शनकारीले कैलालीको धनगढी क्याम्पस चोकमा से.१ च ३१३ नम्बरको तरकारी बोक्ने जिपको अगाडिको सिसा फुटाए । धनगढी–४ बसपार्कस्थित लक्ष्मी भट्टको होटलका सिसाहरू तोडफोडबाट चर्केका छन् ।
सरकारी काममा प्रयोग हुने सवारीसाधन पनि बन्दकर्ताको निशानामा पारे । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मा लोकसेवा आयोगको बा.१ झ ५१५४ नम्बरको पार्किङ गरी राखेको गाडीमा ढुंगा प्रहार भयो । सोही नगरपालिका–६ स्थित विद्युत् कार्यालयको एक थान कम्प्युटर र एक थान टेबल तोडफोड भएको छ । सुर्खेत छिन्चु–८ तालवारीमा भे.२ प २२४९ नम्बरको मोटरसाइकल तोडफोड हँुदा अगाडिको सिसा र हेडलाइट फुटेको छ ।
बन्दकर्ताले कतिपय यातायात साधनमा त आगजनी नै गरे । उदयपुरको सिरिसे–९ मा मारुती सिमेन्टको ना.१ क २७१८ नम्बरको टिपरमा बन्दकर्ताले आगजनी गरे । प्रहरी हस्तक्षेपका कारण क्षति हुन भने पाएन । पर्साको वीरगन्ज उपमहानगरपालिका–१९ मा प्रदर्शनकारीले ना.३ ख २५१३ नम्बरको भाडाको ट्रकमा आगजनी गरे । पुकौली–५ मा नम्बर नखुलेको मोटरसाइकलमा आएका दुई बन्दकर्ता जनकपुरबाट जलेश्वरतर्फ जाँदै गरेको डिएल १ एलसी ९१८६ नम्बरको फलफूल बेच्ने मिनीट्रकको अगाडिको सिसा फुटाई फरार भए । बन्दकर्ताले बिआर ३० ए ४२८ नम्बरको बलेरो गाडी र बिआर ०६ बिए ६०२३ नम्बरको टाटा सुमोको साँचोसमेत नियन्त्रणमा लिए ।

प्रतिक्रिया