नेविसंघमा फेरि विवाद चुलिँदै

nepal student uniyanकाठमाडौं, २६ चैत । कांग्रेस नेतृत्वको गुटगत प्रभावका कारण वर्षौंदेखि महाधिवेशन हुन नसकेको नेपाल विद्यार्थी संघमा विवाद थप चुलिँदै छ । पार्टीका विद्यार्थी संगठन प्रमुख नवीन्द्रराज जोशीले विवाद मिलाउनुभन्दा ‘आगोमाथि घ्यू थप्ने’ काम गरिरहेको विद्यार्थी नेताहरूको आरोप छ ।

पार्टी अध्यक्ष सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर विद्यार्थी नेताहरूले छुट्टाछुट्टै आह्वान गरेको महाधिवेशन स्थगन गरेर एउटै गर्ने सहमति भए पनि हुन सकेको छैन । बरु, विवाद बढ्न थालेको छ । विवाद मिलाउन नेता जोशीले पनि प्रभावकारी पहल गरेका छैनन् ।
देउवा पक्षधर विद्यार्थी नेता ऋषिकेशजंग शाह नेविसंघलाई व्यवस्थित बनाउन जोशीले प्रभावकारी भूमिका निर्वाह नगरेको बताउँछन् । कमिटीमा बस्न नपाउनेहरूले पुन: षड्यन्त्र गरी संगठनलाई ध्वस्त पार्न लागेको शाहको आरोप छ । विद्यार्थीले जोशीविरुद्ध नै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको उनले बताए ।
‘लामो विवाद मिल्दै महाधिवेशनमा जाने कुरामा सहमति भए पनि पार्टीका जिम्मेवार नेताका कारण महाधिवेशनको मिति घोषणा हुन सकेको छैन, १८ जिल्ला, केही क्षेत्रीय र क्याम्पसको पनि अधिवेशन भइसकेको छ,’ नेता शाहले भने, ‘नेता जोशीले वर्तमान कमिटी नै भंग गराउने सोच राखेकाले हामी उनीविरुद्ध नै आन्दोलनमा जान बाध्य छौँ ।’
तर, कांग्रेस नेता जोशीले भने आफूले सहजकर्ताको मात्रै भूमिका निभाउने भन्दै संविधानसभा निर्वाचनको तयारीका कारण नेविसंघको महाधिवेशन घोषणा हुन नसकेको बताए । ‘नयाँ निर्वाचनको पनि तयारी छ, नेविसंघमा पनि मैले सहजकर्ताको भूमिका निभाउने हो । केही विवाद छन्, यी प्रक्रिया मिलेपछि मिति घोषणा हुन्छ,’ उनले सौर्यसँग भने । आफूमा भन्दा विद्यार्थी नेताहरूमै कमजोरी रहेको उनले बताए ।
नेविसंघका अध्यक्ष रञ्जित कर्णले पनि संविधानसभाको मिति तय भइनसकेका कारण संघको महाधिवेशनको मिति तय हुन नसकेको बताए । ‘संविधानसभाको निर्वाचनले अल्झिएको हो, हामीले कसैविरुद्ध आन्दोलन वा विरोध गर्दैनौँ,’ उनले भने । स्ववियु निर्वाचनको अन्योलले पनि समस्या थपिएको उनको भनाइ छ ।
जिल्ला र क्याम्पसको विवाद मिल्दै गएपछि महाधिवेशनको मिति प्रस्ताव गरे पनि पार्टीले वास्ता नगरेको शाहको आरोप छ । तत्काल महाधिवेशनको मिति घोषणा नभए जोशीविरुद्ध नै आन्दोलनमा जाने चेतावनी उनले दिए । प्रत्येक दुई वर्षमा हुनुपर्ने नेविसंघको महाधिवेशन आन्तरिक विवादका कारण पाँच वर्षदेखि हुन सकेको छैन ।
आन्तरिक विवाद केही साम्य भएपछि दुवै पक्ष ५ देखि ७ माघसम्म महाधिवेशन गर्न तयार भएका थिए । तर, पछि जिल्ला, क्याम्पसमा प्रतिनिधि खटाउने विषयमा कुरा नमिलेपछि विवाद थप बल्झियो । १८ जिल्ला र केही क्षेत्रीय अधिवेशन भए पनि अन्यमा विवाद बढेपछि प्रक्रिया थाती राखियो । पार्टीका तर्फबाट विद्यार्थी संगठन प्रमुख नेता जोशी पनि यसलाई स्वीकार गर्छन् । ‘संगठनमा विवादभन्दा तालमेल भए मात्रै अधिवेशनको माहोल बन्ने हो, त्यो देखिएन,’ उनले भने ।
कांग्रेसको सबैभन्दा ठूलो भ्रातृसंगठनको महाधिवेशन हुन नसक्नुको कारण सभापति कोइराला र देउवासहित करिब आधा दर्जन गुट–उपगुट ‘कालो छाया’ पर्नु भएको विद्यार्थी बताउँछन् । जिम्मेवार नेताहरूकै आडमा गुटबन्दी गरेर संगठनलाई ध्वस्त बनाउने काम भइरहेको उनीहरूको अरोप छ ।
नेविसंघ प्रवक्ता युपी लामिछानेका अनुसार विद्यार्थी नेताहरू आपसी कलहमा लाग्नुले पनि महाधिवेशन हुन नसकेको हो । ‘महाधिवेशन गराउन नसकेको पार्टीले मात्र होइन, हामी विद्यार्थी नेताबीच नै कुरा नमिले महाधिवेशन कसरी हुन सक्छ ?’ उनले भने । नेता बन्न मिडियामा प्रचारबाजी गर्नेहरूले संगठनलाई धराशयी बनाएको उनको आरोप छ ।

प्रतिक्रिया