भरिया पक्राउ, गिरोह सुरक्षित

सुर्खेत, २४ चैत । २५ साउन ०६९ मा पाँचकेजी तीन सय ग्राम लागुपदार्थ अफिमसहित कोहलपुर–२ की ३५ वर्षीया दिलमाया थापा र सोही ठाउँकी २९ वर्षीया सुस्मिता पुन छिन्चुमा पक्राउ परे । लागुपदार्थको कारोबार भइरहेको सुराकी पाएपछि सुर्खेत प्रहरीले तीन महिनाको अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरेको हो ।

रोल्पा प्रहरीले ६ केजी ब्राउन सुगरसहित दुई महिलालाई पक्राउ गर्‍यो । लागुऔषधको कारोबारमा धमाधम महिला पक्राउ पर्न थालेपछि लागुपदार्थ कारोबारका गिरोहले महिलालाई भरियाका रूपमा प्रयोग गरिरहेको प्रहरीको निक्र्याैल छ । तर, भरिया पक्राउ भइरहँदा पनि मुख्य गिरोह भने पक्राउ पर्न सकेका छैनन् । अफिमसहित पक्राउ परेका महिलाले दिएको बयानका आधारमा प्रहरीले २६ साउन ०६९ मा अफिम बिक्रीवितरणमा संलग्न रामघाट–९ घर भई रामघाटकै वडा नम्बर ४ मा बस्ने देवीप्रसाद शर्मालाई पक्राउ गर्‍यो । प्रहरी अनुसन्धानबाट शर्माले नै दुई महिलालाई रामघाटबाट कोहलपुरसम्म पुर्‍याइदिएबापत ५–५ हजार रुपियाँ दिने गरी अफिम बोकाएको पत्ता लाग्यो । शर्माको बयानअनुसार रजेना–३ का ३० वर्षीय टोपबहादुर ओली पनि पक्राउ परे । तर, पक्राउ परेका चारजनाले आफूहरू पैसाको लोभमा परेर भरिया मात्रै रहेको प्रहरीसमक्ष बयान दिएका थिए ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिआइजी टपेन्द्रध्वज हमाल भन्छन्, ‘ओसारपसारमा ठूलै गिरोह संलग्न छ, हामीनजिक पुग्न प्रयासरत छौँ ।’ लागुऔषध ओसारसार र बिक्रीमा प्राय: दुर्गम पहाडी जिल्ला, तिनमा पनि अभाव र गरिबीले पिल्सिएका महिलालाई प्रयोग गरिएको छ । भरियाको रूपमा लागुऔषध ओसारपसारमा संलग्न धमाधम पक्राउ पर्दै जेलसजाय भोगिरहेका छन् । पक्राउ परेका महिला गरिबीकै कारण यो काम गर्नुपरेको बताउँछन् । घरधन्दा चलाउन गाह्रो भएपछि लागुऔषध बोक्न थालेको बताउने सुस्मिता पुन भन्छिन्, ‘पतिको कमाइले मात्रै घरखर्च चलाउन गाह्रो भयो, त्यसैले यतातिर लागेँ ।’ दिलमाया भन्छिन्, ‘झोलामा के छ भन्ने मलाई थाहा थिएन, कोहलपुरसम्म पुर्‍याइदेऊ पाँच हजार दिन्छु भनेपछि बोकेकी हुँ ।’
सुर्खेतका एसपी विश्वनिरञ्जन प्रधान पक्राउ परेका महिलाले आफूहरूलाई लागुऔषधबारे केही जानकारी नभएको बताउने गरेकाले यसका गिरोहले प्रहरीको आँखा छल्न गरिब महिलालाई पैसाको लोभ देखाएर प्रयोग गरिरहेको बताउँछन् । तर, ती महिलालाई समात्ने प्रहरी मुख्य गिरोहको नजिकसम्म पनि पुग्न सकेको छैन । एसपी प्रधानचाहिँ लागुऔषध कारोबारीको ठूलै सञ्जाल भएकाले प्रयोगकर्ता र भरिया नै बढी समातिने तर गिरोहलाई पक्राउ गर्न नसकिएको बताउँछन् । यसले प्रहरी अनुसन्धानमाथि पनि प्रश्नचिन्ह खडा गरेको छ ।
प्रहरीले कुनै पनि घटनाबारे जानकारी माग्दा दिने उत्तर हो, ‘अनुसन्धान भइरहेको छ, घटनाको नजिक पुगेका छौँ, केही समयभित्रै तस्करलाई पक्राउ गरी कारबाही गरेरै छाड्छौँ ।’ तर, कहिल्यै मुख्य तस्कर र यसका मतियार पक्राउ पर्दैनन् । प्रहरीले जुनसुकै परिमाणमा होस्, कुनै पनि लागुपदार्थ पक्राउ गर्‍यो भने त्यसलाई ठूलो उपलब्धिका रूपमा प्रचार गर्छ । भरिया पक्रनु मात्रै ठूलो कुरो नभई भरियामार्फत मुख्य गिरोहलाई पक्राउ गर्नु प्रहरीको उपलब्धि हुने बताउँछन् वीरेन्द्रनगर–६ का व्यापारी रामचन्द्र कोइराला ।
हालसम्म भरिया मात्र कानुनी दायरामा आएका छन् । तस्करीमा संलग्न मुख्य अभियुक्त कानुनी दायरामा आएका छैनन् । कुनै पनि घटनामा मुख्य तस्कर पक्राउ नपर्नुले देखावटीका लागि मात्र भरियालाई पक्राउ गर्ने गरिएको र तस्कर सुरक्षित रहेको आरोपसमेत स्थानीयले प्रहरीलाई लगाउन थालेका छन् । डिआइजी हमाल भन्छन्, ‘ठूलो आपराधिक गिरोह नै तस्करीमा लागेकाले पक्राउ गर्न कठिन भएको छ ।’

प्रतिक्रिया