अध्यक्ष रेग्मी र शीर्ष नेताहरुबीच भेटबार्ता

baluwatarकाठमाडौं, २३ चैत । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र प्रमुख चार राजनीतिक शक्तिका शीर्ष नेताहरुबीच भेटबार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा निर्वाचन र तयारीका विषयमा छलफल भएको रेग्मीका प्रेस सल्लाहाकार विमल गौतमले जानकारी दिए । मुलुकको पछिल्ला राजनीतिक गतिविधि र असन्तुष्ट दलसँग छलफल गर्ने विषयमा समेत परामर्श भएको गौतमले बताए ।
शीर्ष नेताहरुले आन्दोलनरत दलहरुसँग बार्ता गरेर सहमतिमा ल्याई निर्वाचन प्रक्रियामा जान अध्यक्ष रेग्मीलाई सुझाव दिए ।
जवाफमा अध्यक्ष रेग्मीले आफू सहमति जुटाउन तयार रहेको भन्दै वार्ताको वातावरण बनाई दिन आग्रह गरे ।
सल्लाहाकार गौतमले निर्वाचन आयोगले बुझाएको निर्वाचनका लागि आवश्यक कानूनको मस्यौदाबारे आएका सुझावका विषयमा पनि छलफल भएको बताए । सुझावलाई समेटेर अघि बढ्ने सहमति भएको उनले बताए ।
आयोगद्धारा प्रस्तावित समानुपातिक निर्वाचनका लागि एक प्रतिशतको सीमा राखिएको छ । खसेको एक प्रतिशत मत नपाउने दललाई सभासद पद नदिने प्रस्ताव आए पछि साना दलले विरोध गर्दै आएका छन् ।
छलफलमा अध्यक्ष रेग्मीका साथै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल तथा मधेसी मोर्चाका राजकिशोर यादवलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया