काठमाडौं, १९ चैत । तीनपटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीलाई टाइब्रेकरमा पराजित गर्दै ललितपुरका राजन पुरी सहकारी कप बुद्धिचाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वार्टरफाइनलमा बद्रीसँग सेतोगोटी खेलेर जित हात पारेका राजन कालोगोटीमा खेल्दा पराजित भएका थिए । टाइबेकरको पहिलोखेलमा सेतोगोटीबाट खेल्दा बराबरी गरेका उनले दोस्रो लेगमा बद्रीलाई हराए । राजनसँगै राष्ट्रिय च्याम्पियन नेसनल डेभलपमेन्टका मनीष हमाल, दर्पण साकोस झापाका निरज निरौला र गोल्डेनगेटका मदनकृष्ण कायस्थ पनि सेमिफाइनलमा पराजित भए ।
निरजले आइतबार सम्पन्न क्वार्टरफाइनलका दुवै लेगमा श्रमजीवी साकोस भक्तपुरका गणेशमान दुवाललाई पराजीत गरे । त्यस्तै नेशनल डेभलपमेन्ट सहकारी ललितपुरका फिडेमास्टर मनीष हमाल नेपाल सहकारी राजविराजका सिंगेश्वर दासमाथि सहज जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरे । यसअघि पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठ तथा भ्रेट्रान राष्ट्रिय च्याम्पियन रवीन्द्र शाक्यलाई नकआउट गर्न सफल भएका दास हमालसँग निरिह रहे ।
निरज तथा मनीष दुवैको क्वार्टरफाइनल यात्रा भने सहज रहेन । पहिलो लेग संकटा क्लबका पूर्व नेपाल च्याम्पियन नविन तण्डुकारसँग पराजय भोगेका निरज दोस्रो लेगमा जित हात पारेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरका दुवै खेल सकिँदा १–१ भएपछि सडेनडेथमा निरज विजयी भए । उता पहिलो लेगमा लालीगुराँस साकोसका राजेन्द्र बज्राचार्यसँग पराजय भोगका फिडेमास्टर हमाल दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै जित आत्मसात गर्न सफल भए । टाइबेकरबाट क्वार्टरफाइनल प्रवेश गरेका मनीष सोमबार हुने सेमिफाइनलमा ललितपुरका युवा खेलाडी राजन पुरीसँग तथा निरज गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थसँग भिड्नेछन् । राजनले दोस्रो चरण प्रवेश गर्ने क्रममा प्रचण्डमान मालाकारलाई हराएका थिए ।
मदनकृष्णले नोभा साकोसका कृष्ण थापालाई सडेनडेथमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे । पहिलो लेगमा कालोगोटीबाट पराजय बेहोरेका मदनले दोस्रो लेगमा सेतोगोटीबाट जित हात पार्न सफल भए । उनले क्वार्टरफाइनल प्रवेशको क्रममा राजेन्द्र श्रेष्ठलाई पनि टाइब्रेकरमा नै हराएका थिए । उनले यसअघि शूरवीर लामालाई पनि टाइबेकरमा नै हराएका थिए । टाइब्रेकर ६ खेलमा मदनले सबै जित हात पारेका छन् ।
प्रतिक्रिया