भट्टराई सरकारले ठग्यो उत्कृष्ट डाक्टरलाई

काठमाडौं : भारतमा क्यान्सरको उपचार गराइरहेका वर्षकै उत्कृष्ट डाक्टर चित्रप्रसाद शर्मा वाग्लेलाई डा. बाबुराम भट्टराई नेतृत्वको अघिल्लो सरकारले उपचारका लागि आर्थिक सहयोग गर्ने भन्दै ठगेको छ । डा. वाग्ले आठ महिनादेखि नयाँदिल्लीस्थित राजीव गान्धी मेमोरियल अस्पतालमा एपेन्डिक्स क्यान्सरको उपचार गराइरहेका छन् ।

भट्टराई सरकारले उपचारमा लाग्ने सबै खर्च सरकारले नै व्यहोर्न प्रतिबद्धता गरेको थियो । तत्कालीन मन्त्री टोपबहादुर रायमाझीले त डा. वाग्लेको उपचार खर्च व्यहोर्ने मन्त्रिपरिषद्ले निर्णय नै गरिसकेको भाषणसमेत गरेका थिए । तर, डा. वाग्लेले अहिलेसम्म कुनै सहयोग पाएका छैनन् ।
स्वास्थ्य मन्त्रालयले लामो समयसम्म दुर्गममा बसेर सेवा गरेको भन्दै यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा सम्मान डा. वाग्लेलाई दिएको थियो । उनी अर्घाखाँची जिल्ला अस्पतालका प्रमुखका रूपमा कार्यरत छन् । सरकारी प्रतिबद्धताअनुसार उपचार खर्च नपाएको भन्दै अहिले डा. वाग्ले स्वास्थ मन्त्रालय धाइरहेका छन् ।
– सदिना खत्री/प्रशिक्षार्थी

प्रतिक्रिया