स्ववियु चुनाव वैशाखमा

काठमाडौं, १६ चैत । त्रिभुवन विश्वविद्यालयले आगामी वैशाखमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने तयारी गरेको छ । विश्वविद्यालय कार्यकारी परिषद्ले स्ववियु विधानमा परिमार्जन गर्दै वैशाख अन्तिम साता चुनाव गर्ने तयारी गरेको हो ।

आगामी २३ चैतमा हुने त्रिवि सभामा विधान पास गरेर निर्वाचनको मिति तोक्ने तयारी त्रिविले गरेको छ । ‘कार्यकारी परिषद्बाट एक/दुई दिनमा विधान प्रस्ताव पास गरेर सभामा लैजान्छौ, त्यसको दुई/चार दिनमा परिषद् बैठक बसेर चुनावको मिति तोकिन्छ,’ त्रिविका रेक्टर गुणनिधि न्यौपानेले भने । दुई वर्षदेखि स्ववियुको चुनाव हुन सकेको छैन ।
पछिल्लोपटक त्रिविले विद्यार्थी संघ/संगठनसित छुट्टाछुट्टै छलफल गरेर चुनाव गर्ने तयारी गरेको हो । सबै विद्यार्थी संगठनलाई समेट्ने गरी मिश्रित प्रणालीमा चुनाव गर्ने योजना त्रिविको छ । मिश्रित प्रणालीअनुसार ५ पदाधिकारीमध्ये सभापति, उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचनको व्यवस्था गरिनेछ भने सदस्यमा ५० प्रतिशत प्रत्यक्ष र ५० प्रतिशत समानुपातिक निर्वाचन गरिनेछ । विद्यार्थी संगठनबीच निर्वाचन प्रणालीका विषयमा कुरा नमिल्दा ०६७ सालमा हुनुपर्ने चुनाव अहिलेसम्म हुन सकेको छैन ।
त्रिविले अबको चुनावमा नियमित कक्षा नहुने विद्यार्थी स्वत: स्ववियुबाट हट्ने व्यवस्था पनि गर्न थालेको छ । स्ववियुमा रहेका विद्यार्थीको क्याम्पसका अन्तिम वर्ष सकिएसँगै उनीहरूको पद पनि जानेछ । त्यस्तै, क्याम्पस टप गर्ने छात्र र छात्रालाई पनि स्ववियुको पदेन सदस्य बनाउने व्यवस्था पनि त्रिविले गर्दै छ ।
कुनै पनि क्याम्पसमा स्ववियुले दुई कार्यकालदेखि आर्थिक प्रतिवेदन बुझाएका छैनन् । ०६२ सालमा निर्वाचित ३ क्याम्पसका स्ववियुले मात्रै क्याम्पसलाई आयव्यय बुझाएको त्रिविले जनाएको छ । स्ववियु विधानअनुसार प्रत्येक वर्ष स्ववियुले आºनो आयव्ययको विवरण लेखा परीक्षण गराई क्याम्पसमा बुझाउनुपर्छ । देशभर ६० आंगिक र ३ सय हाराहारीमा सामुदायिक क्याम्पस छन् ।

प्रतिक्रिया