प्रहरी र नेकपा माओवादीबीच झडप

हेटौँडा, १५ चैत । निर्वाचन आयोगको मतदाता नामावली संकलन अभियान विथोल्न सक्रिय नेकपा माओवादीले मकवानपुरका बिभिन्न ठाउँमा अवरोध पुराएको छ । अबरोध पुराउने क्रममा केही स्थानमा झडप समेत भएका छन् ।
नेकपा माओवादीका कार्यकर्ताले हेटौँडा नगरपालिकामा मतादाता नामावली संकलनमा अवरोध पुराएको प्रहरीले जनाएको छ । वडा नम्वर ८ मा निर्वाचन कार्यालयका कर्मचारीलाई धम्क्याउँदै उपकरण खोस्न खोजे पछि प्रहरी र कार्यकर्ताबीच झडप भएको हो ।
कर्मचारीका उपकरण खोस्न खोज्ने नेकपा माओवादीका दुई कार्यकर्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मजदुर नेता कृष्णराज कोइराला र रवीन्द्र देउला छन् ।
हर्नामाडी गाविसमा पनि प्रहरी र नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा गाविस भवनका टेवुलकुर्सी फुटेका छन् भने नेकपा माओवादीका कार्यकर्ता घाईते भएका छन् ।
नेकपा माओवादीका कार्यकर्ताले हटिया, मनहरी, नामटार र हेटौंडा नगरपालिकाका केही वडा समेत अवरोध पुराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया