शीर्ष खेलाडीको विजयी शुरुआत

काठमाडौं : ललितपुर महोत्सव क्षेत्र गावहालमा बुधबारबाट प्रथम सहकारी कप राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सम्पन्न पहिलो चरणको खेलमा शीर्ष वरीयताका अधिकांश खेलाडीले जित हासिल गरे ।
ललितपुर महोत्सव, ललितपुर स्पोर्टस क्लब तथा ५६औँ राष्ट्रिय सहकारी दिवस २०६९ ललितपुर मूल आयोजक समितिको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा नेसनल डेभलपमेन्ट साकोसका फिडेमास्टर मनीष हमाल, लालीगुराँस साकोसका क्यान्डिडेटमास्टर केशव श्रेष्ठले विजयी शुरुआत गरेका छन्् । त्यस्तै गोल्डेनगेट कलेजका सुरवीर लामा, मदनकृष्ण कायस्थ तथा हिमाल लामा, लालीगुराँस साकोसका राजेन्द्र बज्राचार्य र भक्तपुर साकोसका निरञ्जन प्रजापतीले विजयी सुरुआत गरे ।
नेसनल साकोसका दीर्घराज जोशी, दर्पण साकोस झापाका निरज निरौला, साइनिङ साकोसका बद्रीलाल नेपाली, टाइम्स कलेजका विवेक थिङ, गोरखाका मणिश्वर थापा, भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठ, अरुणिमा साकोसका सजिन महर्जन र झापाका विश्वविजय घिमिरेले पनि विजयी सुरुआत गरे । काठमाडौंका श्यामसुन्दर श्रेष्ठ, सहारा बहुउद्देश्यीय सहकारी मलंगवाका रवीन्द्रबहादुर थापा, सिटी साकोसका रवीन्द्र शाक्य, टेवा साकोसका सञ्जय महर्जन तथा सप्तरीका दाजुभाइ नविन तथा सचिनकुमार चौधरी पनि आ­–आफ्नो खेलमा जीत हात पार्न सफल भए ।
फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ सप्तरीका अनरेटेड सचिनकुमार चौधरीसँग पराजित हुन पुगे । त्यस्तै पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार सञ्जय महर्जनसँग पराजित भए । लिग कम नकआउट प्रणाली अनुसार २० चैतसम्म सञ्चालन हुने प्रतियोगितामा ७ चरणसम्म स्विस लिगअनुसार प्रतिस्पर्धा गराइनेछ । (सौस)

प्रतिक्रिया