हत्या आरोपमा बाबुछोरा पक्राउ

महोत्तरी : कुटपिट गरी आफन्तको हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले रघुनाथपुर गाविसबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रघुनाथपुर–९ का तसलिम अन्सारी र उनका छोराहरू नजिम र गुलाम रहेको प्रहरीले जनाएको छ ।
आरोपिले ११ चैतमा रघुनाथपुर–९ कै ६२ वर्षीय हालिम अन्सारीलाई कुटपिट गरी हत्या गरेको मृतकका छोरा जबार अन्सारीले प्रहरीमा जाहेरी दिएका थिए । महोत्तरीका डिएसपी विजय भण्डारीले मृतक हलिम अन्सारी र पक्राउ परेका तसलिम अन्सारी दाजुभाइ रहेको तथा उनीहरूबीच ११ चैत मा नालाको पानी बगाउने विषयमा विवाद हँदा तसलिमले छोराहरूसँग मिलेर हालिमलाई कुटपिट गरेको पाइएको बताए ।
पहिलेदेखि नै बिरामी रहेका हालिम कुटपिटपछि लडेर बेहोस भएका थिए । बेहोस हलिमलाई उपचारका लागि स्वास्थ्य चौकी ल्याउँदै गर्दा मृत्यु भएको थियो ।
मृतकका छोराको जाहेरीको आधारमा तीनजनालाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । (सौस)

प्रतिक्रिया