बालाजु बाईसधारा सडकको काम रोक्न सर्वोच्चको आदेश

काठमाडौ, १३ चैत । सर्वोच्च अदालतले बालाजु बाईसधारा सडक निर्माण कार्यमा रोक लगाएको छ । सरकारद्वारा निर्माणाधीन सडकको निर्माण कार्य तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सुशीला कार्कीको एकल इजलासले बालाजु बाईपास सडकखण्डले उद्यान पर्यावरण, वातावरण, धर्म संस्कृति, प्राचीन स्मारक र पुरातत्त्वसँग सम्बन्धित संरचनामा प्रभाव पर्ने भन्दै काम रोक्न आदेश दिएको हो । ‘सरकारद्वारा निमार्णकार्य थालिएको यस सडकले स्थानको स्थिति परिवर्तन र प्राचीन तथा वातावरणीय सम्पदामा प्रतिकूल असर पर्न सक्ने देखिएकाले उक्त सडक बनाउने कार्य अगाडि नबढाउनू,’ आदेशमा भनिएको छ ।
अधिवक्ता दीपकविक्रम मिश्रले दायर गरेको रिटमा प्रारम्भिक छलफलपछि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै विपक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई २९ चैतमा छलफलका लागि बोलाइएको छ । यो अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने विषयको छलफल २९ चैतमा हुने भएको छ ।

प्रतिक्रिया