सहकारी कप यसै साता

काठमाडौं, १२ चैत । ललितपुर महोत्सव तथा ५६औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुर महोत्सव प्रथम सहकारी कप लिग कम नक–आउट राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता १५ देखि २१ चैतसम्म हुने छ । प्रतियोगिताको पुरस्कार राशि लाख ७६ हजार रुपियाँ रहेको छ । पुरस्कार राशि नेपालकै सर्वाधिक हो ।

प्रतियोगिता दुई चरणमा सम्पन्न हुनेछ । पहिलो चरण स्वीस लिगको आधारमा सात चरणमा हुनेछ । लिग चरणका उत्कृष्ठ ३२ जना खेलाडीहरू नक–आउट चरणमा प्रवेश गर्नेछन् । उपाधिको टुंगो नकआउट चरणबाट लाग्नेछ ।
प्रतियोगिताको विजेताले यामाहा वाइबिआर मोटरसाइकल, उप–विजेताले ५० हजार रुपियाँ र तेस्रो हुनेले २५ हजार रुपियाँ पाउनेछन् । चौथोले १५ हजार तथा पाँचौँदेखि आठौं सम्मले ६ हजार रुपियाँ पाउनेछन् । नवौँदेखि सोह्रौँ सम्मले चार हजार रुपियाँ पाउनेछन् । सत्रौँदेखि बत्तीसौँ सम्मलाई जनही दुई हजार पाँच सय रुपियाँ प्रदान गरिनेछ ।
विभिन्न विधामा गरी ४० जना खेलाडीहरूले पुरस्कार पाउनेछन् । अनरेटेडमा पहिलोले सात हजार तथा दोस्रोले पाँच हजार पाउनेछन् । तेस्रो हुनेले तीन हजार रुपियाँ पाउनेछन् । त्यसैगरी उत्कृष्ट भेट्रान, यु १५, रेटिङ समूहमा १८५० मुनि र १७५० मुनिले दुई हजार पाँच सय रुपियाँ पाउनेछन् । उत्कृष्ट स्थानीयलाई हजार रुपिया प्रदान गरिनेछ ।
ललितपुर गा:बहालस्थित पूर्णचण्डी मन्दिर सत्तल घरमा खेल हुने प्रतियोगिताको लागत ९ लाख १५ हजार रुपियाँ रहेको छ । सो रकम विभिन्न सहकारी, संघ/संस्थाबाट आर्थिक सहयोग/विज्ञापनबाट जुटाइनेछ । प्रतियोगितामा देशभरीबाट १ सय २५ जना खेलाडीले सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया