जेसिटी सेमिफाइनलमा

काठमाडौं : जुनियर क्रिकेट टिम (जेसिटी) सदाबहार खुला टी–२० क्रिकेट प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । टुँडिखेलमा भएको तेस्रो क्वार्टरफाइनलमा जेसिटीले आयोजक सदाबहार युथ क्लब ‘बी’ लाई ३ रनले हरायो । पहिले ब्याटिङ गरेको जेसिटीले निर्धारित २० ओभरमा १०५ रन जोड्यो । विजेताका अजय ठाकुरले १९ रन बटुले ।
जवाफमा सदाबहारले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १०२ रन बनायो । सदाबहारका जगत चौधरीले ३२ रन बनाए भने लक्ष्मण चौधरीले ३ विकेट हात पारे । १८ रन जोड्नुका साथै १ विकेट लिएका जेसिटीका अविराज रोय ‘म्यान अफ द म्याच’ चुनिए । सेमिफाइनलमा जेसिटीको भेट ट्रिटनसँग हुनेछ ।
अन्तिम क्वार्टरफाइनलमा सदाबहार ‘ए’ ले गजुरी युथ क्लबलाई २६ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्‍यो । पहिला ब्याटिङ गरेको सदाबहारले १७.५ ओभरमा सबै विकेट गुमाउँदै १२० रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा गजुरी १८ ओभरमा पूरै विकेट नोक्सानीमा ९४ रनमा खुम्चियो । सेमिफाइनलमा सदाबहारले युथ फर नेसन (वाइएफएन) सँग खेल्नेछ । (सौस)

प्रतिक्रिया