भगवान्को राजीनामा अस्वीकृत, काममा फर्किने

Bhagwan Koiralaकाठमाडौं, १० चैत । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. भगवान् कोइरालाको राजीनामा अस्वीकृत भएको छ । त्रिभुवन विश्वविद्यालयमा शुक्रबार बसेको कार्यकारी परिषद्को बैठकले डा. कोइरालाको राजीनामा अस्वीकृत गरेको हो ।

त्रिविले माग पूरा गर्ने सहमतिसहित राजीनामा अस्वीकृत गरेपछि डा. कोइराला आइतबारदेखि पुन: अस्पतालको निर्देशकका रूपमा काममा फर्कने भएका छन् । उनको मागबमोजिम त्रिविले अस्पताललाई थप स्वायत्तता दिने र निर्देशकको आर्थिक अधिकारको दायरा बढाइदिने भएको छ । डा. कोइरालाले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
राजीनामालगत्तै आन्दोलनमा उत्रेका अस्पतालका केही चिकित्सक केही दिनअघि डिन कार्यालयमा राजीनामा अस्वीकृत गर्नुपर्ने माग राख्दै डेलिगेसन गएका थिए । साथै, कोइरालालाई काममा फर्काउन सबैतिरबाट दबाब आएपछि त्रिविले उनको माग पूरा गरेको स्रोतको भनाइ छ ।

अस्पतालकै केही कर्मचारी र वरिष्ठ चिकित्सकहरूले नै असहयोग गरेको, स्वतन्त्रतापूर्वक काम गर्न नदिइएको, त्रिविले असहयोग गरेको र सरकारले प्रतिबद्धता जनाए अनुसारको रकम शिक्षण अस्पताललाई नदिएको भन्दै डा. कोइरालाले २४ फागुनमा अस्पतालको निर्देशक पदबाट राजीनामा दिएका थिए । त्रिवि कार्यकारी परिषद्ले डा. कोइरालालाई गत मंसिर ३ गते नियुक्त गरेको थियो । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा. प्रकाश सायमीको सिफारिसमा कोइराला कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

प्रतिक्रिया