फ्रेन्ड्स र मच्छिन्द्रबीच बराबरी

league-footballकाठमाडौं, ९ चैत । राजधानीको दशरथ रंगशालामा जारी रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले लगातार दोस्रो बराबरी गरेको छ । बिहीबार भएको खेलमा फ्रेन्ड्सले प्रतिद्वन्द्वी मच्छिन्द्र क्लबसँग गोलरहित बराबरी खेल्यो । यसअघि सुपर एटकै तेस्रो खेलमा फ्रेन्ड्सले मनाङ– मस्र्याङ्दी क्लबसँग २–२ गोलको बराबरी गरेको थियो ।

लगातार आक्रमण गरेको फ्रेन्ड्स क्लब गोल गर्न भने असमर्थ भयो । पहिलो हाफमा पाँच मिनेटको अन्तरमा फ्रेन्ड्सका सबैभन्दा प्रभावकारी खेलाडी ओउमारले पाएका दुई राम्रा अवसर गुमाए पछि प्रेmन्ड्स बराबरीमा चित्त बुझाउन बाध्य भएको हो । पहिलो हाफमा नै जगजित श्रेष्ठले बनाएको मुभमा प्रकाश बुढाथोकीले बल भेट्न नसके पछि प्रेmन्ड्सले अर्को राम्रो अवसर गुमाएको थियो । ४२औँ मिनेटमा मच्छिन्द्र पनि एकपटक गोलको नजिक पुगेको थियो । कर्ण लिम्बूको राम्रो प्रहारलाई फ्रेन्ड्सका गोल रक्षक बसीरले बचाए । ७५औँ मिनेटमा डुडोजको क्रस प्रकाश बुढाथोकीले भेट्न नसक्नु फ्रेन्ड्सका लागि दु:खद रह्यो । सुपर एटमा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब शुक्रबार खेल हुनेछ । त्यसै खेलपछि सबैले चार खेल पूरा गर्नेछन् ।
प्रतियोगितामा मच्छिन्द्र क्लब ३२ अंकसहित चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको थ्री–स्टारको ३९, दोस्रो स्थानमा रहेको एनआरटीको ३५ र तेस्रो स्थानमा रहेको मनाङ–मस्र्याङ्दीको ३४ अंक छ । यसैगरी फ्रेन्ड्सको ३०, आरसिटीको २८, तथा पुलिस र आर्मीको समान २९/२९ अंक छ ।
बिहीबारको खेल पछि मच्छिन्द्रका प्रशिक्षक राजुकाजी शाक्यले कर्ण लिम्बू र विशाल राईबीचको समन्वयको अभाव रहेको बताए । फ्रेन्ड्सका प्रशिक्षक मेघराज केसीले थ्री–स्टार बाहेक अन्य सबै टोली दोस्रो स्थानका लागि खेलेको बताए । शाक्यले फ्रेन्ड्सका प्रमुख खेलाडी ओउमार र डुडोजलाई रोक्ने योजना सफल भए पनि कर्ण र विशालबीच समन्वयको अभावका कारण जित हात पार्न नसकेको बताए । नियमित फरवार्ड दीपक राई प्रतिबन्धका कारण उपस्थित थिएनन् ।

प्रतिक्रिया