खेलकुद मन्त्री श्रेष्ठद्वारा पदबहाली

Ramkumar-Shrstha-Minister-Sकाठमाडौं, ८ चैत । नवनियुक्त युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले बुधबार पदबहाली गरेका छन् । कमलपोखरीस्थित मन्त्रालयमा उनले पदबहाली गरेका हुन् । उनले उक्त मन्त्रालयका साथै पुन: निर्माण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार पनि सम्हालिरहेका छन् । मन्त्री श्रेष्ठ पूर्वस्थानीय विकास सचिव हुन् । पदबहालीपश्चात मन्त्री श्रेष्ठले युवा शक्तिलाई देश विकासको अभियानमा बढाउनुपर्ने बताउँदै अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई चिनाउने खेलकुद सशक्त माध्यम भएको र यसमा रहेका कमिकमजोरीलाई निराकरण गर्नुपर्नेमा जोड दिए ।

‘विश्वका अन्य मुलुकले खेलकुदमा राम्रो गरिरहेका छन् । त्यसका लागि पर्याप्त
बजेट र खेलाडीलाई उत्कृष्ट तालिम दिन जरुरी छ ।’ उनले भने– ‘म यसका लागि सक्दो प्रयास गर्छु ।’ उनले ओलम्पिक कमिटीको विवादलाई मिलाउन अझ गहन रूपले अगाडि बढ्नु पर्ने आवश्यकता समेत औँल्याए । उनले खेलाडीका समस्या थ्रुप्रै भएको बताउँदै खेलाडी र सम्बन्धित संस्थालाई कसरी बनाउन सकिन्छ ठोस् योजना ल्याउनु पर्ने विचार व्यक्त गरे । ‘मेरो तर्फबाट तपार्इंहरूको अधिकार क्षेत्रमा अतिक्रमण हुन्न’ पदबहाली पश्चात मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीको भेलालाई सम्बोधन गर्ने क्रममा उनले भने– ‘उत्कृष्ट नतिजा आउने गरी काम गर्नुस् । म सहयोग गर्न तयार छु ।’
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त भनिएको ओलम्पिक कमिटीको कार्यक्रममा सहभागी नहुन परिषद्ले निर्देशन दिए पनि केही संघले उल्लघन गर्दै आएको अवगत गराए । उपाध्यक्ष तिम्सिनाले मन्त्री श्रेष्ठको कार्यकाल स्वर्णिम बनाउन परिषद् हातेमालो गरी अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले ओलम्पिक कमिटीको विवादले काम गर्न असजिलो भएको बताउँदै अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणगर्न जग्गा खोजी भइरहेको जानकारी दिए । पदबहाली अघि परिषद्का पदाधिकारी र कर्मचारी, मन्त्रालयका कर्मचारीहरूले मन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया