जिफो एन टिम क्वार्टरफाइनलमा

काठमाडौं : जिफो एन टिम सदाबहार खुला टी–२० क्रिकेट प्रतियोगितामा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सदाबहार युथ क्लबद्वारा आयोजित प्रतियोगितामा जिफोले इलेभेन बुलेटलाई ५१ रनले हरायो । टस जितेर पहिला ब्याटिङ गरेको जिफोले पूरै ओभर खेल्दै ६ विकेटको क्षतिमा १२७ रनको योगफल खडा गरेको थियो । विजेताका विकास गैरेले ४२ रन जोडे भने मनोज श्रेष्ठले ३ विकेट हात पारे । जवाफमा बुलेट १६.२ ओभरमा सबै विकेट गुमाउँदै ७६ रनमा समेटिएको थियो । आयोजक सदाबहार ‘ए’ ले एचएनसिबाट वाकओभर पाउँदै क्वार्टरफाइनलमा पुग्न सफल रह्यो । क्वार्टरफाइनलमा सदाबहार ‘ए’ को भेट गजुरीसँग हुनेछ । अन्य क्वार्टरफाइनल सदाबहार ‘बी’ र जेसिटी, ट्रिटन र गुणराज तथा वाइएफ र जिफोबीच हुनेछ । (सौस)

प्रतिक्रिया