परीक्षा दिदादिदै दुई छात्राले बच्चा जन्माए

रोल्पा : रोल्पाका छुट्टाछुट्टै परीक्षा केन्द्रमा दुई छात्राले मंगलबार बच्चा जन्माएका छन् । ती छात्राले सामाजिक विषयको परीक्षा दिँदै गर्दा परीक्षा हलमै बच्चा जन्माएका हुन् ।
जिल्ला सदरमुकाम लिवाङदेखि २६ कोष दक्षिण–पश्चिमी भेगमा रहेको भीमसेन माध्यमिक विद्यालय सैवाङ परीक्षा केन्द्रमा परीक्षा दिँदै गर्दा महेन्द्र उच्च मावि होलेरीकी अम्मु रोका र सुलीचौर परीक्षा केन्द्रमा परीक्षा दिँदै गरेकी बडाचौर माविकी जुनु विष्टले बच्चा जन्माएका हुन् ।
परीक्षा सुरु हुनेबित्तिकै बच्चा जन्मेपछि प्रसव पीडाका कारण रोकाले परीक्षा दिन सकिनन् भने विष्टले केही समय आरामपछि परीक्षा दिएको सुलीचौर परीक्षा केन्द्रका केन्द्राध्यक्ष डिबी घर्तीले जनाएका छन् । सुत्केरी भएका रोकाले छोरी र विष्टले छोराको जन्म दिएका छन् । रोका र विष्टका आमा–बच्चा दुवैको अवस्था सामान्य छ ।
यसैबीच, परीक्षा दिँदै गर्दा परीक्षाको मर्यादाविपरीत उत्तरपुस्तिका च्यात्ने खुङ्ग्री परीक्षा केन्द्र घोडागाउँका कमल केसीलाई निष्काशन गरिएको छ । केसीलाई एक वर्षसम्म परीक्षा दिन नपाउने गरी निष्काशन गरिएको परीक्षा केन्द्रले जनाएको छ ।

प्रतिक्रिया