करातेमा एपिएफ टिम च्याम्पियन

kaarte-photoकाठमाडौं, ४ चैत । एपिएफले ३९औँ राष्ट्रिय लुम्बिनी कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियनको उपाधि जितेको छ । एपिएफले ७ स्वर्ण र ७ रजत पदक जित्यो । दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६ स्वर्ण, ३ रजत र ४ कांस्य तथा तेस्रो स्थानमा रहेको नेपाली सेनाले २ स्वर्ण, ३ रजत र ४ कांस्य जित्न सफल भए । पहिलोपटक सहभागिता जनाएको विश्वविद्यालयको टिमले २ स्वर्ण, १ रजत र ६ कांस्य ल्याउँदै चौथो भयो । प्रतियोगितामा एपिएफकी गंगा अधिकारी महिलातर्फको उत्कृष्ट खेलाडी भइन भने पुरुषतर्फ गण्डकीका गणेश पाइजा उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट खेलाडीको पुरस्कार गिफ्टहेम्पर स्पोर्टस् लिकका प्रोप्राइटर पर्शुराम बास्तोलाले सौजन्य गरेका थिए ।

महिला ५० केजीमा राष्ट्रिय टिमबाट खेलेकी एपिएफकी अनु अधिकारीले राष्ट्रिय टिममै रहेकी एपिएफकी रोजी नगरकोटीलाई ७–२ ले पराजित गरिन् । महिला ५५ केजीमा नेपाल प्रहरीकी मल्लिका थापा च्याम्पियन बनिन् । उनले फाइनलमा दसौं सागकी रजत विजेता विश्वविद्यालयकी अमृता शाक्यलाई हाइस्कोरका अधारमा ८ अंकको फरकले अग्रता लिँदै ९–१ ले हराइन् ।
महिलाकै ६१ केजीमा राष्ट्रिय टिमबाट खेलेकी एपिएफकी सपना लामाले पुलिसकी रोशनी खड्कालाई ७–२ ले हराउँदै स्वर्ण जितिन् । महिला ६५ केजी मुनिको फाइनलमा नेपाली सेनाकी रिता कार्कीले राष्ट्रिय टिमबाट खेलेकी एपिएफकी कल्पना बस्नेतलाई ६–२ ले पराजित गरिन् । महिला ६८ केजीमाथि राष्ट्रिय टिमबाट खेलेकी एपिएफकी गंगा अधिकारीले स्वर्ण जितिन् । गंगासँग ५–० ले पछि परे पछि बाग्मतीकी निर्मला राईले खेल परित्याग गरेकी थिइन् । महिला टिम कुमुतेमा विश्वविद्यालय च्याम्पियन बन्न सफल भयो ।
त्यसैगरी पुरुष ६० केजीमा राष्ट्रिय टिमबाट खेलेका नेपाल प्रहरीका विनोद महर्जनले उपाधि भिडन्तमा एपिएफका मोहन कार्कीमाथि हाइस्कोरका आधारमा १३–३ को सहज जित निकाले । ६७ केजीमा पनि राष्ट्रिय टिमबाट खेलेका एपिएफका मुकुन्द महर्जनले स्वर्ण जिते । उनले नेपाली सेनाका गोविन्द बिसंखेलाई ५–२ ले पाखा लगाए । ७५ केजीको फाइनलमा नेपाल प्रहरीका दिवस श्रेष्ठले बाजी मारे । उनले सेनाका लेखनाथ मैनालीलाई हाइस्कोरका आधारमा ९–१ ले परिणम आफ्नो पक्षमा पारे । ८४ केजीमुनिको फाइनलमा राष्ट्रिय टिमबाट खेलेका एपिएफका भीमबहादुर तामाङले हाइस्कोरकै आधारमा गण्डकीका दिवस थापालाई १४–६ ले पाखा लगाए । ८४ केजीमाथि नेपाल आर्मीका सीताराम विकले स्वर्ण जिते । उनले फाइनलमा सगरमाथका श्रजेश श्रेष्ठलाई ९–३ ले हराए ।

प्रतिक्रिया