पाथीभरा म्याराथुन हुने

काठमाडौं : ताप्लेजुङमा पुरुष तथा महिला म्याराथुन हिमालयन गाइड्स पाथीभरा म्याराथुन–२०६९ आयोजना हुने भएको छ । पाथीभरादेवी मन्दिर संरक्षण तथा सवद्र्धन समितिको आयोजना तथा हिमालयन
गाइड्सको प्रायोजनमा २९ फागुनमा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता ताप्लेजुङको पुगलिङबाट सुरु भई प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पुगेर समापन गरिनेछ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन दिएको जानकारीअनुसार प्रतियोगितामा पुरुष म्याराथुन १८ सय मिटर उचाइस्थित पुगलिङबाट सुरु भई ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरमा समापन हुनेछ । महिलाको हाफ म्याराथुन १८ सय मिटर उचाइबाट सुरु भई २८ सय मिटरसम्म पुगेर पुन: पुगलिङमा आई समापन हुने आयोजक समितिका निर्देशक ईश्वरी पौडेलले बताए । प्रतियोगितामा स्वदेशी र विदेशी गरी चार सय धावक सहभागी हुने उनले जानकारी दिए ।
अहिलेसम्म दश जना विदेशीले सहभागिता जनाउने पक्का भइसकेको साथै नेपाल आर्मी, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका साथै व्यक्तिगत तथा संस्थागत रूपमा खेलाडीको सहभागिता रहने पौडेलले बताए । प्रतियोगितामा सहभागिता जनाउने खेलाडीको बिमा तथा स्वास्थ्योपचारको समेत व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगितामा पुरुष म्याराथुनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: नगद ४० हजार, ३० हजार र २० हजार रुपियाँ तथा महिला हाफ म्याराथुनतर्फ २० हजार, १५ हजार र १० हजार रुपियाँ नगद पुरस्कारसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने सम्मेलनमा जानकारी गराइएको छ । २०६५ सालदेखि सुरु भएको सो प्रतियोगिता गएको वर्ष भने विविध कारणले आयोजना हुन सकेको थिएन । (सौस)

प्रतिक्रिया