२२ वर्षदेखि एड्स साँचेर बाँचिरहेकी छु

Buna-Lama-Aidsम बुना लामा । कति वर्षकी भएँ, थाहा छैन । जन्मेकोचाहिँ २०१९ सालमा हो । ललितपुरको लगनटोलस्थित थटीटोलमा हुर्किएँ । आमा रक्सीको अम्मली थिइन् । रक्सीकै कारण बितिन् । त्यसको केही दिनमै बुबाले अर्की आमा ल्याए । छोरी भएकीले होला, बुबाले आमा हुँदै पनि माया गर्दैनथे । अर्की आमा ल्याएपछि त झन् के गर्थे ।

म १८ वर्षकी भएपछि विवाहको कुरा लिएर घरमा कुटुम्ब आउन थाले । तर, बुबाले यत्तिकै टारिदिन्थे । ‘तँ बूढी कन्या नै बस्, तँलाई बिहे गर्ने खर्च छैन मसँग’ यसै भन्थे । त्यही वर्ष बुबाले मलाई धनगढी लगे । किन लगे मलाई थाहा थिएन । जान्ने उत्सुकता पनि जागेन । त्यहीँकै एउटा गाउँमा गुम्बा रहेछ । गुम्बाको नाम केपृष्ठ १ को बाँकी
हो, त्यो पनि याद भएन । मलाई भिक्षुणी बनाउन त्यहाँ लगिएको रहेछ ।
घरमा बुबा र सौतेनी आमाको सधैँको टोकसो सहनुभन्दा भिक्षुणी बन्नु नै ठीक होला जस्तो लाग्यो मलाई पनि । म अब भिक्षुणी भएँ । मुडुलो टाउको, रातो पहिरनसँगै बदलिएको मेरो दिनचर्यामा बिस्तारै घुलमिल हुँदै गएँ । गुम्बामा दाइ नाता पर्ने थिए । उनी गुम्बाका मुख्य गुरु थिए । श्रीमतीसँग उनी गुम्बामै बस्थे । भाउजू भनेर सम्बोधन गर्थेँ म उनकी श्रीमतीलाई । आमनेसामनेको कोठामा बस्थ्यौँ हामी ।
रातको नौ बजेको हुँदो हो– ‘बुना भाउजू माइत गएकी छिन्, आउ आज मसँगै सुतौँ’ गुरुले म सुत्ने कोठामा आएर बोलाए । म छक्क परेँ । म पंखा बुन्दै थिएँ । केही पनि बोलिनँ । ‘मसँग सुत्ने भए म तिमीलाई पढाउँछु, नत्र म तिमीलाई यहाँबाट निकालिदिन्छु’ उनले अब धम्काउन लागे । म फेरि पनि केही बोलिनँ । तर, उनी अगाडि बढे । डराउँदै मैले भने, ‘म पर सरेकी छु, नाइँ आज हुन्न ।’ उनी रोकिए र फर्किए । बल्ल मैले लामो सास फेरँे ।
तर, गुम्बाभित्र उनको हर्कत रोकिएन । एकान्तमा भेट्नै नहुने, आक्रमणमा उत्रिहाल्ने । म जसरी पनि उम्कन चाहन्थेँ । मैले गुम्बाबाट भाग्ने योजना बनाएँ । निक्कैपटक प्रयास गरेँ । कसो–कसो उसले थाहा पाइहाल्ने । त्यसपछिका दिनमा त उनका हर्कतले सीमा नै नाघ्न थाल्यो ।
तिहारताका हो– गुम्बाभित्र तिहारको उल्लासले नछोए पनि प्रभाव त परिहाल्थ्यो । सबै आ–आफ्नै धुनमा मस्त थिए । त्यही मौकामा भाग्ने योजना मैले पहिलेबाटै बनाएको थिएँ । योजनाअनुसार नै गेटका पालेलाई झुक्याएँ र गुम्बाबाट भाग्न सफल भएँ ।
धनगढीबाट काठमाडौं आउन निक्कै मुस्किल थियो, मेरा लागि । धनगढीबाट बस चढे काठमाडौं पुगिन्छ भन्नेसम्म थाहा छ । तर बस कहाँ पाइन्छ भन्नेसम्म थाहा छैन । तैपनि सोध्दै बसपार्क पुगेँ । त्यहीँबाट काठमाडौं आएँ । काठमाडौं त पुगेँ । तर, मलाई घर जान मन लागेन । किनकि फेरि पनि सौतेनी आमा र बुबाको किचलो सहने क्षमता ममा थिएन । म धोबीघाटस्थित आन्टीको घर पुगेँ । मेरो भोगाइबारे आन्टी जानकार थिइन् । उनैले मलाई सामान्य होटेल खोलिदिइन् । मैले होटल चलाउन थालेँ ।
अनेक चाहना र आसयका ग्राहकको भिड लाग्थ्यो होटेलमा । भिडमा एकजना अलिक फरक प्रकृतिको देखिन्थ्यो, एक ग्राहक । उसको नाम मैले बिर्सिएँ । पेसाचाहिँ ड्राइभर हो । कुरै कुरामा उनले एक दिन मलाई दिल्ली लैजाने प्रस्ताव गर्‍यो । सुरुमा मैले पत्याइनँ । ‘दिल्लीमा मैले चिनेको मन्छे छ । उसको ठूलो होटेल छ । त्यसैमा काम गर्ने हो, हिँड जाऊँ,’ अनेक सपना गुथ्दै उसले मलाई सधैँ फकाइरहन्थ्यो ।
टाढै बसे पनि बुबाको टोकसो मैले सधैँजसो सहनुपथ्र्यो । बुबा सधैँ होटेलमा आउनुहुन्थ्यो । तथानाम गाली गर्नुहुथ्यो । बुबाको व्यवहारबाट म दिक्क भइसकेकी थिएँ । सोच्थेँ, मैले कदापि मुक्ति नपाउने भएँ । यता, मलाई ड्राइभरले देखाएको सपनाले प्रभावित पार्न थाल्यो । ऊ सधैँ होटलमा आउँथ्यो । अनेक कुरा गथ्र्यो । उसका प्रत्येक कुरा प्रिय लाग्न थाल्यो । हुँदाहुँदा उसको गफमा भुलेर मैले सपनाको रंगीन महल बनाइसकेछु ।
एक दिन म होटलमै थिएँ । उसले ‘जाउँ’ भन्यो । म पनि अब कुर्ने पक्षमा थिइनँ । म तत्काल राजी भएँ । बस, रेल, फेरि बस हुँदै पाँच दिनको यात्रापछि हामी एक महलमा पुग्यौँ । कहाँ आइपुगियो मलाई केही थाहा थिएन । अनौठा–अनौठा मानिस बसेका भव्य महलमा पुगियो । मान्छे आउने जाने क्रम जारी थियो । त्यही क्रममा एक अधबैँसे मोटी आइमाई सामुन्ने आई । शिरदेखि पाउसम्म हेरी । मसँगै थियो, मेरो ड्राइभर । आँखाले इसारा गर्दै ड्राइभरलाई बोलाई । ड्राइभर उतै गयो । हेर्दाहेर्दै ड्राइभर अलप भयो । म केही डराएँ ।
केही बेरको प्रतीक्षापछि ड्राइभर सामुन्ने आयो । भन्यो, ‘हामी अब पुरानो गाडी नचढ्ने, म नयाँ गाडी किन्न गएँ, तिमी यहीँ बस है ।’ मैले ‘हुन्छ’ भनेँ र उसैको प्रतीक्षामा बसेँ । एक, दुई हुँदै पाँच–छ घन्टा बित्यो । उसको पत्तो छैन । म कुरिरहेकी छु । केही बेरपछि पहिलेकै मोटी महिला सामुन्ने आई । ‘तिमी अब हाम्रो अमानत भयौ । तिमीलाई बेचिसक्यो, तिम्रो ड्राइभरले । एक दुई दिन रेस्ट गर । अनि काम गर्नुपर्छ ।’ अलिअलि नेपाली भाषा मिसाउँदै उसले हिन्दीमा भनी ।
त्यहाँको अप्राकृतिक झिलिमिलीले मेरो आँखा अघि नै तिल्मिलाइसकेका थिए । त्यो क्रम अझ बढ्यो । आकाश खसेको हो या धर्ती घुमेको मैले ठम्याउनै सकिनँ । म थचक्क भुँइमा बसेँ । बोल्नै सकिनँ । रिगँटा लागेझैँ भयो । तैपनि आफूलाई सम्हालेँ । मेरा कोही थिएनन् त्यहाँ । म ती मोटी महिलाको पछि लाग्नुको विकल्प थिएन । उनकै पछिपछि लागेँ कोठासम्म ।
बम्बैको हिँजडा गल्ली रहेछ म बेचिएको ठाउँ । कतिले त्यसलाई खुन्चुवा गल्ली पनि भन्दा रहेछन् । मैले निक्कै महिनापछि पो थाहा पाएँ, कोठीकै सहकर्मीबाट । १८ महिनासम्म मैले कोठीमा बिताएँ । थरीथरीका ग्राहक आउँथे । उनीहरूको प्यास मेटाउनु मेरो ड्युटी थियो । दैनिक ६ देखि १० जनासम्मले भोग्थे मलाई ।
बेलाबेलामा बिरामी भइरहन्थेँ । तर, छुट्टी हुँदैनथ्यो । बेलुका–बेलुका हनहनी ज्वरो आउँथ्यो । खाना पटक्कै मन लाग्दैनथ्यो । पखला नियमित लाग्थ्यो । मालिक्नीले अस्पतालमा पनि लगिरहन्थिन् । कहिले कोठीमै डाक्टर आउँथे । मलाई के भएको हो, कसैले भन्दैनथ्यो । म झन्झन् कमजोर हुँदै थिएँ ।
बिस्तारै म थला नै परेँ । काम गर्नै नसक्ने गरी । मर्छु जस्तो लाग्न थाल्यो । घरका आफन्त सम्झन थालेँ । ‘अब तिमी नेपाल जाऊ,’ मालिक्नीले ओछ्यानमै आएर भनी । मलाई नि नेपाल फर्कन मन थियो । मैले ‘हुन्छ’ भनेँ । बेला–बेलामा म बेहोस हुन्थेँ । मसँग एक अपरिचित थिए । उनैको साथमा मलाई बसमा चढाइयो । उनैले वीरगन्ज ल्याएर मलाई छाडे । मलाई त्यतिसम्म थाहा छ ।
होस खुल्दा पाटन अस्पतालको बेडमा आफूलाई पाएँ । साथमा थिइन् मेरी बहिनी । म निक्कै कमजोर थिएँ । के भएको हो, बताइएको थिएन । १३ दिन म अस्पतालकै बेडमा सुतेँ । पछि औषधिको पोकोसहित डिस्चार्ज गरियो । म बहिनीसँगै घर गएँ । पछि उनीबाट पो थाहा पाएँ, मलाई त एचआइभी एड्स भएको रहेछ ।
यो २२ वर्षअघिको कुरा हो । एड्सका जीवाणु शरीरमा लिएर आजसम्म बाँचिरहेकी छु । यस क्रममा मैले धेरै सामाजिक अवरोध झेलेँ । धेरै ठाउँ हिंसाको सिकार भएँ । कतिले ‘भिरिंगी’ भनेर नाम राखे । सामाजिक बहिष्कार गरे । तर, मैले हरेस खाइनँ । संघर्षसँगै म अघि बढ्दै गएँ । म अहिले परिवारका सदस्यहरूसँग छैन । चितवनमा एउटा सानो आश्रम छ । म त्यहीँ बस्छु । त्यहाँ मजस्तै अरू पनि पीडित छन् । असहाय केटाकेटी छन् । नियमित औषधि सेवन गर्छु । अहिलेसम्म शरीरमा ठूलो समस्या देखिएको छैन । मलाई लाग्छ, म अझै पनि १० वर्ष मज्जाले बाँच्न सक्छु ।
प्रस्तुति : टेकराज थामी

प्रतिक्रिया