माल्दिभ्सका पूर्वराष्ट्रपति नासिद पक्राउ

Nasidमाले : माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिद पक्राउ परेका छन् । अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले मंगलबार उनलाई आफ्नै निवासबाट पक्राउ गरेको हो । उनको कार्यकालमा दुई न्यायाधीशलाई पक्राउ गरी कारावास सजाय दिएको विषयमा आवश्यक छानबिनका लागि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । राजनीतिक दुराशयबाट प्रेरित भई न्यायाधीश पक्राउ गर्ने काम उनको कार्यकालमा भएको आरोप लगाइएको छ । यसअघिसमेत अदालतले दुईपटक पक्राउ पुर्जी जारी गरिसकेको थियो । तर, राजधानी मालेस्थित इन्डियन हाई कमिसनमा ११ दिन आश्रय लिएर नासिदले आफूलाई पक्राउ पर्नबाट जोगाएका थिए । इन्डियन हाई कमिसनबाट निस्किएको दुई साता नबित्दै उनी पक्राउ परेका हुन् ।
माल्दिभ्सका राष्ट्रपति मोहम्मद वाहिदका प्रेस सचिवले नासिद पक्राउ परेको पुस्टि गरेका छन् । ‘नासिदलाई पक्राउ गरिएको छ । बुधबार बेलुका चार बजे अदालतमा पेस गरिनुअघि उनी प्रहरी हिरासतमा रहनेछन्,’ प्रेस सचिव मसुद इमादले भने । अदालतले नासिदलाई पक्राउ गरी अदालतसमक्ष पेस गराउन आदेश जारी गरेपछि उनलाई पक्राउ गरिएको जानकारी इमादले दिएका छन् । नासिद पक्राउ परेको सार्वजनिक भएपछि उनको आवासछेउ उनका समर्थक र प्रहरीबीच झडप भएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
नासिद पक्राउबाट भारतलाई समेत धक्का पुगेको विश्लेषण गरिएको छ । भारतीय कूटनीतिक नियोगमा नासिदले आश्रय लिएपछि माल्दिभ्सको राजनीतिक संकट अझ गहिरिएको विश्लेषण भइरहेका बेला भारतले माल्दिभ्समा राजनीतिक सहमति कायम गर्न दूत पठाएको थियो । भारतीय दूतसमक्ष माल्दिभ्सका अधिकारीहरूले नासिदलाई राष्ट्रपति निर्वाचनमा स्वतन्त्र ढंगले प्रचारप्रसार गर्न दिने आश्वासन दिएका थिए । त्यसपछि नासिद भारतीय कूटनीतिक नियोग छोडी आफ्नै निवास फर्किएका थिए । तर, माल्दिभ्स सरकारले भने नासिदको रिहाइ अथवा पक्राउबारे भारतसँग कुनै प्रकारको सहमति नबनेको प्रस्ट पारेको छ । (एजेन्सी)

प्रतिक्रिया