कर्मचारीलाई सघाउन आग्रह

काठमाडौं : नेपाल सरकारका सचिवहरूको मंगलबारको बैठकले राष्ट्रसेवक कर्मचारीलाई कानुनबमोजिम काम गर्नका लागि सघाउ पुर्‍याउन सबै राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध सरोकार भएकाहरूसमक्ष आग्रह गरेको छ ।
स्थानीय निकायमा जिम्मेवारी र जवाफदेहितासहितको सञ्चालन पद्धति निर्माण गरी भ्रष्टाचार, अनियमितता र कुनै पनि प्रकारको गैरपारदर्शी क्रियाकलाप हुन नदिन र कहीँकतैबाट त्यस्तो हुन गएमा कानुनबमोजिम त्यसको छानबिन गरी दोषीलाई दण्डित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ ।
बैठकपछि जारी विज्ञप्तिमा ‘स्थानीय निकायको निर्वाचन लामो समयसम्म हुन नसक्दा उत्पन्न रिक्ततालाई सक्दो व्यवस्थापन गरी कामको अत्यन्त चाप र तनावबीच पनि आफ्नो जिम्मेवारी निर्वाहमा जुटेका राष्ट्रसेवक कर्मचारीमाथि कतैबाट कुनै पनि प्रकारका अभद्र, अमर्यादित र आपत्तिजनक व्यवहारले उनीहरूलाई आफ्नो जिम्मेवारी निर्वाह सहज र उपयुक्त वातावरण सिर्जना नगर्ने’भनिएको छ ।
केही दिनयता धनुषा, महोत्तरी, सप्तरी, बाजुरालगायत जिल्लामा सम्बन्धित जिल्ला परिषद्को बैठक सम्पन्न गर्नेलगायत आफ्नो कार्यसम्पादन र कर्तव्यपालनका सिलसिलामा जिम्मेवारी निर्वाह गर्दै गरेका राष्ट्रसेवकमाथि अनेक प्रकारका दुव्र्यवहार भई परिषद् बैठक नै स्थगन हुने तथा योजना र कार्यक्रम सञ्चालन कार्यमा अवरोध सिर्जना हुनेलगायत सबै घटना दु:खद भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महेन्द्रकुमार थापाबाट जारी प्रेसविज्ञप्तिमा जनाइएको छ ।(सौस)

प्रतिक्रिया