नेपालको कमजोर प्रदर्शन

दशरथ रंगशालामा खचाखच भरिएका करीव २० हजार घरेलु दर्शकहरुलाई निराश पार्दै नेपालले एएफसी च्यालेञ्ज कपको महत्वपुर्ण खेल २-० ले बंगलादेशलाई सुम्पेको छ । आजको हारसंगै एएफसी च्यालेञ्ज कपमा छनौट हुने आशा पनि कमजोर बनेको छ ।

अघिल्लो खेलमा बरियताविहीन मर्दन मारियाना आइल्याण्डलाई ठुलो गोल अन्तरले हराएपछि हौसिएका घरेलु दर्शकले आजको खेलमा पनि नेपालले त्यस्तै जादू देखाउने अपेक्षा लिएका थिए । घरेलु मैदानको फाईदा लिन नसकेको नेपालका लागि प्यालेष्टाईनसंगको खेल निकै नै चूनौतीपुर्ण हुने निश्चित छ ।

बंगलादेशले खेलको २७ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै नेपाललाई १- ० ले पछि पारेको थियो । बंगलादेशलाई पेनाल्टीको मौका दिने रेफ्रीप्रति नेपाली दर्शकहरु आक्रोशित भएका थिए । दर्शकहरुले मैदानमा ढुंगाप्रहार गरेपछि केही समय खेल स्थगित गरिएको थियो । बंगलादेशले ५७ औं मिनेटमा दोश्रो गोल गरेको थियो । नेपालले गोल गर्ने अवसर निकै पटक पाएपनि गोलमा परिणत गर्न नसक्ने पुरानै रोग दोहोरियो ।

अघिल्लो खेलमा ह्याट्रिक गरेका भरत खवास आजको खेलमा खासै चल्न सकेनन् ।

आजको खेलसहित सन् १९८४ देखि नेपाल र बंगलादेश १५ पटक भिडेका छन् । जसमध्ये बंगलादेशले १० खेलमा जीत हात पारेको छ भने नेपालले ४ खेल आफ्नो पक्षमा पारेको छ । नेपालले १४ महिना अघि नयाँ दिल्लीमा भएको साफ च्याम्पियनसीपमा बंगलादेशलाई १(०ले हराएको थियो भने गत असोजमा सम्पन्न मैत्रीपुर्ण खेलमा १-१ को बराबरी भएको थियो ।

प्रतिक्रिया