“दलहरूको नेतृत्वबाट एमाले पछि हट्दैन”

ishowarपोखरा, २१ फागुन । एमाले महासचिव ईश्वर पोखरेलले एउटै कुर्सीमा बसेर प्रधानमन्त्री र प्रधानन्यायाधीशको काम गर्न दिने कुरा आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार राजनीतिक दलहरूकै नेतृत्वमा चुनावी सरकार गठन गर्ने अडानबाट एमाले पछि नहट्नेसमेत महासचिव पोखरेलको भनाइ छ ।

एमाले कास्कीले पोखरामा आइतबार गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले अहिलेको सरकारको बहिर्गमन पहिलो सर्त भएकाले शक्ति पृथकीकरणको सिद्धान्तमा आँच नआउने गरी अन्य विकल्पमा छलफल मात्र भइरहेको बताए । एमाओवादी नेतृत्वको वर्तमान सरकारलाई हटाउने आन्दोलन उचाइमा पुग्नै लागेका बेला एमाले र कांग्रेस एमाओवादीको प्रधानन्यायाधीशरूपी पासोमा परेको उनले स्वीकार गरे ।
उनले एमाओवादीले विपक्षी दलहरूलाई बेलाबेला विभिन्न पासो फालेर अल्मल्याउने गरेको र अन्य दल पनि अलमलिने गरेको बताए । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कुरा पनि त्यस्तै भएको उनको टिप्पणी थियो । एमालेले विरोधका लागि मात्र प्रधानन्यायाधीशको नेतृत्वमा जान नसकिने नबताएको उनको तर्क छ । दलहरू हरेक परिवर्तनको नेतृत्व गर्न सक्षम हुँदाहुँदै विकल्पमा जान उचित नहुने उनको भनाइ थियो ।
उनले नेकपा एमाललेले सहमतिको लागि भजन मात्र नगाएर लचकता र कुर्वानी दुवै दिएको उल्लेख गरे । विगतमा दुई वटा आफ्नो पार्टी नेताका नेतृत्वमा रहेका सरकार छाड्नु सहमतिका लागि एमालेले गरेको कुरवानी भएको उनको भनाइ थियो ।

प्रतिक्रिया