जीवन र यौन

पृथ्वीलोक र जीवनका बीच अन्योन्याश्रित सम्बन्ध छ । सिंगो ब्रह्माण्डमा जीव र वनस्पतिको अस्तित्व भएको ग्रह पृथ्वी नै हो । अन्य ग्रह–उपग्रहहरूमा जीव र वनस्पतिको अस्तित्व आद्यपर्यन्त पाइएको छैन । जीवनका लागि आवश्यक कुराहरू पृथ्वीइतर अन्य ग्रह उपग्रहहरूमा छन् कि छैनन् भन्ने कुराको खोजी वैज्ञानिकहरूद्वारा भइरहेकै छन् । जीव होस् या वनस्पति, यिनको विस्तार र संवर्धनका लागि प्रजनन क्रियाको प्रमुख भूमिका रहन्छ । प्रजनन क्रिया र यौन अन्त:सम्बन्धित विषय हुन् । प्रजनन क्रियाले नै सृष्टिलाई निरन्तरता दिइएको हुन्छ । वस्तुत: हरेक जीव र वनस्पति दुवै अमर छैनन् । जन्मने र मर्ने सृष्टि प्रक्रियाको विधि नै हो । यसर्थ, सृष्टिको गतिशीलता र निरन्तरताका लागि प्रजनन क्रिया आवश्यक मात्र होइन, अपरिहार्य नै छ ।

यहाँ जीवन र यौनका बारेमा चर्चा गर्ने जमर्को गरिएको छ । यौन जीवनसँग जोडिएर आएको विषय हो । यसर्थ, यसलाई जीवनबाट पृथक् राखेर हेर्न सकिँदैन । सृष्टिको आरम्भदेखि नै यौनका प्रसंगहरू सुरु भएका देखिन्छन् । हामीलाई थाहा छ, मानव जाति, पशुपन्छी, कीटपतंगलगायतका सबै प्रणीहरूको सृष्टि यौन क्रियाबाट नै हुन्छ । वनस्पतिहरूमा समेत फूल फुल्न, फल फल्नका लागि परागसेचनको आवश्यकता पर्छ । परासेचन प्रजननकै लागि हुने गर्छ । यो एकप्रकारको यौन क्रिया नै हो भन्दा हुन्छ । वस्तुत: यौनलाई जैविक आवश्यकताका रूपमा हेरिएको छ । भोक र प्यास जस्तै हो यौन पनि जीवनका लागि । तर, पनि यसलाई हेर्ने दृष्टिकोण भिन्न छ । पशुपन्छी कीटपतंग आदि निर्लज्न ढंगले वा खुला रूपमा यौन कार्यमा संलग्न हुन्छन् भने मान्छेहरू गोप्य रूपमा । यौन क्रियाका प्रमुख रूपमा दुई उद्देश्य हुन्छन् । ती हुन्– गर्भाधान र आनन्द प्राप्ति । मानवेतर प्रणीहरूको यौनको खास उद्देश्य गर्भाधान हुन्छ भने मान्छेले यसलाई गर्भाधानका रूपमा मात्र लिँदैन । मान्छे आनन्द प्राप्तिकै लागि बढी यौन क्रियाकलापमा संलग्न हुने गर्छ । यसै क्रममा गर्भाधानसमेत हुन्छ ।
यौन विपरीत लिंगीलाई आकर्षण गर्ने माध्यम हो । भालेले पोथीलाई र पोथीले भालेलाई आफूतिर आकर्षित गर्न खोज्दा यौनको भूमिका महत्त्वपूर्ण हुन्छ । यौनले प्रणयभावलाई सघन र प्रबल बनाउने भूमिका पनि खेल्छ । विपरीत लिंगी प्रेमको उत्कर्ष यौन नै हो । (त्यसो त समलिंगी र तेस्रो लिंगी बीचको प्रेममा पनि यौनको भूमिका उत्तिकै छ ।) दाम्पत्य जीवनको सफलता वा असफलतामा यौनले प्रमुख भूमिका खेलेको हुन्छ । यसर्थमा यौनलाई जीवनबाट पृथक् गर्न किमार्थ सकिँदैन । हामीले बेलाबेलामा यौन विकृतिका घटनाहरू आफ्नै समाजमा देख्ने वा सञ्चारमाध्यममा सुन्ने र पढ्ने गर्छाैँ । यौन कुण्ठा, अतृप्ति, अप्राप्ति वा असन्तुष्टिहरूका कारण खासगरी बलत्कारका घटनाहरू घटित हुन्छन् । यस्ता घटना अत्यन्त निन्दनीय र भत्र्सनायोग्य हुन् तापनि यौन कुण्ठितहरूबाट यस प्रकारका कुकर्म अर्थात् यौन दुराचार भइरहन्छन् । यसबाट प्रत्यक्ष रूपमा महिलाहरू प्रताडित हुन्छन् । समाजमा हुने महिला हिंसाका घटनाहरूमध्ये बलात्कारका घटना प्रमुख मानिन्छन् । कैयौँ बालिका, कुमारी, युवती, वयस्क महिला र वृद्ध महिलासमेत बलात्कृत भएका घटनाहरू बेलाबेलामा समाचार बनिरहेका हुन्छन् । बलात्कृत भएकै कारण कतिपयको मृत्यु हुन्छ, कतिपयले आत्महत्या गर्छन् र कतिपय विक्षिप्त अवस्थामा पुग्छन् । यसरी नै कतिपयको सामाजिक जीवनको प्रतिष्ठामा नै असर पर्छ । वास्तवमा यौनसँग सम्बन्धित यस्ता पक्ष घृणायोग्य छन् । यस्तो यौन दुराचार पशुवत् नै मानिन्छ । यस्तो कुकर्म गर्नेहरू सामाजिक र कानुनी रूपमा दण्डित हुन्छन् तापिन समाजमा यस्ता दुराचारको पुनरावृत्ति भइरहेकै हुन्छ । यस्तो हुनुको प्रमुख कारण यौन कुण्ठाको परिणति हो ।
यौन वास्तवमा अजेय इच्छाशक्ति हो । धार्मिक जगत्का मान्छेहरूले यौनप्रति वितृष्णा जनाएका हुन्छन् । यस्तो वितृष्णा बाह्य आडम्बर मात्र हो । उनीहरू भित्र पनि यौन चाहना लुकेर रहेको हुन्छ । कैयौँ धर्मगुरुहरू, सन्त महन्तहरू, ब्रह्मचारीहरू, पादरीहरू यौन काण्डमा फसेका घटना र सूचनाहरू हामीले देखेका वा सुनेका छौँ । हाम्रा पौराणिक कथाहरूमा यौनका अनेकौँ कुराहरू भेटिन्छन् । ऋृषिपत्नीहरूलाई देख्दा गंगामा स्नान गरिरहेका शिव स्खलित भएको र ६ जना ऋृषिपत्नीहरूले सोही गंगामा स्नान गर्दा शिवको वीर्य निलेका कारण गर्भवती हुन पुगी षडानन कुमार कार्तिकेयको जन्म भएको प्रसंग होस् वा श्लेष्मान्तक वनमा मृगिणीको रूपमा रहेकी पार्वतीलाई आफूले पनि मृगको रूप धारण गरी आएर सम्भोग गरेको कथा होस् दुवैले भगवान् शिवभित्र पनि यौन कुण्ठा अन्तर्निहित थियो भन्ने कुरालाई प्रमाणित गर्छन् । ब्रह्मा स्वयंले पुत्री सरस्वतीसँग सम्भोग गरेका थिए भन्ने कथा पनि भेटिन्छ । विष्णु भगवान्ले श्रापका कारण पोथी घोडा भई पृथ्वीलोकमा आएकी लक्ष्मीलाई घोडाकै रूप धारण गरी अवतरण गरेर सम्भोग गर्दा हयग्रीव जन्मेको अर्को कथा प्रसंग पनि छ । यी कथा प्रसंगले यौन चाहना भगवान ब्रह्मा विष्णु र शिवमा समेत थियो भन्ने कुरा प्रमाणित हुन्छ । कृष्णका लीलाले त यसलाई अझ बढी पुष्टि गर्छन् ।
यी त भए अलौकिक कुरा अर्थात् पूरा कथाका प्रसंग । लौकिक जगत्मा यौनलाई जित्न खोज्नेहरू जरुर होलान्, तर यौन उत्तेजनाबाट बच्न भने कोही सक्दैनन् । मेरा एकजना सहपाठी मित्र नाथ सम्प्रदायका योगी छन् । उनीसँग मैले यौनका विषयमा जिज्ञासा राख्दै सोधेँ– मित्र, नढाँटी भन्नुहोस् तपाईंमा यौन चाहना हुन्छ कि हुँदैन । उनले सहज रूपमा उत्तर दिए– ‘म पनि त मान्छे नै हुँ तपाईंहरू जस्तै । कतिचोटि म वेश्यालयमा पनि गएको छु ।’ एकजना ब्रह्मकुमारलाई मैले माउन्ट आबु गएको बेला प्रश्न गरेको थिएँ यही विषयमा । उनले उत्तर यसरी दिएका थिए– हो, अवश्य नै मलाई पनि बेलाबेलामा यौनोत्तेजनाले सताउँछ । जबजब म यौनोत्तेजित हुन्छु, तुरुन्त राजयोगमा लाग्छु । विस्तारै उत्तेजना शान्त हुन्छ ।’ यसैगरी प्राध्यापन पेसामा संलग्न एकजना अविवाहित गुरुमासँग पनि मैले एकचोटि शिष्टतापूर्वक यस्तै जिज्ञासा राख्दा उनले भनेकी थिइन्– ‘यौन उत्तेजित नहुने त कुरै हुँदैन नि । तर, दमन गर्नुपर्छ यस्तो उत्तेजनालाई ।’ महात्मागान्धीले जीवनको पछिल्लो चरणमा ब्रह्मचर्यमा बस्ने प्रण गरेर सफलता पाए पनि स्वप्नदोष भएको प्रसंग उल्लेख गरेका छन् । वास्तवमा स्वप्नदोष यौन अतृप्ति वा कुण्ठाको निकास हो । यौन चाहनाले सबैलाई सताउँछ नै । कसैले दमन गर्न सकेका हुन्छन् भने कोही यसैबाट दमित हुन पुग्दछन्, फरक यत्ति हो ।
यौनलाई सकारात्मक ढंगले लिँदा यसले सृष्टिलाई निरन्तरता दिन्छ र जीवनलाई सार्थक तुल्याउँछ । यदि अप्राकृत, अनैतिक र अशिष्ट ढंगले उपभोग गर्न खोजेमा यसको परिणाम अवश्य नै नकारात्मक निस्कन्छ । अत: यौनलाई जीवन सापेक्ष ढंगले हेर्नु राम्रो हुन्छ । बलात्कार, वेश्यावृत्ति (देह व्यापार), अप्राकृतिक मैथुन जस्ता कुराहरू यौन विकृतिका द्योतक हुन् । यौनले दुई आत्मालाई जोड्न, प्रेमभावलाई प्रगाढ बनाउन तथा दाम्पत्य जीवनलाई सार्थक तुल्याउन सक्नुपर्छ ।
(लेखक परिश्रमी भैरहवा बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख हुन् ।)

प्रतिक्रिया