अम्बिका स्मृति राष्ट्रव्यापी जुडो यसै महिना

काठमाडौं : अम्बिका स्मृति राष्ट्रव्यापी खुला तौल जुडो प्रतियोगिताको चौथो संस्करण फागुन २५ गते नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रको हलमा हुने भएको छ । नेपाल जुडो संघका पूर्वउपाध्यक्ष स्व. अम्बिकाबहादुर क्षत्रीको परिवारको पूर्ण प्रायोजनमा प्रतियोगिता नेपाल जुडो संघले आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा पुरुषको ६० केजीमाथि ३२ तथा महिलाको ४८ केजीमाथि १६ खेलाडीले प्रतिस्पर्धा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जुडो संघका महासचिव रमेश महर्जनले जानकारी गराए । पुरुष–महिला दुवैतर्फका पहिलो, दोश्रो र तेश्रो हुनेले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा स्व. अम्बिकाका छोरा प्रमोदबहादुरले प्रतियोगितालाई निरन्तरता दिने उद्देश्यले १० लाख रुपियाँको अक्षय कोष चाँडै खडा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, शनिबार संघले कोचिङ, अर्गनाइजिङ, काता र जुडो फर पिस सेमिनार आयोजना गर्दैछ । जुडोको परिवर्तित नियमका बारेमा जानकारी दिने उद्देश्यले गर्न लागिएको सेमिनारमा देशभरका ६० प्रशिक्षकको सहभागिता रहनेछ । जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले मार्च १३ देखि १८ तारिखसम्म सिंगापुरमा हुने तेश्रो एसियाली काता च्याम्पियनसिपका लागि बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको केन्द्रीय जुडो प्रशिक्षण केन्द्रमा छनोट हुने जानकारी दिए । (सौस)

प्रतिक्रिया