आठ चलचित्रकर्मी सम्मानित

cinekarmi-sammanit-Aचितवन, १७ फागुन । नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिस्मा मानन्धर सम्मानित भएकी छन् । पर्यटकीय नगरी सौराहामा बुधबार आयोजित नेपाल चलचित्र संघको ४१औँ साधरणसभामा मानन्धर ‘गुण समूह शान्ति मास्के स्मृति अभिनेत्री सम्मान २०६९’ बाट सम्मानित भएकी हुन् ।

उनलाई भौतिक योजना तथा पुन: निर्माण मन्त्री टोपबहादुर रायमाझीले खादा, ताम्रपत्र तथा नगद ११,१११ रुपियाँले सम्मान गरे । कार्यक्रममा चलचित्र क्षेत्रको विकासका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई समेत सम्मानित गरिएको थियो । त्यसरी सम्मानित हुनेमा शेरबहादुर पोखरेलका छोराबुहारी राजकुमार पोखरेल एवं मीना पोखरेलले स्थापना गरेको शेरबहादुर पोखरेल श्रीविक्रम राणा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार शान्तिप्रिय पुरस्कृत भए ।
हरिबहादुर हीरादेवी श्रेष्ठकै छोराबुहारी वीरेन्द्रनारायण श्रेष्ठ एवं प्रभा श्रेष्ठले स्थापना गरेको हरिबहादुर हीरादेवी श्रेष्ठ डायमन्डशमशेर राणा स्मृति लेखन सम्मानबाट लेखक साहित्यकार नयनराज पाण्डे, द्वारिकाप्रसाद उदयका छोराबुहारी प्रदीपकुमार उदय एवं सुमी रञ्जित उदयले स्थापना गरेको द्वारिकाप्रसाद उदय शिवशंकर मानन्धर स्मृति अभिनेता सम्मानबाट अभिनेता कृष्ण मल्ल, गरिबनाथ सर्राफका छोराबुहारी मोहन सर्राफ एवं शिखासिं सर्राफले स्थापना गरेको विश्वज्योति गरिबनाथ सर्राफ प्रकाश थापा स्मृति निर्देशक सम्मानबाट निर्देशक उज्ज्वल घिमिरे, भुवनेश्वर अमात्यकै छोराबुहारी योगेश्वर अमात्य एवं मंगला अमात्यले स्थापना गरेको भुवनेश्वर अमात्य नारायणगोपाल स्मृति संगीत सम्मानबाट गायक राजेश पायल राई, मधुकर बस्नेतको सम्झनामा क्वेस्ट इन्टरटेनमेन्टले स्थापना गरेको मधुकर बस्नेत स्मृति प्राविधिक सम्मानबाट छायाकार राजुविक्रम थापा र चन्द्रप्रसाद पराजुलीका छोरा र छोराबुहारी बलराम पराजुली एवं सिन्धु पराजुलीले स्थापना गरेको चन्द्रप्रसाद पराजुली गोपाल भुटानी स्मृति द्वन्द्व कलाकार सम्मानबाट द्वन्द्व निर्देशक एनबी महर्जन सम्मानित एवं पुरस्कृत भएका छन् । सम्मानितलाई खादा र ताम्रपत्रका साथै ११,१११ रुपियाँ प्रदान गरिएको हो ।
सो अवसरमा नवनियुक्त चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताले चलचित्रक्षेत्रको अवस्था जटिल स्थितिमा रहेकाले यसको विकासका लागि नियमावली संशोधन गर्न बोड तत्पर रहेको बताए । चलचित्रको वर्तमान अवस्था सुधारका लागि अहिले रहेका चलचित्र भवनहरूको वर्गीकरण गर्नु जरुरी रहेको र त्यसका लागि चलचित्रसँग सम्बन्धित संघसंस्था र बोर्डको सहकार्य आवश्यक रहेको पनि उनले औँल्याए ।
कार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमार राईले चलचित्र हलहरू पनि राम्रा नभएकाले चलचित्रको व्यवसाय सकारात्मक नभएको आरोप लगाए । कार्यक्रममा कलाकार संघका अध्यक्ष नवल खड्का, निर्देशक समाजका अध्यक्ष विमल पौडेल, चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरीलगायतले बोलेका थिए ।

प्रतिक्रिया