आत्मदाहको राजनीति

Dalai-Lama१३ फेब्रुअरीमा फेरि अर्को दु:खद अनि अत्यन्त पीडादायक समाचारले विश्व संचारजगत्को ध्यान आकर्षित गर्‍यो । तिब्बती भगौडाको आत्मदाहको प्रयासको खबर साह्रा संसार फैलियो । दु:खद समाचारमा थप भयो आत्मदाहको प्रयास गर्ने व्यक्तिको अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो । एउटा दु:खद घटनासहित एक नौजवान मानवजीवनको अन्त्य भयो । संयोगबस १३ तारिखकै दिन तिब्बती चाड ल्होसारको समेत मौका मिलाएर भारतको राजधानी नयाँ दिल्लीस्थित मज्नुका टिला भन्ने स्थानमा रहेको तिब्बती शरणार्थीको कोलोनी घुम्न गएका बेला आफूलाई प्राप्त खबरको प्रतिक्रिया लिन खोज्दा उनीहरू भन्दै थिए यो १००औँ घटना हो । उनीहरू यो घटनाको बारेमा जानकार रहेछन् । सायद समाचार सुनेका हुन सक्छन् वा अन्य कुनै माध्यमबाट जानकारी लिएका हुन सक्छन् ।
तिब्बतीहरूमा व्याप्त व्यापक असन्तुष्टि र निराशाका कारण आत्मदाहको शृंखला बढ्दै गएको भन्ने उनीहरूको ठम्याइ जस्तो लाग्यो । हुन त त्यति मात्र नहुन पनि सक्छ । यसभित्र लुकेको भित्री कारण केलाउने हो भने त्यति सजिलो गरी निष्कर्ष निस्किहाल्छ भन्ने सोच्न सकिन्न । यसको गहिरो अध्ययन जरुरी छ, अनि केबल एकदुई घटनाको विश्लेषणबाट मात्र यो घटनाको अन्तर्निहित तथ्य पत्ता लगाउन सकिन्न । तिब्बती १००औं स्वतन्त्रता दिवसको अवसर पारेर सेप्टेम्बर २ का दिन १०० औं आत्मदाह गर्ने योजना भएको तर अनेक कारणले गर्दा फेब्रुअरी १३ अर्थात् तिब्बेती ल्होसारको अवसरलाई मौकाको रूपमा हेरिएको भन्ने अनुमान छ । यसरी हेर्दा यो घटना कुनै एक व्यक्तिको निराशासँग मात्र जोडेर हेर्न सकिन्न ।
चीनको तिब्बतप्रतिको नीति परिवर्तन गराउनु अनि आफ्नो आन्दोलनको बारेमा विश्व जगत्मा खबर फैलाउनु नै यो आन्दोलनको लक्ष्य रहेको बुझिन्छ । चीनले सुरक्षा सतर्कता बढाएर अनि विदेशीको प्रवेशमा कडाइ गरेर आन्दोलनको विषय दबाएको भन्ने उनीहरूको आरोप छ । चीन भने यो मान्न तयार छैन । आन्दोलनमा वाह्य हस्तक्षेप र सहयोग रहेको भन्दै दलाई लामाको ‘प्रवाशी सरकार’को गतिविधिमाथि प्रश्न गरिरहेको छ । चीनले पनि कुनै प्रमाणसहित त भन्न सकेको छैन तर कतिपय दृश्यहरू हेर्दा त्यो आन्दोलन स्वस्फुर्त हो भन्नु अपूर्ण विश्लेषणमात्र हुनेछ । चीन सरकारले आत्मदाहमा ‘प्रवाशी सरकार’को हात रहेको र त्यस कार्यका निम्ति ठूलो धनराशी खर्च गरिएको आरोप लगाएको छ । उक्त आरोपको पुष्टि नभए पनि पछिल्लो घटनामा पश्चिमा नागरिकले लामाको पोसाक लगाएको र आगो निभाउनुभन्दा ठुल्ठुला लेन्स भएका क्यामेराले फोटो खिचेको भन्ने समाचारले चिनियाँ दाबीलाई मद्दत पुर्‍याएको छ । कुनै निर्दोषलाई आत्मदाहको लागि अनावश्यक रूपमा प्रेरित गरी जलेको आगोको राप र तापको न्यानोमा हात सेकाउनु अपराध कार्यको पराकाष्टा हो । चीनतिर लक्षित गरिएको भए पनि यो कुनै पनि मानवजगत् विरुद्धकै अपराध हो ।
बुद्धको अहिंसाको नारा लगाएर समाजमा आतंक फैलने गरी गरिने यस प्रकारका घटना आफँैमा दु:खदायी हुदाँहुदै पनि निन्दनीय छ । एक चीन नीतिको पूर्ण समर्थन गरेको नेपाल जस्तो छिमेकी मुलुकको भूमि प्रयोग गरी चीनविरुद्ध गरिएको ठानिएको यो भावनात्मक आक्रमण यदि कुनै पश्चिमा मुलुकविरुद्ध इस्लामिक संघठनले गरेको भए एउटा आतंककारी, नृशंस घटनाको रूपमा चित्रित गरिन्थ्यो होला । घटनामा संलग्न देखिने एक सामान्य भिक्षुभन्दा पर्दाभित्र लुकेर बसेका अपराधीहरू कुनै ऐतिहासिक घटनाको जस्तो गरी तस्बिरमा कैद गर्न आतुर अपराधीहरूको संजाल तोड्न नेपाल सक्षम हुनैपर्छ । नेपालले आफ्नो संक्रमणकालको बहाना बनाएर कुनै पनि हालतमा दुवै छिमेकी मुलुकको सुरक्षाको प्रश्नमा आँखा चिम्लेर बस्न मिल्दैन ।
कुनै पनि ठाउँको कटु अनुभवबाट अर्को ठाउँमा शिक्षा प्राप्त गर्न सकिन्छ । सोभियत संघको पतनबाट चीनले सिक्नुपर्ने थुप्रै कुराहरू हुन सक्छन् । चीनले तिब्बती जनताको हितका लागि स्थापना गरी लागू गरिएको स्वशासनबाट जनताहरू बिस्तारै असन्तुष्ट हँुदै गएको अनुभव हुँदै छ । सायद चीनले पनि केही अनुमान गरेको हुनुपर्छ । चीनले विगतको अन्यायपूर्ण सामन्ती शासनको शोषण र पीडाबाट त तिब्बती जनतालाई मुक्त गराइ स्वशासन त लागू गरायो । तर, जनतामा रहेको आकांक्षालाई बुझ्ने र सम्बोधन गर्ने चिनियाँ नीति बिस्तारै असफल हँुदै गएको छ । स्वशासनको कुरा गरे पनि जनताहरू आफ्नो सांस्कृतिक अधिकार, भाषिक अधिकार, प्राकृतिक श्रोत साधनको समान
वितरण अनि राज्यमा आफ्नो पहुँच नभएको भन्दै व्यापक निरास भएको देखिन्छ । आफ्नो अपनत्व गुमाउँदै गएको अनुभव गर्दै छन् । जनताको दैनिक आवश्यकता परिपूर्ति भइरहे पनि उनीहरूमा अधिकार नपाएको भावना कुण्ठित हुँदै गइरहेको छ । समग्रमा भन्ने हो भने तिब्बतमा आर्थिक सम्पन्नता र विकासले फड्को त मारेको छ । तर, लोकतान्त्रिक हक, अधिकार कुण्ठित हुँदै गैरहेका छन् ।
यसरी आन्तरिक रूपमा नीतिगत अनि कतिपय सन्दर्भमा व्यवहारिक नियन्त्रण पनि गुमाउँदै कम्जोर बन्दै गएको मौका छोपी विश्व–साम्राज्यवादीहरूले चीनविरुद्ध योजना बुनेर बसिरहेका छन् । आत्मदाहको खबरलाई लिएर बडो उत्साहका साथ ‘तिब्बतमा आत्मदाहको लहर’ भन्दै शोक परेको भान गरी आफ्नै शैलीमा खुसी मनाएका छन् । चिनियाँहरूले अब दिल दरो बनाएर दिमागले निर्णय लिने बेला आएको छ । तिब्बत नीतिमा चीनले कुनै न कुनै परिवर्तन गरी जनतामा बढ्न सक्ने निराशाको अन्त्यसँगै आफूविरुद्ध हुनसक्ने षड्यन्त्रलाई रोक्नैपर्छ ।
यदि तिब्बती शरणार्थीहरूलाई वास्तवमै अधिकारको लडाइँ लड्नु छ भने आत्मदाहको बाटो होइन आत्मसम्मानको बाटो रोज्नुपर्छ, स्वतन्त्रताको आवाज उठाउनेले कायरताको प्रदर्शन गर्नु हुँदैन, तिब्बतका लागि ज्यान दिन तयार छु भनेर देखाउनेहरू तिब्बत छोडेर आउनु हुँदैन । अनि, बुद्धको अहिंसाको नाम जप्नेले समाजमा आतंक फैलिने गरी हिंसा देखाउन हुँदैन । मानवअधिकारको ठूलाठूला व्याख्या गर्नेहरूले मानवताविरोधी यस्ता क्रियाकलाप अन्त्यका निम्ति कदम चाल्नु अत्यन्त जरुरी छ ।
(लेखक नयाँ दिल्लीस्थित साउथ एसियन युनिभसिर्टीमा स्नातकोत्तर तह अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थी हुन्)

प्रतिक्रिया