नौ वर्षपछि मिलानमा पराजय

Ac_milanमिलान, ११ फागुन । इटालियन क्लब एसी मिलानविरुद्ध नौ वर्षपछि पराजित हुँदा पछिल्ला केही वर्षयता विश्व क्लब फुटबलमा सर्वाधिक शक्तिशाली टोलीका रूपमा परिचित स्पेनिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टरफाइनलबाटै बाहिरिने सम्भावना बढेर गएको छ । एसी मिलानको मैदान सान सिरोमा बुधबार पहिलो लेगमा उत्रिएको बार्सिलोना २–० को नतिजाले स्तब्ध बन्यो । घरेलु लिगमा उपाधि होडबाट टाढा देखिएको एसी मिलानले बार्सिलोनाविरुद्ध पछिल्ला इतिहास बिर्साउनलायक प्रदर्शन गरेको थियो ।

दोस्रो हाफमा दुवै गोल गरेको एसी मिलानका लागि केभिन–प्रिन्स बोआटेङ र सुलेअल मुन्तारीले गोल गरे । यद्यपि, ५७औँ मिनेटमा बोआटेङले गरेको खेलको पहिलो गोल भने विवादास्पद रह्यो । क्रिस्टियान जापाटाको ह्यान्ड देखिए पनि रेफ्रीले त्यसलाई अस्वीकार गरेपछि सोही मुभमा बोआटेङले गोल गरेका थिए । ८१औँ मिनेटमा मुन्तारीले काउन्टर एट्याकमा ‘भली’मार्फत गोल गरेका थिए ।
गत संस्करणमा क्वार्टरफाइनलको पहिलो लेगमा खेलेको गोलरहित बराबरीको नतिजामा भएको प्रदर्शन दोहोरिएको थियो, बिहीबार यी दुईबीच । तर, यसपटक खेलमा दबाब बेहोर्नुका बाबजुद गोल गरेर एसी मिलानले आफूलाई भाग्यमानी सावित गर्‍यो । यता बार्सिलोना, एसी मिलानको ‘टाइट डिफेन्स’ सामु लगातार झुकिरह्यो ।
सानदार लयमा रहेका मारियो बालोटेलीविना नै उत्रिन बाध्य एसी मिलानले उनको स्थानमा जिआम्पाओलो पाजिनीलाई अग्रपंक्तीमा उतारेको थियो । गत जनवरी ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटीबाट एसी मिलान आएका बालोटेली जारी च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी समूह चरणबाटै बाहिरिसकेका कारण एसी मिलानका लागि यो प्रतियोगिता खेल्न असमर्थ रहेका हुन् । यसअघि एसी मिलानले पछिल्लोपटक सन् २००४ मा यसै प्रतियोगितामा बार्सिलोनालाई १–० ले पराजित गरेको थियो । यस नतिजाले तीन सातापछि घरेलु मैदानमा हुने दोस्रो लेगमा बार्सिलोनालाई निकै दबाबमा राख्नेछ । बार्सिलोनालाई कम्तीमा तीन गोलको अन्तरको जितले मात्र क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्नेछ । पछिल्ला चार संस्करणमा दुईपटक विजेता र दुईपटक सेमिफाइनलसम्म पुगेको बार्सिलोना पछिल्लोपटक सन् २००६/०७ को संस्करणमा प्रि–क्वार्टरफाइनलबाट बाहिरिएको थियो । त्यतिबेला दोस्रो लेगमा १–० ले विजयी भए पनि बार्सिलोना इंग्लिस क्लब लिभरपुलविरुद्ध अवे गोलमा पछि रहेको थियो ।
बुधबार नै भएको अर्को खेलमा गालासतारे र साल्केविच १–१ ले बराबरी भयो । १२औँ मिनेटमा अग्रता लिएको गालासतारे पहिलो हाफमै बराबरीमा झरेको थियो । ४५औँ मिनेटमा जर्मेन जोन्सको गोलमा साल्के बराबरीमा आइपुग्नुअघि गालासतारेका लागि बुराक यिल्माझले गोल गरेका हुन् ।

प्रतिक्रिया