नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

saving-faceकाठमाडौं : नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बिहीबारदेखि नेपाल पर्यटन बोर्डमा सुरु भएको छ । चलचित्रका माध्यमबाट मानवअधिकारको चेतना फैलाउने उद्देश्यले आयोजित महोत्सवको उद्घाटन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले गरे ।
लोकतन्त्र, जनजीविका तथा मानवअधिकारका विषयमा केन्द्रित महोत्सव आगामी १३ गतेसम्म चल्नेछ । महोत्सव डानियल जंगे र सर्रमेन ओवाईड चिन्ओको निर्देशनमा तयार भएका ‘सेभिङ फेस’ को प्रदर्शनीसँगै सुरु भएको हो ।
नेपालमा विभिन्न कारणले हुने महिला हिंसाविरुद्ध महोत्सवले सकारात्मक सन्देश छोड्नेछ आयोजक संस्थाका अध्यक्ष तथा महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले भने ।
चार दिनसम्म चल्ने महोत्सवमा वर्तमान सन्दर्भको राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकार, शान्ति र सामाजिक विषयमा निर्माण भएका नेपाल, अमेरिका, इजरायल, इजिप्ट, नर्वे, बंगलादेश, पाकिस्तान, जापान, भारतलगायत देशका चलचित्र प्रदर्शन गरिने आयोजकले जानएको छ । अनुहारमा नै एसिड छर्कने जस्ता महिलामाथि हुने हिंसामा केन्द्रित ओस्कार विजेता पाकिस्तानी चलचित्र सेभिङ फेस पनि महोत्सवमा देखाइँदै छ । समयको परिवर्तनसँगै मिडिया क्षेत्रमा बढ्दै गइरहेको व्यापारीकरण तथा यसले निम्त्याएको स्वतन्त्र समाचारको संकटमाथि भारतीय निर्देशक उमेश अग्रवालले तयार गरेका ५५ मिनेट लामो ‘ब्रोकरिङ न्युज– मिडिया, मनी एन्ड मिडल मेन’ दलित समुदायको समस्याको विषयमा बनेको नेपाली चलचित्र दलन पनि महोत्सवमा समावेश छ ।
त्यस्तै, महोत्सवमा सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाले आफ्नै कथामा आफै अभिनय गरेर तयार पारेको दियालीले पनि सहभागिता जनाएको छ । यसले दुुई अन्तर्राष्ट्रिय महोत्सवमा समेत सहभागिता जनाइसकेको छ । महोत्सवमा डेढ घन्टा लामो इजरायलीे चलचित्र जेइ ओनी, भारतको द डेड सी, नर्वेको साइलेन्ट भ्वाइस, बंगलादेशको अ नेसन काल्ड बांग्ला, जापानी इन द ग्रे जोन, इजिप्टको तहरिर, अमेरिकी अपनिङ आवर आइज डकुमेन्ट्रीहरूसमेत प्रदर्शन गरिनेछ । नेपालमा चलचित्र संस्कृतिको विकास गरी अधिकार र सामाजिक विषयमा चलचित्र निर्माण गर्न महोत्सवका माध्यमले प्रेरणा मिल्ने अपेक्षा आयोजकले गरेको छ । (सौस)

प्रतिक्रिया