निजी विद्यालयको शुल्क यथावत

Schoolssकाठमाडौं : निजी विद्यालयले आगामी शैक्षिक सत्रमा शुल्क बढाउन नपाउने भएका छन् ।
विद्यालय शुल्क व्यवस्थापन समितिको बुधबार बसेको बैठकले निजी विद्यालयले आगामी शैक्षिक सत्रमा पनि चालु सत्रमा लिएको शुल्क नै लिनुपर्ने निर्णय गरेको हो । समितिमा शिक्षा विभाग, अभिभावक संघ, प्याब्सन, एनप्याब्सन सदस्य छन् । निजी विद्यालयले महँगीसँगै शुल्क बढाउने तयारी गरिरहेका बेला समितिले शुल्क नबढाउन निर्देशन दिएको हो ।
विभागका निर्देशक टेकनारायण पाण्डेले विद्यालयहरूले शुल्क बढाउन नपाउने निर्णय गरिएको जानकारी गराए । ‘निजी विद्यालयको शुल्क बढ्दैन,’ पाण्डेले सौर्यसँग भने, ‘चालु शैक्षिक सत्रको शुल्क नै आगामी सत्रका लागि कायम गरिएको छ ।’
प्याब्सन अध्यक्ष डा. बाबुराम पोखरेलले भने विद्यालयहरूले सुविधा थप गरे शुल्क बढाउने प्रतिक्रिया दिए । ‘सामान्यत: शुल्क बढाइँदैन,’ अध्यक्ष पोखरेलले सौर्यसँग भने, ‘तर, सुविधा थप गरे शुल्क बढाउनेछौँ ।’ उनले यस वर्ष शुल्क नबढाएका विद्यालयले बढाउने जानकारी गराए ।
१ चैतदेखि मात्र भर्ना अभियान
निजीले १ चैतदेखि मात्र भर्ना अभियान सञ्चालन गर्न पाउने भएका छन् । समितिको बैठकले १ चैतदेखि मात्र विद्यालयहरूले भर्नाका लागि प्रचार गर्न पाउने निर्णय गरेको हो । समितिका संयोजकसमेत रहेका विभागका निर्देशक पाण्डेले भर्नाको प्रचारलाई व्यवस्थित बनाउन शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिनाअघि मात्र विद्यालयलाई भर्ना अभियान सञ्चालन गर्न दिइएको जानकारी गराए । उनका अनुसार १ देखि १५ चैतसम्म भर्ना अभियान र १५ पछि मात्र विद्यालयले भर्ना लिन पाउनेछन् ।
प्रचार खर्च ३ देखि ५ लाख
समितिले विद्यालयलाई भर्नाका लागि फजुल खर्चमा रोक लगाएको छ । विगत वर्षहरूमा जथाभावी भर्नाको प्रचार गरेकाले अब निश्चित रकम खर्च गर्न पाउने अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी गराए । अध्यक्ष भण्डारीका अनुसार आधारभूत विद्यालयलाई ३ लाख र माध्यमिकलाई ५ लाख खर्च गर्ने सीमा तोकिएको छ । विद्यालयहरूले भर्नाको प्रचार सामग्री पनि जिल्ला शिक्षा कार्यालयबाट स्वीकृत गराउनुपर्नेछ । भर्नाका लागि पत्रपत्रिका तथा रेडियोमा प्रचार गर्न पाए पनि होडिङ बोर्ड राख्न पाउनेछैनन् । (सौस)

प्रतिक्रिया