बोर्ड फस्र्टको डायरी

Rasmi-aacharyaएसएलसीमा बोर्ड फस्र्टको कृतिमान बनाएका डा. बाबुराम भट्टराईसँग सुशासनमा पनि त्यस्तै अपेक्षा थियो । शैक्षिक उपाधि र अर्थमन्त्री हुँदा पाएको सफलताले गर्दा जनताको आशा र भरोसा उनीमाथि नै थियो । ‘देश बनाउँछ कसैले भने बाबुरामले, त्यसकारण बाबुरामलाई पालो दिनुपर्छ’ धेरैको प्रतिक्रिया यस्तै हुन्थ्यो । युवापुस्ताले उनलाई नयाँ नेपालको वास्तविक निर्माता ठान्थे, आदर्शव्यक्ति मान्थे । उनीसँग संवृद्ध नेपालको वास्तविक तस्बिर छ भन्ने अनुमान आम जनताको थियो । विडम्बना जब बाबुराम प्रधानमन्त्री बने त्यस दिनदेखि उनको यात्रा जनताका यी अपेक्षाभन्दा उल्टो दिशातर्फ अगाडि बढ्यो । उनको सरकार निर्माणको जग नै यी अपेक्षा प्रतिकूल थियो । दक्षिणको सहयोगमा मधेसी दलहरूसँगको गठजोडको पर्दाभित्र धेरै दृश्यहरू त्यहाँ कैद भएका थिए । जब ती दृश्यहरू एकएक गरी पटाक्षेप हुन थाले सरकारको भ्रमजाल विस्तारै उदाङ्गो हुन थाल्यो । उसको असलीरूप विभिन्न शृंखलाको माध्यमबाट जनतामा प्रकट हुनथाल्यो । त्यो कहिले बिप्पा सम्झौताको रूपमा त कहिले अन्तर्राष्ट्रिय विमानस्थल विदेशीलाई जिम्मा लगाउने हर्कतको रूपमा, कहिले अर्बाैंको कमिसनको खेलमा त कहिले कानुनको धज्जी उडाउने शासकको रूपमा, कहिले लाल आतंकको रूपमा त कहिले जंगी शासनको रूपमा । यसले के पुष्टि गर्छ भने पढाइमा बोर्ड फस्र्टको पगरी गुथेका डा. बाबुराम प्रधानमन्त्री हुँदा हर क्षेत्रमा बोर्ड फस्र्टको पगरी गुथ्न लागि परेका छन् ।
भ्रष्टाचार : विश्वमा सबैभन्दा भ्रष्टाचार हुने सूचीमा नेपालले बाबुरामको पालामा छलाङ्ग मारेको छ । ९३ नम्बरबाट एकै चोटि १५४ नम्बरमा उक्लिएको छ । स्थानीय निकायमा भ्रष्टाचार, जिविसमा भ्रष्टाचार, मन्त्रालयमा भ्रष्टाचार, लडाकुको पैसामा भ्रष्टाचार, सरुवा बढुवामा भ्रष्टाचार, एयर्पोटमा भ्रष्टाचार । जतासुकै भ्रष्टाचारै भ्रष्टाचार । जहाँ पैसा त्यहाँ भ्रष्टाचार । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिएर नथाक्ने प्रधानमन्त्रीले आजकल भ्रष्टाचार खोज्न धेरै टाढा जानुपर्दैन । ऊ त उनकै अगाडिपछाडि हरेक दिन फर्‍याकफुरुक गर्छ, कपाल हल्लाउँछ, अर्बौंको योजना बनाउँछ । यसरी निर्लज्ज तबरले शयनकक्षमा भ्रष्टाचारसँग अंगालो हाल्ने प्रधानमन्त्रीसँग सुशासनको अपेक्षा गर्नु बेकार छ । यसरी नेपालको इतिहासमा भ्रष्टाचारमा बोर्ड फस्र्टको रेकर्ड बनाएका प्रधानमन्त्री बाबुराम डाक्टरको अगाडि भ्रष्टाचार शिरोमणिको उपाधि थमाउँदा मात्रै उनको उचित सम्मान हुनेछ ।
राष्ट्रघात : नेपालको राष्ट्रियता यतिबेला इतिहासमै कमजोर अवस्थामा छ । दिनहुँ देशको सीमाना मिचिएको छ । विदेशी हस्तक्षेप पनि बढ्दो छ । मूलत: सरकारका गतिविधिहरूले राष्ट्रियता दिन प्रतिदिन धरासायी बन्दै गएको छ । युद्धकालमा स्वाधिनताका लागि भारतविरुद्ध लड्न सुरुङ खनेको ढ्वाङ फुक्ने बाबुराम–प्रचण्डहरू यतिबेला तिनै सुरुङहरूलाई प्रयोग गरेर राष्ट्रघातमा उच्च रेकर्ड कायम गर्न उद्यत छन् । देशलाई कमजोर पार्ने राष्ट्रविरोधी सुरुङहरू एकपछि अर्काे थपिँदै गइरहेका छन् । बिप्पा सम्झौता त्यसको एक रूप हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत १६ वटा अन्य विमानस्थलहरू विदेशीलाई व्यवस्थापन गर्न करारमा दिने योजना अर्काे रूप हो । त्रिशूली सम्झौता विस्तारै देखिन थालेको नयाँ रूप हो । यस्ता बहुरूपी बाबुरामले विगतका सबै शासकहरूलाई राष्ट्रघाति क्रियाकलापमा पनि उछिनेका छन् । उनी राष्ट्रघातमा पनि बोर्ड फस्र्ट कायम गर्ने प्रधानमन्त्रीको चिनारी बनाउन सफल भएका छन् । उनले ट्वीटरमार्फत मागेको पाँच वर्ष यदि साँच्चिकै पाउने हो भने देश कहाँ पुग्ला ? जो सुकैले सजिलै अनुमान गर्न सक्छन् त्यसपछि देशको शेष पनि बाँकी रहने छैन । आउँदो पुस्ताले अवशेषको उत्खनन गर्दा इतिहासमा नेपाल भन्ने एउटा देश थियो भन्ने तथ्यमात्र फेला पर्ने अवस्था आउनेछ ।
दण्डहीनताका संरक्षक : युद्धकालमा पार्टीभित्रै मृत्युको मुखमा पुगेर बाहिर सूचना सार्वजनिक भएका कारण पुर्नजीवन पाएका बाबुराम अहिले सबैभन्दा कठोर शासक बनेर उदाएका छन् । एकपछि अर्काे घटनामा उनी अपराध र अपराधीका रक्षक बनेर खडा भएका छन् । कहिले जघन्य अपराधका मुद्दाहरू फिर्ता लिने निर्णय गरेर, त कहिले अदालतले दोषी ठहराएका बालकृष्ण ढुंगेलहरूलाई संरक्षण दिएर, त कहिले चलिरहेका मुद्दालाई बीचमै रोक्न ठाडो आदेश दिएर, त कहिले सत्यनिरूपण तथा मेलमिलापको नाममा आममाफिको वकालत गरेर उनी अपराध संरक्षकका नायक भएका छन् । कानुनको संरक्षक गर्ने मूलदायित्व बोकेका प्रधानमन्त्री स्वयंबाट कानुनको उल्लंघन हुनु कानुनी राज्यको उपहास गर्नु हो । अन्तर्राष्ट्रिय जगत्मा बेइज्जत कमाउनु हो । पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणमा संलग्न भएकाहरूले अपराध स्वीकार गरिसकेको र पश्चाताप गर्दै सजाय भोग्न तयार रहेको मनशाय सार्वजनिक गरिसक्दा पनि प्रधानमन्त्रीले देखाएको उग्रता ज्यादै भड्किलो छ । दैलेखमा पुगेर पत्रकार र नागरिक समाजमाथि गरेको विषवमन प्रधानमन्त्रीका लागि अमिल्दो छ । यसरी अपराध संरक्षणमा प्रधानमन्त्रीको उग्रता झन्झन् बढ्दै जाँदा उनी यसमा पनि बोर्ड फस्र्ट हुन चाहेको प्रस्ट हुन्छ ।
असफल देश : प्रधानमन्त्री बाबुरामका बोर्डफस्र्टका कदमहरू खोज्दै जाँदा बग्रेल्ती भेटिन्छन् । जनताले थेग्न नसक्ने उच्चकोटीको महँगी, दैनिक १२/१४ घन्टाको लोडसेडिङ, दिनहुँ भइरहेका महिला हिंसाका दर्दनाक घटनाहरू, मुस्ताङ म्याक्सको खोलभित्र जनताको सम्पत्तिमाथि लुटको खेती, सत्तालिप्साका लागि संविधानसभाको विघटन, संवैधानिक र कानुनी निकाय रित्याएर सत्ताकब्जा गर्ने रणनीति बाबुराम सरकारले जनतालाई दिएका उपहार हुन् । जति दिन बाबुराम सरकार सत्तामा रहिरहन्छ, त्यति यस्ता उपहार र बोर्ड फस्र्टका अरू रेकर्डहरू थपिँदै जाने निश्चित छ । यस्तो कुशासनको अन्तिम परिणाम भनेको अन्तत: देश असफल हुनु हो । देशलाई असफल हुनबाट बचाउन बाबुरामको सत्ता बहिर्गमन एकमात्र विकल्प हो । यसरी देश कंगाल बनाउने बाबुरामको बोर्डफस्र्टमाथि पूर्णविराम लगाउने तागत जनताबाहेक अरूसँग छैन । त्यसैले अब आमजनता जाग्नु अनिवार्य छ । (लेखक अनेरास्ववियु संगठन विभाग प्रमुख हुन्)

प्रतिक्रिया