म पहिला कवि अनि पत्रकार

Fulman-Balसमकालीन नेपाली कवितामा राम्रा हस्ताक्षर हुन् फूलमान वल । आख्यानबाट सहित्ययात्रा सुरु गरेका उनको पहिलो कथासंग्रह ‘काजोल खातुन’ प्रकाशित छ । समालोचक विप्लव ढकालको शब्दमा उनी ‘लेखनको विषयवस्तु खोज्न कुम्लो कसेर कुनै विरोनो प्रदेशतिर गएका छैनन् ।’ आममान्छेलाई पात्र बनाइ लेख्ने उनी तिनीहरूको अनुहार कवितामा स्पष्टसाग देखाइदिन्छन् । हाल उनी पहिलो कवितासंग्रह ‘महाभारतकी मैच्याङ’का कारण चर्चामा छन्–
पहिलो कवितासंग्रह ‘महाभारतकी मैच्याङ’को बजार रेस्पोन्स कस्तो छ ?
एकदमै राम्रो रेस्पोन्स आइरहेको छ । पूर्वाञ्चलबाट रिलिज गरिएको थियो । पूर्वका साहित्य पारखीहरूले त फोन, एसएमएस, फेसबुक र म्यासेजहरूमार्फत प्रतिक्रिया दिइरहेका छन् । काठमाडौंका साथीभाइ र साहित्य रूचाउनेहरूले लामो समयपछि बजारमा आएको भिन्न कविता कृति भनेका छन् । कविताको पनि यतिविधि प्रतिक्रिया आउँदो रहेछ भन्ने थाहा पाएर हौसिएको छु ।
तपाईं पत्रकार पनि हुनुहुन्छ । पत्रकारहरूले आफ्नो किताब हिट बनाउन भएभरका प्रचार अस्त्र चलाउने गरेका छन् । मिडियामा भएका साथी र सरसंगतलाई भरपूर प्रयोग गर्ने गरेका छन् । तपाईंको पनि त यस्तै योजना होला नि ?
म पत्रकार भएर साहित्यकार भएको हैन । साहित्यकार भएर पत्रकार भएको हुँ । सक्रिय पत्रकारितामा आउनुअघि नै मेरो कथासंग्रह ‘काजोल खातुन’को तयारी भइसकेको थियो र पत्रकारिता प्रवेशसँगै त्यसको प्रकाशन पनि भयो । त्यो कृतिलाई धेरै समीक्षकहरूले नेपाली द्वन्द्व साहित्यको पहिलो किताब पनि भनेका थिए । यति हुँदा पनि मैले समाचारको लागि कुनै पनि मिडिया हाउस धाइनँ । समीक्षा गरिदिनुस् भन्दै कतै कुनै पनि लेखक/समालोचककोमा गइनँ । अहिले पनि त्यो किताब पढ्नेहरूले त्यसको प्रचार पुगेन भनिरहेका छन्, यसको छिट्टै परिमार्जित संस्करण पनि आउँदैछ ।
जहाँसम्म मिडिया प्रयोगको सबाल छ, मेरो विचारमा प्रचारबाजी मात्रै गरिएको कृति कालजयी बन्न सक्दैन, यदि कन्टेन र प्रिजेन्टेसनको हिसाबले त्यो कमजोर छ भने । ठूलै प्रचारबाजी गरिएको केही कृति अहिले लगभग गुमनाम जस्तैको हालतमा छन् नि । तिनको साहित्यिक मूल्यको छिनोफानो पनि समयक्रममा हुने नै छ । तर, हामीले स्वीकार्नुपर्ने कुराचाहिँ के हो भने हरेक वस्तुको बजार प्रबद्र्धनको शैली बदलिए जस्तै अहिले नेपाली साहित्यको बजारीकरणमा केही नयाँ आयाम देखिएका छन् । यो आधुनिक, खुला र प्रतिस्पर्धात्मक बजारमुखी विश्व अर्थतन्त्रको प्रभाव हो, जसको प्रमुख विशेषता भनेकै अति प्रचारबाजी गर्नु हो । हरेक नयाँपनसँगै विकृति भित्रिएजस्तै मिडियाको दुरुपयोगचाहिँ त्यसको विकृत रूप हो ।
तपाईंको कवितामा तामाङ जाति, उनीहरूले पाएको दु:ख र ती जातिको मिथक चर्को रूपमा आउँछन् । के तपाईंले कवितामार्फत राजनीति गर्न खोज्नुभएको हो ?
समालोचक विप्लव ढकालको शब्द सापट लिने हो भने ‘लेखनको विषयवस्तु खोज्न कुम्लो कसेर म कुनै विरोनो प्रदेशतिर गइनँ ।’ आफ्नै अनुभूति लेखेँ । म जुन समाज र परिवेशमा हुर्कें मैले त्यही समाजको मौलिकतालाई लेखनीमा उजिल्याउने प्रयास गरेँ । अहिलेसम्म नेपाली साहित्यमा आउन नसकेका विषय, बिम्ब र प्रतीकहरूसँग खेलेको छु । यसले नेपाली साहित्यको भण्डार झन् फराकिलो र सम्वृद्ध पार्छ भन्ने मलाई लाग्छ । सस्तो नाराभन्दा पनि यथार्थ अनुभूतिमा आधारित भएकोले मेरा कविताहरू राजनीतिभन्दा निकै माथि छन् जस्तो लाग्छ ।
पहिला आख्यान पनि लेख्नु भो । अहिले ‘कविताको मृत्यु भइसक्यो, यो आख्यानकै जमाना हो’ भन्छन् नि † तपाईं के भन्नुहुन्छ ?
कविता त अभिव्यक्तिको माध्यम मात्रै हो । मुख्यचाहिँ तपार्इं के र कुन शैलीमा कसरी अभिव्यक्त गर्नुहुन्छ भन्ने कुरा हो । कवितामा जे मन लाग्यो त्यही र जे पायो त्यही अभिव्यक्त गर्न थाल्नु भो भने कविता चल्दैन । अर्को कुरा हामीले कवितालाई निकै सस्तो बनायौँ । यसको बजारमूल्य र लेखकीय महत्त्वलाई बिस्र्याैं र जहाँ पायो त्यहीँ सुनाउने र जसलाई पायो त्यसलाई सित्तैमा किताब दिने संस्कृति बसायाँै । मेरो विचारमा नेपाली सन्दर्भमा कविताको मृत्यु हैन, कविताको महत्त्व झन् बढ्दैछ । टिग्डमा कविता सुन्ने र एकल सो गर्ने संस्कृति नै विकास भएको छ । एउटा कार्यक्रममा कवि श्रवण मुकारुङले भन्नुभएको कुरा म यहाँ दोहोर्‍याउन चाहन्छु–
‘वास्तवमा सबैभन्दा बढी पढिने र सुनिने विधा भनेकै कविता हो ।’
कविताका शक्ति र सिमाहरू के–के हुन् ?
कविताले छिट्टै व्यक्तिलाई उद्धेलित/प्रभावित तुल्याउन सक्छ, यो कविताको शक्ति हो । अर्कोतिर यो पढिने र सुनिने दुवै विधा भएकोले यसको मास अडियन्स हुन्छ । यति हुँदाहुँदै पनि आख्यानले दिनसक्ने फराकिलो कथात्मकता, चरित्रचित्रण र ठूलो परिवेश कवितामा हुँदैन ।
दशवर्षे जनयुद्ध साहित्यका लागि उर्वर थियो भनिन्छ । तर, साहित्य र विश्लेषणमा हामीले युद्धलाई सधैँ अति (भहतचझभ)मा प्रतिबिम्बित गर्ने कोसिस गर्‍यौँ भन्ने लाग्दैन ?
दशवर्षे जनयुद्ध साहित्यका लागि उर्वर ‘थियो’ हैन ‘हुनेछ’ भन्नुपर्छ । वास्तवमा युद्ध साहित्य लेख्ने बेला अब बल्ल भएको छ । जतिबेला युद्ध हुँदै थियो, त्योबेला लेखिने भनेको कि नारा हो कि त विरोध । यी दुवै खालका अतिवादी साहित्यिक धार हाम्रो साहित्यमा पनि देखिएकै हो– त्यहीकारण युद्धलाई साहित्य र विश्लेषणमा सधँै एक्ट्रिममा प्रतिबिम्बत गरेको जस्तो भ्रम हुन गयो । युद्ध चलिरहेको बेला या युद्धको सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक असर ताजै भइरहेको बेला लेखिएको साहित्य यो वा त्यो कोणबाट प्रभावित नै हुन्छन् र असली युद्ध साहित्य आउन सक्दैन । हाम्रोमा स्वतन्त्र र निष्पक्ष युद्ध साहित्य आउन सकेकै छैन भने पनि हुन्छ ।
आफ्नो कवितामा समकालीन कविहरूको प्रभाव कत्तिको परेको अनुभव गर्नुभएको छ ?
कुनै न कुनै हिसाबले त्यस्तो प्रभाव भई नै रहेको हुन्छ तर मानिसहरू ढाँट्छन् । म पनि प्रभावित छु । म यसलाई समकालीनता भन्दा पनि अझमाथि राख्न चाहन्छु । श्रवण मुकारुङ, मोमिला र विप्लप ढकालका कविताहरूबाट म प्रभावित छु ।
तपाईंको कविता पढ्दा आउने जीवन दृष्टिकोण स्कुलिङको कारणले जन्मेको हो कि जन्मजात प्रभाव ?
मेरो विचारमा सिर्जनात्मकता र जीवन दृष्टिकोण दुवै जन्मजात हुँदैन । त्यो मानिस हुर्किने समाज र परिवेशले निर्धारण गर्छ । कुनै पनि व्यक्तिले कस्तो जीवन बाँच्यो भन्ने आधारमा उसको सोचाइ, मनोविज्ञान र इच्छाशक्तिहरू निर्धारण हुन्छन् । मेरा कवितामा पाइने जीवन दृष्टिकोण मेरै भोगाइका प्रतिफल हुन् ।
एउटा सुन्दर कविता लेखिसकेपछि सबैभन्दा पहिले तपाईंको आफ्नै प्रतिक्रिया कस्तो हुन्छ ?
ठूलो सफलता हासिल गरेको मनोदशामा आफूलाई पाउँछु । अनि दोहार्‍याइ तेहर्‍याइ पढ्छु । त्यस्तोबेला रक्तनशाहरूमा एकप्रकारको शक्ति संचारित भएको जस्तै अनुभूति हुन्छ ।
तपाईं कविताको मूलस्रोत केलाई मान्नुहुन्छ ?
समाज अनि स–साना मान्छेहरू मेरा कविताका स्रोत हुन । इतिहासमा दविएका स्वर, बिर्सिएका पात्र र मूलधारबाट सधँै पाखा पारिरहने सबाल्टर्न सवालहरूले नै मलाई कविता लेख्न घच्घच्याइरहेको हुन्छ । यो मेरो आजको मनोदशा हो ।
‘महाभारतकी मैच्याङ’की नायिका को हुन् ?
सोझी र अशिक्षित आम किशोरी, जो अरूको प्रलोभनमा सजिलै फस्छन्, उनीहरू नै ‘महाभारतकी मैच्याङ’की नायिका हुन् । घुमघामको क्रममा ७ वर्षअघि काभ्रेको महाभारत शृंखलाहुँदै सिन्धुलीको मरिनखोलासम्म गरेको यात्राले नै यो कविताको थिम जन्माएको हो ।
कविताले जिन्दगीका सुख–दु:ख इरेजरले जस्तै मेट्न सक्छन् कि सक्दैन ?
कविता फगत अभिव्यक्ति हो । दृष्टिकोण हो । यसले आफँै दु:ख मेटाउँदैन । बरु दु:ख मेटाउने चेतना, बाटो र शक्तिचाहिँ दिनसक्छ । फेरि यो पनि सापेक्षिक हुन्छ ।
अबका कविताले सम्बोधन गर्नुपर्ने विषयहरू के–के हुनसक्छन् ?
यसको लागि त मिसन चाहिन्छ । साहित्य किन लेख्ने भन्ने प्रश्न यसमा आउन सक्छ । त्यस अनुरूपमात्रै सम्बोधनका विषयहरू निक्र्योल हुनसक्छन् । मेरो विचारमा साहित्यलाई ‘यही विषयमा लेख्नुपर्छ’ भनेर तोकिदियो भने नारा र विरोध दुवैको स्थिति हुनसक्छ । त्यो एकप्रकारले प्रभावित साहित्य हुनपुग्छ ।
अहिलेको राजनीतिक र सांस्कृतिक सापेक्षतालाई ख्याल गर्ने हो भनेचाहिँ हामीले विविधतालाई सम्मान गर्ने संस्कृति स्थापना गर्न साहित्य लेख्नुपर्छ जस्तो लाग्छ । यसो भयो भने अहिले हाम्रो राजनीतिले खनिरहेको संभावित जातीय द्वन्द्वको खाडलबाट समाजलाई बाहिर निकाल्न सकिन्छ ।
कविले कविताजस्तै जीवन बाँच्न सक्छ कि सक्दैन ?
मुख्यकुरा दृष्टिकोण र चरित्रको हो । कवितामा एउटा अभिव्यक्ति दिने अनि व्यवहारमा अर्कै देखिने प्रवृत्ति हामीमा हाबी छ । हाम्रो समाजमा भइरहेको तीव्र वर्ग–संक्रमण र त्यसले दिएको सांस्कृतिक चेतका कारण यस्तो भइरहेको हो जस्तो मलाई लाग्छ । यो समस्या हाम्रो मात्रै हैन, तेस्रो विश्वका सबै मुलुकको हो । यस्तो समस्याले हाम्रो राजनीतिलाई पनि खाइरहेको छ । समाज, राजनीति, प्रशासन, बजार सबैतिर मूल्यमान्यता स्खलन भइरहेको बेला कविमा मात्रै शुद्धता खोजेर हुँदैन । तर, स्रष्टाले समाजलाई चेतना दिने भएकाले ऊ विचलित हुनुहुँदैन भन्ने मलाई लाग्छ ।
प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया