विश्वव्यापी हावाले हामीलाई यसरी छोएको छ कि यसबाट उम्किन निकै गाह्रो छ । अहिले नेपालमा पहिचानको राजनीति जोडसँग चलेको छ । देशकै ठूलो संस्कृतिविरुद्ध साना संस्कृति लडिरहेका छन् । अर्काेतिर सम्पूर्ण मुलुक नै आकारमा आफूभन्दा ठूलो देशविरुद्ध आफ्नो पहिचान बचाउन लडिरहेको छ । नेपाल आफ्नो राजनीतिक अस्तित्व र पहिचान बचाउन संघर्षरत छ । अर्कोतिर नेपालीपन के हो भन्ने कुराको निक्र्योलका लागि दक्षिण एसियामा हामीले ठूलो संघर्ष गर्नुपरेको छ । अहिले विश्वमा भूमण्डलीकरणको मार छ । यस्तो अवस्थामा हाम्रो संस्कृतिलाई आघात पुर्याउने सामग्री आकाशबाट झरिरहेका छन् । यसको प्रतिकार गर्ने क्षमता र प्रविधि हामीसँग छैन । हामीलाई झन् बढ्ता जोखिम छ । यही समयमा हो हामीले आफ्नोपन बचाउन हतार गर्नुपर्ने । अझ नेपाल त स–साना भाषा, संस्कृति र परम्पराले भरिएको सानो मुलुक हो । साना संस्कृतिलाई मुलुककै ठूलो संस्कृतिले खान लागेका बेला विश्वव्यापी लहरले निमिट्यान्नै पार्ने डर छ । यस्ता विशम छालबाट मुलुकको पहिचान र यहाँका संस्कृतिको संरक्षणका लागि हामीले यी विषयमा अध्ययन–अनुसन्धान गरिरहनुपर्छ । गरिरहेका पनि छौँ । हाम्रो अभियानले विभिन्न भाषाका वक्ता बढाउन नसके पनि सरोकार राख्नेबीच भाषाबारे चासो बढाउन मद्दत गर्छ । यसबाट भाषालई लिपिबद्ध गराएर मुलुकको विविधतापूर्ण सम्पदा जोगाउन सक्छ ।
सिंगो नेपाली जातिको साझा संस्कार, संस्कृति, पहिचान र परिचय के हो भन्ने कुरा अहिले बहसको विषय बनेको छ । यसमा साहित्यकार र प्रज्ञा प्रतिष्ठान मात्र होइन, राज्य नै सक्रिय हुनुपर्छ । कुनै पनि जाति वा समूहको बाँच्ने आफ्नै जीवनशैली, पद्दति र प्रणाली हुन्छ । तर, हाम्रो मुलुकमा चाहिँ सानै भएपनि सयभन्दा बढी जाति र भाषा छन् । उनीहरूका आफ्नै पहिचानयुक्त प्रणाली र विशेषता छन् । यी सबैको समष्टिलाई हामी नेपालीपन भन्छौँ । यसको अर्थ सबैले आफ्नोपन बिर्सिएर एउटै पहिचान अपनाउने भन्ने होइन, सबैको समष्टिचाहिँ नेपालको साझा जातीयता र साझा राष्ट्रियता हो । यसलाई कसरी बचाउने भन्ने धेरै महत्त्वपूर्ण विषय हो । यसमा राज्य, विश्वविद्यालय, अनुसन्धान गर्ने निकाय र संकाय सबै लाग्नुपर्ने बेला आएको छ । सबैजना संगठित भएर यो गम्भीर विषयलाई थिग्य्राउनु आवश्यक छ ।
नेपाली साहित्यमा राज्यले बढी लगानी गरेकाले अन्य भाषामाथि अन्याय भएको भन्ने कुरा पनि उठिरहेको छ । यो टिप्पणी गलत भने होइन । यस्तो विचार राख्नेहरूले आफ्नो तर्क प्रमाणित गर्न १२/१३ सालको शिक्षा आयोगको प्रतिवेदन अघि सार्ने गरेका छन् । त्यसमा स्पष्ट शब्दमा ‘नेपालका साना भाषा निमिट्यान्न नपारी नेपाली भाषा बाँच्न सक्दैन’ भनिएको रहेछ । राज्यको जिम्मेवार ओहोदामा बस्ने आयोगका मान्छेले तयार
पारेको प्रतिवेदनका आधारमा राज्यले भाषिक नीति अनुशरण गर्ने हो । यसरी तयार पारिएको नीति घातक हुने नै भयो । उहिल्यैदेखि नै सबै नेपालीलाई आ–आफ्ना मातृभाषामा शिक्षा दिइएको भए पनि नेपाली भाषालाई केही हानी हुँदैन थियो । जतिनै बोल्दिनँ र सिक्दिनँ भने पनि मुलुकको साझा भाषा त आखिर नेपाली नै त हो †
शिक्षाको एकरूपताका लागि एउटै भाषालाई माध्यम बनाउनु नराम्रो कुरा थिएन । तर, राष्ट्रनिर्माणमा एउटाबाहेक अरू भाषा अनावश्यक छन् भन्ने कुरा चाँहि गैरराजनीतिक र घातक हो । मुलुकको विविधतालाई स्वीकार नगरी एकले अर्कोलाई सम्मान गर्न नसक्दा मुलुकलाई फाइदा पुग्दैन । हेर्दाहेर्दै कुसुन्डा भाषा दोहोरो बोल्नसक्ने मान्छे हराइसके । यसको चिन्ता छ त केबल भाषा विज्ञानका मुठ्ठीभर विद्वान् र भाषाप्रेमीलाई मात्र † त्यसैले पुरानो दृष्टिकोण पालेर मात्र राष्ट्रियता र राष्ट्रवाद बलियो हुँदैन ।
०००
बहिर हल्ला चल्ने गरेको छ, नेपाल प्रज्ञा प्रतिष्ठान मानिस जम्मा भएर बैठक बस्ने थलोबाहेक केही हुन सकेको छैन । तर, हामीले थुपै्र काम गरिरहेका छौँ । अहिले नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न स्थानीय भाषाको अध्ययन अनुसन्धान गर्ने, सूचनामूलक तथ्य भएका पुस्तिका छाप्ने, विभिन्न भाषाका शब्दकोष र व्याकरण निर्माण गर्ने, आदि काम गरिरहेको छ । त्यस्तै संस्कृतिको क्षेत्रमा विभिन्न जाति र जनजातिको संस्कृति, लोकवार्ताबारे लेखाउने, अनुसन्धान गराउने काम पनि सँगसँगै
भइरहेको छ । नियमित गोष्ठी गर्ने काम त हुने भइगयो । सामाजिकशास्त्र विभागबाट विभिन्न जातिको समाजशास्त्रीय अध्ययन पनि गरिँदैछ । उल्लेख्य कामचाहिँ विभिन्न जातिका सामाजिक संस्कारबारे लेखिएको किताब प्रकाशन गर्दै छौँ । त्यस किताबमा विभिन्न जातजातिका जन्मदेखि मृत्युसम्मका संस्कारबारे विस्तृत चर्चा हुनेछ । त्यसको पहिलो खण्ड यही सालभरिमा आउला कि † एक खण्डमा १५ देखि २० जातिको संस्कार समेटिएलान् । प्रतिष्ठानबाटै नेपाली बृहत् शब्दकोषको संस्करण छाप्ने र सामयिक संशोधन गर्ने काम पनि हुँदैछ । यो निरन्तर चलिरहने परियोजना हो । राम्ररी संशोधन गरेर सायद अर्को साल आउला । हामी ‘नेपाली– अंग्रेजी–नेपाली’ शदकोश पनि तयार गर्दै छौँ । मैथिली भाषाको ‘मैथिली–मैथिली,’ ‘मैथिली–नेपाली,’ ‘अंग्रेजी–मैथिली’ र ‘मैथिली–अंग्रेजी’ एउटै ग्रन्थमा निकाल्दै छौँ । भोजपुरी शब्दकोष पनि यही आर्थिक वर्षमा सकिएला । अरू स–साना भाषाका शब्दकोष पनि तयार पार्दै छौँ । हुम्लेली भोटे भाषा र केरवट जातिको भाषाका किताब पनि परिमार्जनकै क्रममा छन् । आर्थिक अवस्थाले साथ दिएसम्म हामी सबै छाप्दै जानेछौँ । यस्ता कामले नेपालको भाषा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास छ । ‘नेपाली बृहत् शब्दकोष’ बाहेक प्राय: सबै काम हाम्रै टोली आएपछि सुरु भएका हुन् ।
हामीमाथि भाषण र उद्घाटनमा बढी हिँड्ने गरेको भन्ने आरोप पनि लाग्ने गरेको छ । त्यस्ता ठाउँमा जानु र बस्नु गलत त होइन नि † सिर्जनात्मक लेखनलाई स्तरीय, गहन र स्थायी बनाउन स्रष्टाले पनि ध्यान दिनुपर्ने हुन्छ । त्यस क्रममा उनीहरूका सिर्जनाको पनि अध्ययन गर्नुपर्ने हुन्छ, उनीहरूका कुरा सुन्नुपर्ने हुन्छ । त्यस्ता कार्यक्रममा जाँदैमा सिर्जनात्मक कामतिर ध्यान दिइएन भन्ने होइन । नेपाली भाषामा उपन्यास लेख्न प्रज्ञा प्रतिष्ठानले गत वर्ष आह्वान पनि गर्यो । मातृभाषामा पनि केही सिर्जनात्मक काम भएका छन् । प्रज्ञा प्रतिष्ठानबाट
धेरैले अनेकन अपेक्षा गर्नु स्वभाविक भए पनि सबैको पूरा गर्नु त कहाँ सम्भव होला र † तर हामीले स्थापित र मापदण्ड पूरा भएका कृति छाप्दै आएका छौँ । लघु योजना संचालन गर्न गाह्रो नभएपनि ठूला परियोजनाका लागि धेरै पैसा चाहिन्छ । पैसाको अभावमा हामीले चाहेजति काम गर्न नसकेका हौँ ।
नेपाली साहित्यलाई अंग्रेजी र हिन्दीमा अनुवाद गर्ने काम पनि गर्दै छौँ । विश्व बजारमा हिन्दीको ठूलो स्थान छ । त्यस भाषामा मात्रै पनि हाम्रो साहित्य पुर्याउन सक्यौँ भने लाखौं पाठक पाउन सक्छौँ । तर, अनुवाद गर्ने दक्ष जनशक्तिलाई राम्रो पारिश्रमिक दिनुपर्ने हुन्छ । आकर्षक पारिश्रमिक दिने अवस्था नभएका कारण अनुवादकले यतापट्टि ध्यान दिन सकेका छैनन् । हिन्दी भाषको ‘रूपान्तरण’ नामक वार्षिक पत्रिका निकाल्दै छौँ । विश्वका चर्चित कृति नेपालीमा छापेका छौँ भने नेपाली कृति अंग्रेजीमा पनि छापिँदै छन् । भावानी भिक्षुको कथाको अंग्रेजी अनुवाद एउटा अवधी संस्थाले छाप्दै छ । अरूको पनि विस्तारै पालो आउनेछ ।
हामीले नेपाली साहित्यलाई मात्र ध्यान दिनुपर्ने होइन । हामीले चासो राख्नुपर्ने विभिन्न भाषामध्ये नेपाली पनि एउटा हो । तैपनि हामीलाई प्राप्त बजेटको सबैभन्दा ठूलो अंश नेपाली भाषा र साहित्यमै खर्च हुने गरको छ । हाम्रो भाग कम भयो भन्ने अरू भाषीको गुनासो पनि आइरहेका छन् । प्रतिष्ठानमा नेपाली साहित्यका गद्य, पद्य र आख्यान विभाग छन् । नेपाली भाषाको छुट्टै विभाग छ । सबै विभागमा नेपालीलाई नै माध्यम भाषा बनाएर काम गर्ने गरिएको छ । नेपाली साहित्यले भाषिक अध्ययनबाहेकका क्षेत्रका लागि विनियोजित बजेटको एक तिहाइ अंश प्रयोग गरिरहेको छ । मातृभाषा विभागले दश भागको एक भाग पनि बजेट पाएको छैन । नेपालका अन्य भाषा अध्ययन विभागले पनि धेरै रकम पाउँदैनन् । हामी अब मैथिली, लिम्बू र नेपाल भाषामा वार्षिक पत्रिका निकाल्दै छौँ । बजेट निकासा भएमा मगर र भोजपुरी भाषामा पनि चाँडै पत्रिका निकाल्नेछौँ ।
प्रस्तुति : पदम गौतम
प्रतिक्रिया