सहमति गर्न छाडेर दैलेखमा सभाः दाहाल

Prachandaकाठमाडौं, ६ माघ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरुले सहमति गरेर निर्वाचनमा जानुको साटो द्वन्द्वकालीन घटनालाई व्यूँताएर शान्ति प्रक्रिया बिथोल्न खोजेको आरोप लगाएका छन् ।
कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले कांग्रेस, एमालेलगायतका विपक्षी दलहरु सहमति खोजेर निर्वाचनमा जान नचाहेको दाबी गरे । उनले भने, ‘उनीहरु दैलेखमा गएर सभा गर्न थालेका छन्, तर सहमति गरौं भन्दा मान्दैनन् ।’
विपक्षीहरु निर्वाचनबाट भागेको आरोप लगाएका दाहालले भने, ‘छिटो भन्दा छिटो निर्वाचनमा जानुबाहेक उत्तम विकल्प अरु छैन ।’ उनले नयाँ निर्वाचन जेठमा मात्रै हुन सक्ने बताए ।
अध्यक्ष दाहालले मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी दक्षिणपन्थीहरुसँग मिलेर आन्दोलनमा जान लागेको आरोप लगाए । ‘दक्षिणपन्थी एमालेसँग साँठगाँठ गरेर बैद्यले क्रान्तिका उपलब्धिलाई बदनाम गरेका छन् ।’
वर्तमान सरकारलाई नै राष्ट्रियस्वरुप दिनु पर्ने जनाएका दाहालले सहमति हुन नसके गठबन्धन भित्रबाटै नेतृत्व खोज्नु पर्ने बताए । उनले स्वतन्त्र व्यक्तिको नेतृत्वमा निर्वाचनमा जान सकिने पनि दोहराए । उनले भने, ‘संविधानसभा पुनःस्थापनाको मुद्दालाई एमाओवादीले छाडेको छैन ।’
अध्यक्ष दाहालले पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनबाट राजनीतिक, वैचारिक तथा कार्यशैलीलाई थप परिस्कृत गरेर सुदृढ गरिने बताए ।
‘राजनीतिक, वैचारिक र संगठनिक रुपले प्रष्ट पार्टीले मात्र क्रान्तिलाई पूर्णतामा पुराउँछ,’ उनले भने, ‘परम्परागत ढंगले अघि बढ्न खोज्दा विश्वका कतिपय देशमा क्रान्तिले धक्का खाएका छन् ।’

प्रतिक्रिया