भूकम्पको जोखिममा नेपाल

Santoshप्राकृतिक प्रकोप कुनै पनि बेला कुनै पनि ठाउँमा हुन सक्छ । भूकम्प, बाढी, आगलागी आदि मध्ये अति नै डरलाग्दो प्रकोप भूकम्प हो । ‘भू’ भन्नाले जमिन र ‘कम्प’ भन्नाले हल्लिनुलाई बुझिन्छ अर्थात् भूकम्प भन्नाले जमिन वा पृथ्वी हल्लिने बुझिन्छ । भूकम्प यस्तो प्रकोप हो जो कुन कहाँ, कहिले, कतिखेर आउँछ भन्ने कुरा अहिलेसम्म पनि कुनै उपकरण वा वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् । अत: जहाँ, जहिले र जतिखेर पनि पृथ्वीमा भूकम्प आउन सक्छ । भूकम्पीय प्रकोप मुख्यतया भौगोलिक र ज्वालामुखीबाट मात्र हुन्छ । नेपालमा ज्वालामुखी नभएकाले भौगोलिक कारणबाट पृथ्वीभित्र उत्पन्न यान्त्रिक शक्ति कुनै पनि खास स्थानमा सञ्चित हुँदै जान्छ र एउटा सीमासम्म पुगेपछि भूकम्पको माध्यमबाट सतहमा उत्पन्न हुन्छ । जोडदार भूकम्पीय लहरमा उड्छन, जुन पृथ्वीको बाहिरी सतहको भित्र कुनै विन्दुबाट प्रतिसेकेन्ड कैयाँै माइलको गतिमा बाहिरी सतहसम्म आउँछ । यस्ता लहर वा तरंगले गर्दा जमिन एक्कासी फुट्न, ढल्कन, समुन्द्रमा सरेर पछि फुट्न र बडो वेगले फाटिन, भवनहरू भत्कन र पृथ्वीमा ठूला चिराहरू पर्न सक्छन् ।
नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाल, भारतीय भू–खण्ड र दक्षिणी तिब्बतीय भू–खण्डको सिमानामा पर्छ । करिब चार करोड वर्षअघि यी भू–खण्ड आपसमा ठोक्किन गई भारतीय भू–खण्ड प्रतिसय वर्ष दुई मिटरको दरले उत्तरतिरको तिब्बतीय भू–खण्डभित्र घुस्न गयो । घुस्ने क्रम अझै जारी नै छ । जसले गर्दा हिमाल पहाड तराई बनेका हुन । यी भू–खण्ड आपसमा ठोक्किई दक्षिणबाट उत्तरतिरको भू–खण्ड भित्र पसेकाले वैज्ञानिकहरूका अनुसार यसरी भारतीय भू–खण्ड तिब्बतीय भू–खण्ड भित्र पस्दै जाने हो भने नेपाल भन्ने ठाउँ अबको अर्वांै वर्ष पछि हुँदैन भन्ने कुरा गरेका छन् । यसरी भूकम्पको असर सबै ठाउँमा एकनासको हुँदैन, कमजोर भू–भाग, कमजोर घरहरू तथा अन्य भौतिक संरचना भएका र भूकम्पीयको केन्द्रविन्दुबाट नजिक रहेका स्थानहरूमा भूकम्पको असर बढी हुन्छ । यसैगरी धेरै भिरालो जमिन, पहाड समुन्द्र तथा नदी किनाराका भागहरू धराप र कमजोर जमिनमा भूकम्पको असर बढी देखिन्छ । प्रत्येक वर्ष विश्वमा करिव तीन लाख भूकम्प जाने गर्छन् । भाग्यवश धेरै जसो शक्तिशाली हुन्छन् वा ती मानव बसोबास नभएको क्षेत्रमा हुने जाने गर्छन् । नेपाल भूकम्पीय दृष्टिले अति नै संवेदनशील क्षेत्र भित्र पर्दछ । वि.सं.१९९० माघ दुई गते दिनको २ बजेर २४ मिनट २२ सेकेन्ड जाँदा नेपालको पूर्वी क्षेत्रको चैनपुरमा केन्द्रविन्दु भएको ८.३ रेक्टर परिमाणको भूकम्प भएको थियो जसमा आठ हजार पाँच सय उन्नाइस जनाको मृत्यु र दुई लाख सात हजार चालिस (घरवास, देवालय, पाटीपौवा) संरचना भत्किएका थिए । १९९० सालको भूकम्पको स्मरणमा ०५५ साल माघ २ गते देखि नेपालमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।
विश्वको इतिहासलाई हेर्दा संसारमा सन् ५२६ देखि सन् १९७६ सम्ममा दश ठूला भूकम्प गएको देखिन्छ । त्यसैगरी हाम्रो मूलुकमा वि.सं.१३१० देखि ०४५ सम्म १० वटा भूकम्प गएको इतिहास छ । भूकम्पविदहरूले अर्को एक ठूलो भूकम्प भविष्यमा कुनै पनि बेला आउन सक्ने भविष्यवाणी गरेका छन् । यस्तो भूकम्प आएको खण्डमा काठमाडांै उपत्यकामा मात्र दुई लाख १० हजार देखि चार लाखसम्म मानिसको निधन हुन सक्ने विभिन्न अध्ययनबाट पुष्टि हुन आउँछ । यो अध्ययन एक दशक अगाडि गरेको र त्यस पछि काठमाडौंको जनसंख्या पनि दिन प्रतिदिन वृद्धि हुँदै गएको हुनाले यो भन्दा बढी हुनसक्ने अनुमान गर्न सकिन्छ । ऐतिहासिक तथ्यलाई अवलोकन गर्ने हो भने हाल ७० देखि १०० वर्षसम्ममा भूकम्प दोहोरिने देखिन्छ । नेपालमा सन् १९९० सालको भूकम्प आएको ७३ वर्ष पुगिसकेको छ । अब, फेरि त्यो दिन दोहोरिने हो कि भन्ने शंका छ । अत: भूकम्पलाई पक्कै पनि रोक्न त सकिँदैन तर यसबाट हुन सक्ने धनजनको क्षतिलाई भने पक्कै पनि कम गर्न सकिन्छ । जसका लागि सरकारी तथा गैरसरकारी संस्था, प्राथमिक स्तरका कक्षा देखि भूकम्पसम्बन्धी पाठ्यपुस्तक राख्नुपर्ने अति आवश्यकता छ भने सरकारी नीतिमा पनि हेरफेर गर्नु आवश्यक छ । जस्तो कि भवन बनाउँदा भवन आचार संहिता लागू आवश्यक रूपमा लागू गर्नुपर्ने जस्ता नियम सरकारले लगाएको खण्डमा पनि यसबाट भोलि हुनसक्ने क्षतिलाई पक्कै पनि कम गर्न सकिन्छ ।
(लेखक सिभिल इन्जिनियर हुन् ।)

प्रतिक्रिया