विद्यालयमा ३२ लाख भ्रष्टाचार

बाग्लुङ, १४ पुस । बाग्लुङको दुदिलाभाटीस्थित एक विद्यालयका प्रधानाध्यापकले लाखौँ रुपियाँ हिनामिना गरेका छन् । सरस्वती उच्च मावि दुदिलाभाटीका प्रधानाध्यापक रनबहादुर घलेले विद्यालयको भौतिक संरचना निर्माणलगायत विषयमा ३२ लाख रुपियाँ हिनामिना गरेको अभिभावकको आरोप छ । घलेले विद्यालयको रकम हिनामिना गरेको व्यापक गुनासो आएपछि गत असोज ३० गते गाउँमा आमभेलासमेत बोलाइएको थियो । भेलामा अनियमितताको विषयलाई लिएर व्यापक आलोचना र दबाब बढेपछि उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । विद्यालयका अभिभावक मनबहादुर कँुवरको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ । स्थानीय सागर कुँवरले विद्यालयको सार्वजनिक रकम कहाँ, के र कसरी दुरुपयोग गरिएको छ भन्नेबारे गम्भीर अध्ययन र छानबिन हुन जरुरी रहेको बताए ।
छानबिन समिति गठन गरेपछि प्रधानाध्यापक घलेले आफूलाई एकोहोरो पेल्न खोजेको भन्दै ९ पुसमा प्रधानाध्यापकबाट राजीनामा दिएका छन् । उनी गत वैशाखमा प्रधानाध्यापक नियुक्त भएका थिए ।
छानबिन समितिले दुई महिना लगाएर तयार गरेको अध्ययन प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ । प्रतिवेदनमा तत्कालीन प्रधानाध्यापक घलेको नाममा ३२ लाख ६० हजार तीन सय ३३ रुपियाँ बेरुजु रहेको उल्लेख गरिएको छ । प्रधानाध्यापक घलेले विद्यालय व्यवस्थापन समिति, आर्थिक समिति तथा भवन निर्माण समितिलाई नसोधी मनोमानी ढंगले आर्थिक चलखेल गरेको समितिको ठहर छ । हाल विद्यालयको खातामा दुई करोड १२ लाख सात हजार पाँच सय ९१ रुपियाँ रहेको छानबिन समितिले बताएको छ । तर, आरोपित प्रधानाध्यापक घलेले भने राजनीतिक प्रतिशोधको आधारमा आफूलाई अनावश्यक आरोप लगाइएको दाबी गरेका छन् ।
‘प्रतिवेदनमा कुनै सत्यता छैन । भिन्न विचार राख्ने भएकाले राजनीतिक प्रतिशोध लिने काम मात्रै भएको छ,’ घलेले भने । राष्ट्रिय जनमोर्चानिकट व्यक्तिले आफूलाई आरोपित गरेकाले पहिले नै आफूले राजीनामा दिएको घलेको भनाइ छ ।

प्रतिक्रिया