चार/पाँच वर्षदेखि प्रत्येक सरकारले धेरै अपराधीका मुद्दाहरू फिर्ता लिएको लियै गर्यो । अधिकांश जघन्य अपराध (हत्या, बलात्कार, अपहरण, डाँका) मुद्दाहरू थिए । पीडितहरू झन्–झन् अपमानित र अपराधीहरू सम्मानित भएको देखियो । नेपाल अपराधीका लागि स्वर्गभूमि बन्यो । अपराधीका मुद्दा फिर्ता लिएको विरोधमा ‘अपराध, भ्रष्टाचार र आतंकवादविरुद्ध अभियान–नेपाल’का पदाधिकारीहरू पुस ६ र ७ गते रत्नपार्कमा अनसन बसेका थिए । आश्चर्यको विषय एउटा के भयो भने रत्नपार्कमा अनसन बसेको विषय समाचार बन्नलायक ठहरिएन । कुनै अखबारले लेखेन, कुनै टिभीले देखाएन र कुनै रेडियोले प्रसारण पनि गरेन । जबकि, सबैतिर अघिल्लै दिन फ्याक्स, इमेल गरिएको थियो । आठ गतेका धेरैजसो अखबारहरूमा फिल्म र टेलिसिरियलमा काम गर्ने रंगकर्मीहरू गोदाबरीमा पिकनिक गएको, पिकनिकमा आर्यन नामका हिरोसँग केटीहरू टास्सिइरहेको, अझ कसैले म्वाइँ खाइरहेको शव्दचित्रको स्वादिलो वर्णनसहित तीन कोलमसम्मका समाचार छापेका थिए । तर, बजारमा तात्तातै बिक्ने सेलिब्रेटी अनुहारहरू रत्नपार्कको अनसनमा बसेका थिएनन् । त्यहाँ कल्याणदेव भट्टराई, विकेस श्रेष्ठजस्ता प्रौढहरू अथवा विकास खड्का, वुद्धि कट्टेल, श्रीकमल द्विवेदी जस्ता भद्र अभियन्ताहरू पनि सहभागी थिए ।
भूमण्डलीकरणको बजारवादले चासोका विषयहरू तोकिदिएको छ । अन्नपूर्ण राणाले सेयर गरेकी अन्तरंग सम्बन्धका ‘हट एन्ड सावर’ अनुभवहरू, ‘पोलिटिकल एक्टर’का भावभंगीमा नमिलेका नौटंकीहरू, फिल्मी हिरो–हिरोइनहरूले तन्ना फेरेजस्तै फेरफार गरिरहने अवैध सम्बन्धका किस्साहरू, ४–५ इन्च कपडाको भरमा फेसन र्यापमा क्याटवाक गरिरहेका मोडेलहरू, मदिराको नसामा लठ्ठ भएर अंग्रेजी धुनमा झुमिरहेका युवा–युवतीका ‘बडी एक्स्प्रेसन’, सुन्दरी प्रतियोगिताको लागि आधा पेट खाएर सुकाएको शरीर टाँग्दै निर्देशित मुस्कान फालिरहेका बालाहरू वर्तमान बजारको लागि चल्तीका विषय बनेका छन् । यही बजारी दुनियाँमा आफ्नो स्थान सुरक्षित गरेकाले मिडियाले पनि बजारकै हावा बुझेर कुनै पनि विषयलाई कभरेज गर्नुअघि त्यसमा नामी–दामी अनुहार खोज्छ र बाँकी सबै काँटछाँट गर्छ । नामी–दामी अनुहारहरूसँग आमजनताका लागि समय बच्दैन, र नामी–दामी अनुहार नभई मिडियाले कभरेज गर्दैन । सभ्य संसारको निर्माण र मूल्यहरू थोत्रा, झ्याम्टा र बजारमा नमिल्दा देखिन थालेका छन् ।
दुई वर्षअघि विहारीकृष्ण श्रेष्ठले ५० लाख ‘सोसल साइन्स वहाँ’लाई प्रदान गरे । त्यो समाचारलाई कुनै–कुनै अखबारले भित्री पृष्ठको कुनामा स्थान दिएका थिए । चेपाङका सन्तानले पढ्न पाउन् भनेर किशोरचन्द्र ढुंगानाले चितवनको अन्त्योदय माध्यमिक विद्यालयलाई ४ बिगाहा जग्गा दिएका थिए । त्यो पनि त खबरलायक ठहरिएको थिएन ।
‘मौसमअनुसारको ट्युनिक’ भने भैँm मिडियालाई पनि हरेक परिवर्तित सन्दर्भमा एउटा नायक र खलनायक चाहिन्छ, नपाए आपैँm निर्माण गर्छ, जुन तात्तातै बजारमा बिकोस् । १०/११ वर्षअघि ऋतिक रोशनलाई खलनायक बनाएर ठूलै किस्सा गढेको थियो ।
करिब तीन वर्षअघि इन्डियन न्युजच्यानल हेर्दै थिएँ । मिडियाको सन्दर्भमा हरियाणाका मुख्यमन्त्री भूपेन्द्र सिंह हुड्डाले भने– ‘रोहतकमा विपक्षी दलको सानो जनसभा थियो । भोलिपल्ट राष्ट्रिय दैनिक (हिन्दी)को प्रथम पृष्ठमा प्रकाशित खबर अतिरञ्जनापूर्ण थियो । वास्तविकतामा पचासौँ गुणा बढाएर भीडको संख्या उल्लेख थियो । मैले प्रकाशकलाई फोन गरेँ । उनले, ‘पैसा दिएर छपाएको न्युज हो, एकप्रकारको विज्ञापन नै सम्झनुहोस् न’ भने । यो सुनेर म छक्क परेँ † र ‘के पैसा दिएर जे पनि छपाउन सकिन्छ त ?’ भनेर सोधेँ । उनले, ‘एकदमै सकिन्छ, तर प्रकाशित सामग्रीको जिम्मा उसैको हुन्छ’ भने । मैले, ‘त्यसो हो भने भोलिको लागि पहिलो पृष्ट बुक गर्नुहोस्, र त्यसमा, ‘यो अखबारमा झुठा खबरहरू प्रकाशित हुन्छ’ भनेर ठूलो अक्षरमा लेखिदिनुहोस् भनेँ । प्रकाशकले, ‘तपाईं यो कस्तो कुरा गर्नुहुन्छ ?’ भने । मैले, ‘पैसा तिरेर जब अरू झुठ छाप्नुहुन्छ भने योचाहिँ किन नहुने ? यो पनि मेरै जिम्मामा छापिदिनुहोस्’ भनेँ । त्यसबेला भारतमा ‘पेडन्युज’ एकाध घटना नभएर आम रूपमा भइसकेको थियो । ‘समाचारको भेषभुषामा पार्टी नेताको महात्म्य’ले पाठकहरूलाई सही र गलत छुट्याउन मुस्किल परिरहेको थियो । नेपालमा जातपात, धर्म, सम्प्रदायको राजनीति गरेर पनि कम्युनिस्ट पार्टी भइरहेजस्तो भ्रम र भ्रान्ति व्याप्त थियो । ‘पेडन्युज’ राष्ट्रिय समस्या बन्न लागेको देखेर केही प्रभावशाली व्यक्तिले आवाज उठाएकाले न्युज च्यानलले बहसको आयोजना गरेको थियो ।
टिभीको न्युज च्यानलले बहस गरायो भनेर टिभीचाहिँ शुद्ध, पवित्र छन् भन्न खोजिएको पनि होइन । अखबारहरूले जहाँ ‘स्पेस’ बेचिरहेका हुन्छन्, त्यहीँनिर टिभीले ‘टाइम’ बेचिरहेका हुन्छन् । १६ वर्षअघि नेपाल टिभीले ९० मिनेटको समय इमेज च्यानललाई बिक्री गरेपछि सुरु भएको क्रय–विक्रय कर्म अहिले आम बनिसकेको छ । यसलाई तर्कले पुष्टी गर्न त सकिएला । उपभोक्तावादी संस्कारले ग्रस्त बजारको एकछत्र राजमा क्रय–विक्रय नै एकमात्र आधार बन्न पुगेको हुन्छ । जोसँग जे छ त्यही बेचिरहेको हुन्छ । युवाहरू, विशेषगरी युवतीहरू यौवन बेचिरहेका हुन्छन् । राजनीतिक नेताहरू ढोंग, पाखण्ड बेचिरहेका हुन्छन् । पण्डाहरू रुढी र अन्धविश्वास बेचिरहेका हुन्छन् । व्यापारीहरू उत्तेजना बेचिरहेका हुन्छन् । कर्मचारीहरू बाध्यताको माखेसाङ्लो बेचिरहेका हुन्छन् । जसले बेच्न जान्दैन त्यसको अर्काले लुटिरहेको हुन्छ । सिधासादा युवतीलाई गुन्डाले बलात्कार गर्छ । सिधासादा जनताको विश्वासमाथि नेताले घात गर्छ ।
क्रय–विक्रय सामान्य व्यवहार भए पनि मिडियाको ‘टाइम बिक्री’ र ‘स्पेस बिक्री’ले केही अप्ठेरा प्रश्न पनि उब्जाएको छ । टिभी र रेडियोले समय बिक्री गरेपछि व्यवस्थापनको हातबाट अन्तर्वस्तुमाथिको नियन्त्रण गुम्छ । धनीको हातमा लगाम पुग्छ र पैसा शिरमाथि चढेर बोल्न थाल्छ । यसो बसिबियाँलो र सोखमा थोरै मौसमी सामाजसेवा गरेको देखाउनेहरू धनको बलमा चर्चाको केन्द्रमा आइपुग्छन् । उरन्ठेउला नेताका मनोगत, उट्पट्याङ् कुरालाई बौद्धिक लेपन लगाएर रोचक परिकार बनाउन मिडियाकर्मीहरू अभिशप्त हुन्छन । स्वार्थबाट धेरैमाथि उठेर समाज, राष्ट्र र सभ्यताको लागि जीवन समर्पित गरेका अभियन्ताहरू ओझेलमा पर्छन् । सामाजिक न्यायका मुद्दामा सुक्ष्म विश्लेषण र विमर्श असान्दर्भिक बन्न पुग्छ । विवेक र न्यायिक चेत किनारा लाग्छन् । सभ्यता निर्माण र मूल्यका कुराहरू कार्यसूचीबाट हटाइन्छन् । किन यस्तो गरिन्छ भने बजारमा ती बिक्दैनन् ।
जघन्य मुद्दाहरू फिर्ता लिएको बिरोधमा रत्नपार्कमा अनसन बसेको कार्यक्रमलाई मिडियाले ‘व्ल्याकआउट’ गर्यो भनेर चित्त दुखाउनुभन्दा मिडियाको बाध्यता र विवशतालाई बुझिदिनु बुद्धिमानी हुन्छ । ‘गिताञ्जली’मा रविन्द्रनाथ टैगोरले, ‘तिम्रो कुरा कसैले सुन्दैन भने तिमी एक्लै हिँड’ भनेको सन्देशलाई मनन गरेर विकास खड्का, कल्याणदेव भट्टराई, श्रीकमल द्विवेदी, डा.प्रदीप ढकाल, बुद्धि कट्टेल, विकेस श्रेष्ठ, केशवलाल श्रेष्ठ, लक्ष्मी तामाङ, इन्द्र श्रेष्ठजीहरू कम्मर कसेर अघि बढिसकेको देखेँ । सँगसँगै रत्नसंसार श्रेष्ठ, योगेश डंगोल ‘आदी’, चन्द्र खरेल, राजेन्द्र सुवेदी, तरुण पौडेल, भावना पाण्डेजीहरू अभियानमा मिसिएको पाएँ । सवाल मिडियाको होइन, सवाल राष्ट्रको पीडाको हो । राष्ट्रको पीडालाई सम्बोधन गर्न खोजेको हो भने जनताले अवश्य साथ दिनेछन्, त्यसमा कुनै शंका छैन ।
प्रतिक्रिया