नेपाल विद्युत् प्राधिकरणमा भइरहेको राजनीतिकरणले मुलुकको समग्र क्षेत्रमा नराम्रो प्रभाव पारिरहेको छ । विगतदेखि नै राजनीतिक नेतृत्वबाट यसको स्रोतसाधनको चरम दुरुपयोग भइरहेको अवस्था छ । बहालवालादेखि भूपू प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थ अधिकारीलगायत नेताहरूका आफन्तहरूले समेत प्राधिकरणका सवारीसाधन, इन्धन, चालकसमेत प्रयोग गरिरहेका छन् । राजनीतिक दलका कार्यकर्ता भर्तीकेन्द्र बनेको नेपाल विद्युत् प्राधिकरणको समग्र पुनर्संरचना गर्न जरुरी छ । विद्युत् विकासका नाममा यसको स्रोतसाधनको दुरुपयोग गरेर राज्यको ढुकुटी रित्याउने काम हाम्रो राजनीतिक नेतृत्वबाटै भइरहेको छ । परियोजनाको लागत र समयावधि बढाएर पूर्वसम्झौताभन्दा बढी रकम ठेकेदारलाई दिएर आफ्ना विभिन्न स्वार्थ पूर्ति गर्ने प्रवृत्ति हाम्रो राजनीतिक नेतृत्वमा हावी छ । यसले प्राधिकरणलाई नाफामुखी होइन, कंगाल बनाउन खोजिएको पुष्टि हुन्छ । तसर्थ, सर्वप्रथम विद्युत् प्राधिकरणलाई राजनीतिक हस्तक्षेपमुक्त गरिनुपर्छ । सामान्य मिटररिडरदेखि माथिल्लो तहसम्म कर्मचारी नियुक्त गर्दा सक्षम, इमानदार योग्य, अनुभवी र निष्पक्ष तबरबाट गरिनुपर्छ । जुन राजनीतिक दल सत्तामा आउँछ, उसकै कार्यकर्ता भर्ती गर्ने संस्कृतिको अन्त्य गरिनुपर्छ । साथै, यसको व्यवस्थापकीय प्रणाली, सुधार, वितरण प्रणाली तथा भावी कार्ययोजनालगायत सबै क्षेत्रमा आवश्यक सुधार गरिनुपर्छ ।
प्रतिक्रिया