के चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत फेर्दैमा ‘हात्ती आतंक’ समाधान होला ?

विशेष गरेर ‘धु्रवे’ मार्न र हात्ती आतंक रोक्न भनेरै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत ‘चिफ वार्डेन’ फेरिएकाले नयाँ वार्डेनबाट बढी अपेक्षा गरिएको छ । यो स्वाभाविक पनि हो । तर, यो नै समस्याको स्थायी समाधान होइन । एउटा ‘ध्रुवे’ हात्ती मार्दैमा फेरि–फेरि हात्तीबाट आक्रमणका घटना नहोलान् भन्ने छैन । जंगलमा धेरै हात्ती हुन्छन् । समागमको बेला (सेक्सुएल पिरियड) मा सबै हात्ती आवेगमा हुन्छन् । त्यो बेला पोथी हात्ती नभेटेमा वा यौनसम्पर्क गर्न नपाएमा हात्ती हिंस्रक हुन्छ, जुन हात्तीको प्राकृतिक गुण हो । हिंस्रक भएका बेला हात्तीले रूख भाँच्ने, ठूलो आवाजमा कराउने, हात्तीलाई नै आक्रमण गर्ने गर्छ । त्यसै बेला मानिस नजिक परेमा पनि उसको आक्रमणमा पर्नु नौलो होइन । जंगलनजिकको बस्तीमा यस्तो जोखिम हुनु र हात्तीले आक्रमण गर्नु सामान्य हो । सेक्सुएल पिरिएडको मत्ता हात्तीले मानिस मार्‍यो भनेर हात्तीलाई मारेर समस्याको समाधान हुन्न । बरु त्यसको साटो मानिसलाई जंगलसम्म नपुग्ने र हात्तीलाई बस्तीसम्म नपुग्ने वातावरण बनाउनेतर्फ लाग्नुपर्छ । जंगल हात्तीको घर भएकोले मानिसले त्यसलाई बिथोल्दा हात्ती जाइलाग्नु स्वभाविक हो । आफ्नो घर बिगार्ने जो कोहीलाई मानिसले बाँकि राख्छ र ? निकुञ्ज आसपासका बासिन्दालाई हात्ती मारेर समस्या समाधान हुन्न भन्ने सिकाउनु पर्छ र हात्तीलाई घरघरसम्म नआइपुग्ने वातावरण बनाउन के गर्नुपर्छ सिकाउनु आवश्यक छ । यो नै मानिस – जंगली जनावरबीचको द्वन्द्व समाधान गर्ने स्थायी समाधान हो ।

प्रतिक्रिया