डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुनुभन्दा पहिले आम नेपाली सर्वसाधारणलगायत सबैले उहाँबाट ठूलो अपेक्षा गरेका थिए । नेपालको निकट छिमेकी मुलुक भारतको प्रसिद्ध विश्विद्यालयबाट विद्यावारिधि गरेर विद्वान् कहलिएका उहाँबाट धेरैले अपेक्षा गर्नु पनि स्वाभाविक नै थियो । उहाँको शैक्षिक पृष्ठभूमि र संविधानसभापछि बनेको सरकारमा सफल अर्थमन्त्रीको भूमिकाले पनि उहाँमाथि धेरैले आशा र विश्वास पनि गरेका थिए । अहिलेको अवस्थामा मुलुक शान्ति, सहमति र सहकार्यको मार्गबाट अगाडि बढ्नुपर्ने बेलामा मुलुक द्वन्द्वतर्फ धकेलिइरहेको छ । सञ्चारमाध्यमले शासन, अर्थतन्त्रलगायत विविध अवस्था हेरेर सरकार तथा शासकको समर्थन तथा आलोचना गर्ने हुन् । अहिलेको अवस्थामा प्रधानमन्त्री भट्टराईजस्ता विद्वान्ले मुलुकलाई सहमति, सम्झौता र सहकार्यको भावनाबाट मुलुकलाई सही मार्गमा डोर्याउन सक्नुपथ्र्यो । सबै राजनीतिक दलहरूलाई सहमतिमा ल्याएर मुलुकसामु रहेका बाधा, व्यवधान र समस्याहरूलाई समाधान गर्नेतर्फ उहाँले पहलकदमी गर्नुपथ्र्यो । विडम्बना, त्यो अहिले हुन सकिरहेको छैन । यसले गर्दा विगतमा धेरैले आशा, विश्वास र भरोसा गरेका भट्टराई सर्वसाधारणलगायत सञ्चारमाध्यम सबैबाट नकारात्मक रूपमा प्रस्तुत हुन पुगेका हुन् ।
प्रतिक्रिया