राष्ट्रपतिद्वारा चार दलसँग परामर्श

काठमाडौं, ८ पुस । पाँचौं पटक दिएको समयसीमा सकिए लगत्तै राष्ट्रपति डा.रामवरण यादवले आज प्रमुख चार दलका नेताहरुसँग परामर्श गरेका छन् ।
डा.यादवले आफ्नै कार्यालय शीतल निवासमा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुसँग सहमतीय सरकार र निर्वाचनका बारेमा परामर्श गरेका हुन् । डा.यादवले दलहरुसँग असन्तुष्टी जनाउँदै छिटो सहमतीय सरकार बनाउँन आग्रह गरे ।
भेट पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले अध्यक्ष झलनाथ खनालले भालि (सोमबार) सम्म राजनीतिक निकास आउने बताए । ‘भोलि सम्म सहमतिको प्रधानमन्त्री आउने सम्भावना छ,’ उनले भने ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि भोलि (सोमबार) सम्म सहमतीय सरकारका लागि दाबी प्रस्तुत गर्ने बताए । सहमतिमा प्रधानमन्त्री उम्मेदवार दिने विषयमा राष्ट्रपतिसँगको छलफल सकारात्मक रहेको उनले बताए ।
राष्ट्रपतिले उलब्ध गराएको झण्डै एक महिनाको समय सकिन लाग्दा समेत दलहरुले सहमतीय सरकारका लागि प्रधानमन्त्रीको नाम पठाउन सकेका छैनन् ।

प्रतिक्रिया