बाबुरामजी नै प्रधानमन्त्री रहनुपर्छ भन्ने छैन

राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल गर्न आज(शनिबार) मधेसी मोर्चाको बैठक बसेको थियो । के–के निर्णय गर्नुभयो ?
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकबाट हामीले कुनै पनि हालतमा आगामी वैशाखमा संविधानसभाको चुनाव हुनुपर्छ र त्यो चुनाव गराउन आवश्यक सबै कुरासहितको एउटा प्याकेज तयार गरेका छौँ । त्यो प्याकेजमा सहमति हुनुपर्छ र सहमतिको चुनावी सरकार बनाउनुपर्छ । जसले आगामी वैशाखमा संविधानसभाको नयाँ चुनाव सम्पन्न गर्नेछ ।
के–के कुरा राख्नुभएको छ प्याकेजमा ?
पहिलो कुरा हामीले के खोजेका हौँ भने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको ग्यारेन्टी हुनुपर्छ । त्यसका लागि वैशाखमा चुनाव हुनुपर्छ । चुनावका लागि सबै तयारी जस्तै : मिति निर्धारण, प्रत्यक्ष निर्वाचनका लागि २४० सिटलाई कायम राख्दै सहमतिका आधारमा समानुपातिक सिट संख्या तोक्नुपर्ने, चुनावका लागि आवश्यक ऐन–कानुनको व्यवस्था गर्ने, विगतको संविधानसभामा भएका सहमति/असहमति सबै विषयलाई अर्को संविधानसभाको सम्पत्ति बनाउने र छलफलमा लगिनुपर्ने, निर्वाचन आयोगलगायत संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति गर्ने, गत संविधानसभाको चुनावमा जुन मतदाता सूची प्रयोग भयो त्यसलाई अद्यावधिक गर्नुपर्नेलगायत विषय प्याकेजमा समावेश गरिएका छन् ।
अनि, राष्ट्रिय सहमतिको सरकार गठनबारे चाहिँ के हो मधेसी मोर्चाको धारणा ?
सरकार गठनका सम्बन्धमा हामीले तीनवटा ‘अप्सन’ अघि सारेका छौँ । पहिलो बाबुराम भट्टराई नेतृत्वकै वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिने, अर्को गठबन्धनभित्रकै कुनै नेताको नेतृत्वमा चुनावी सरकार बनाउने र तेस्रोचाहिँ हामीले अगाडि सारेको प्याकेजलाई स्वीकार गर्ने जोसुकैको नेतृत्वमा पनि सहमतिको सरकार गठन गर्न सकिने । राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा मधेसी मोर्चा कुनै पनि हिसाबले बाधक देखिनुहुन्न भनेर हामीले आज(शनिबार) तेस्रो ‘अप्सन’ पनि अगाडि सारेका हौँ । सरकार गठनका विषयमा मोर्चाले कसैप्रति आग्रह–पूर्वाग्रह राख्दैन । हाम्रो प्याकेजमा सहमति जनाउने जोसुकैलाई पनि हामी प्रधानमन्त्रीमा स्वीकार गर्न तयार छौँ । यो लाइनमा हामीले आज निर्णय गरेका छौँ ।
तपाइंहरूले प्याकेजमा राखेका विषय पूरा भएपछि मात्रै नयाँ सरकार बनाउने हो कि नयाँ सरकारले नै ती काम गर्ने भन्ने हो ?
होइन, सबैभन्दा पहिला प्याकेजमा सहमति हुनुपर्‍यो । सहमति भएपछि सरकार गठन गर्ने हो । जस्तो : वैशाखमा निर्वाचन गर्ने ग्यारेन्टी हुनुपर्‍यो । त्यसका लागि निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्ति गर्नुपर्ला । यसकारण हाम्रो भनाइ के हो भने, पहिला प्याकेजमा सहमति हुनुपर्‍यो अनि, गर्नुपर्ने काम गर्नुपर्‍यो । खाली सरकारबारे मात्रै सहमति गर्नुहुन्न भन्ने हाम्रो मान्यता हो । प्रधानमन्त्री मात्रै परिवर्तन गरेर मुलुकले निकास पाउँदैन । सरकार र प्रधानमन्त्री मात्रै ठूलो कुरा होइन । आगामी वैशाखमा चुनाव गराउने र त्यसका लागि सहमतिको सरकार बनाउने मुख्य कुरा हो अहिलेको ।
सरकार र प्रधानमन्त्री ठूलो कुरा होइन भने मधेसी मोर्चा र प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठनमा किन अप्ठ्यारो पारिरहेको त ? कांग्रेस–एमालेसहितका विपक्षी दलहरू मात्रैले नभएर सरकारमा तपाईंहरूको नेतृत्व गरिरहेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले समेत यस्तो अरोप लगाइरहेका छन् नि ?
मधेसी मोर्चा कहिल्यै सहमतिको बाधक भएन र हुनु पनि हुँदैन । र, बाबुरामजीलाई पनि सहमतिको बाधक नै हो त कसरी भन्ने ? उहाँले सम्मानजनक बहिर्गमन खोज्नुभएको हो । कांग्रेस–एमालेले उहाँलाई अछुतजस्तो व्यवहार गरिदिने, अनि बाबुरामजी गएर सम्मानका साथ माला लगाइदिने त पक्कै गर्नुहुन्न । यो कुरा अहिले उठेको छ । त्यसैले निषेधको राजनीतिले सहमतिको राजनीतिलाई बाधा पुर्‍याउँछ । निषेधको राजनीतिबाट सहमतिमा पुग्नै सकिन्न । निषेधले निषेध नै गर्छ, सहमति गर्दैन । अब अहिले कांग्रेस–एमालेले एमाओवादी हुँदैहुँदैन भन्छन् अनि अरूले पनि हुँदैन भन्नु स्वाभाविकै हो । यो निषेधको राजनीति भयो भन्ने मेरो बुझाइ हो । यिनै कुराले सहमतिलाई बिगार्छ । अहिलेको सहमतिको मुख्य बाधक नै यही हो । त्यसैले एकअर्कालाई निषेध गर्ने प्रवृत्ति त्याग्नुपर्छ ।
एमाओवादीका अध्यक्षले त सरकार गठनबाहेकका सबै विषयमा सहमति भइसक्यो भनिरहेका छन् नि ?
सबैमा भए पनि सरकार गठनमा खै त भएको ? बाबुरामजीले त अहिले पनि भनिराख्नुभएको छ नि † हामी अछुत हौँ र ? हाम्रो नेतृत्वमा पनि आउनुहोस् अनि हामी पनि तपाईंको नेतृत्व मानौँला भनेर । तर, कांग्रेस–एमालेले मानिरहेका छैनन् । स–सम्मान बहिर्गमनको कुरा उठेको छ अहिले । त्यो कसरी गराउने ? विभिन्न उपाय होलान्, तिनीहरूमाथि छलफल गर्नुपर्छ । र, उहाँको सम्मानजनक बहिर्गमन गर्नुपर्छ ।
बाबुरामजीलाई त मधेसी मोर्चाले उचालिरहेको आरोप छ नि ?
होइन त्यस्तो । मोर्चाले किन उचाल्छ र उहाँलाई ? हामीले उहाँ नेतृत्वकै सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिन सकियो भने सबैभन्दा राम्रो भनेका हौँ । तर, जुनसुकै हालतमा बाबुरामजी नै प्रधानमन्त्री रहनुपर्छ अरू कसैको नाममा सहमति हुनै सक्दैन भनेर त मोर्चाले भनेको छैन । मोर्चाले त सबै विकल्प खुला गरिदिएको छ । सबै विषयमा खुला छलफल गर्न मोर्चा तयार छ । सर्त एउटा मात्रै हो–आगामी वैशाखमा संविधानसभाको चुनाव गराउनुपर्छ ।
वैशाखमा चुनाव हुनुपर्छ भनेर त सबै दलले भनिरहेका छन् नि ?
भन्न त सबैले भनिरहेका छन् । तर, चुनावका लागि तयारी गर्नुपर्‍यो नि † त्यसका लागि प्याकेजमा सहमति गर्नुपर्‍यो, मुखले मात्रै चुनाव गर्ने भनेर त हुने होइन ।
त्यसका लागि त तपार्इंहरू पनि सहमतिमा आउनुपर्ला नि ?
हामी त सहमतिमा आउन तयार नै छौँ । मधेसी मोर्चा कहिल्यै सहमतिको बाधक बनेन र अब पनि बन्दैन ।
प्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेस सुशील कोइरालालाई गम्भीर आरोपसमेत लगाएर कुनै पनि हालतमा प्रधानमन्त्री स्वीकार नगर्ने भनेका छन् । मधेसी मोर्चाले पनि त्यसमा मौन स्वीकृति जनाएजस्तो देखिएको छ नि ?
सुशील कोइरालाप्रति त्यो बाबुरामजीको आºनो धारणा होला तर मधेसी मोर्चाले सुशीलजी हुँदैहुँदैन भनेर त कहिल्यै भनेको छैन । मोर्चाले त प्याकेजमा सहमति हुने हो भने जोसुकैलाई पनि मान्न सकिन्छ भनेर निर्णय गरेको छ आज(शनिबार) । त्यसैले त्यो विकल्पमा सुशीलजी पनि आउन सक्नुहुन्छ, अरू पनि आउन सक्नुहुन्छ । हामी त्यसमा खुला छलफल गर्न तयार छौँ ।
मधेसी मोर्चाले पनि प्रधानमन्त्रीको दाबी गर्दै आइरहेको थियो । अबचाहिँ छाडेको हो ?
छाडेको होइन । सबै विकल्प खुला गरेको हो । कुनै एकजनाको बारेमा सहमति हुन सकेन भने मुलुकलाई नै संकटकमा पार्ने ? के चुनाव नै नगर्ने ? निषेधको राजनीति कसैले गर्नुहुन्न भन्ने हो । वैशाखमा जुनसुकै हालतमा पनि चुनाव हुनुपर्छ ।
वैशाखमा चुनाव हुनुपर्छ भन्ने मोर्चाको बटमलाइन हो ?
हो, वैशाखमा चुनाव हुनुपर्‍यो । दलका नेताहरूको नाममा सहमति भएन भने बाहिरबाट खोजेर भए पनि चुनाव गर्नुपर्‍यो । किनभने मुलुकको निकासका लागि संविधानसभा चुनावको विकल्प छैन ।
सरकारको नेतृत्व गरिरहेको एमाओवादी अध्यक्ष नै यो सरकार हटाएर नयाँ सरकार बनाउने तयारीमा किन लागेका होलान् ?
होइन, त्यसरी पनि व्याख्या गर्नुहुन्न । प्रचण्डजीले पटक–पटकका बैठकमा राखेको धारणाबाट प्रस्ट के बुझ्न सकिन्छ भने उहाँ वैशाखमा जसरी पनि संविधानसभाको चुनाव गराउनुपर्‍यो, त्यो गराउन राष्ट्रिय सहमतिको सरकार चाहियो भन्नेमा हुनुहुन्छ । बाबुरामजीकै नेतृत्वको सरकारलाई त्यस्तो स्वरूप दिन सकिए सबैभन्दा राम्रो, त्यसो नभए गठबन्धनभित्रबाट बनाउँm भन्ने उहाँको भनाइ छ । त्यो पनि नभए के गर्ने भनेर उहाँले जवाफ खोजिरहनु भएको छ । आज हामीले एउटा जवाफ दियौँ– भएन भने बाहिरबाट पनि गरौँ भनेर । जहाँबाट हुन्छ गरौँ तर चुनावमा जाऔँ ।
बाबुराम भट्टराईले सजिलै सरकार नछाड्ने मनस्थिति बनाएजस्तो लाग्दैन तपाईंलाई ?
त्यस्तो होइन । कसैले चाहँदैमा सरकार छाड्दिनँ भन्न त कहाँ पाइयो र ? त्यस्तो भन्नु पनि हुँदैन । सहमति भयो भने बाबुरामजीले नमानेर हुन्छ ? तर, त्यस्तो मनस्थिति बाबुरामजीको छ जस्तो मलाई लाग्दैन । उहाँले पटक–पटक म बाधक बन्दिनँ भन्नुभएको छ ।
सरकारमा सहभागी र बाहिर रहेका सबै दलले आगामी वैशाखमा चुनाव गर्ने भनिरहेका छन् । के साँच्चिकै वैशाखमा चुनाव होला त ?
एकदम । विल्कुल चुनाव हुन्छ । वैशाखमा चुनाव नगराउनु मुलुकलाई विभिन्न चलखेलमा धकेल्नु हो । धेरै चलखेल हुन्छ यो मुलुकमा चुनाव नभए । वैशाखमा चुनाव हुने भयो भने देशको ‘मुड’ चुनावमा जान्छ र चलखेल गर्नेहरूले मौका पाउँदैनन् ।
प्रस्तुति : खगेन्द्र पन्त

प्रतिक्रिया