बा !

बिरामी पर्नुभएको खबर पाउनुभन्दा पहिले उहाँ एम्बुलेन्समा बसेर काठमाडौं आउँदै हुनुहुन्छ भन्ने खबर पाएँ । बेलुकी ६ बजे खबर पाएँ, बा सिकिस्त भएर आकस्मिक सेवा कक्षमा पल्टिनुभएको छ । खबर पाएको दिन म बालाई भेट्न गइनँ । भोलिपल्ट मात्रै उहाँलाई भेट्न क्याबिनमा पुगेँ । बा निदाइरहनुभएको रहेछ । बाको खुट्टा छोएँ । तातो रहेछ । मेरो स्र्पशले बाका आँखा तत्काल खुले । ‘कस्तो छ बा ?’ आँखा खुल्नेबित्तिकै सोधेँ । ‘ठीक छ । एम्बुलेन्सले चाँडै ल्याइदियो ।’ बाको वाक्यबाट एम्बुलेन्सको ‘लेन्स’ हरायो । ‘धन्नै कालले लगेको,’ यतिचैँ भन्नुभयो बाले । ‘काँ लान्छ बा, त्यसै ?’ ‘हो, लैजानै लागेको थियो ।’ ‘अहिले त बुहारीले हेरेकी छ । तँ आइपुगिस्, दाजु हिजोदेखि नै छ ।’ फरक्क फर्किएर म शौचालय छिरँे । यसकारण छिरेँ– वर्षाँै भयो बाले मेरो आँखामा आँसु देख्नुभएको छैन । बालाई आँसु देखाउने साहस मसँग थिएन । शौचालयभित्र छिरेँ र आँखालाई पखालेर म बाहिर निस्किएँ । बाले आँसुको साटो अब मेरो भिजेको आँखा देख्नुभयो । ‘तँलाई कस्तो छ ?’ ‘ठीक छ बा ।’ बाको आँखामा आँखा जुधाएँ । बाको नाडीमा रोपिएको आइभिक्यानुला र स्ट्यान्डमा झुन्डिएको स्लाइनको बोतललाई नियालिरहेको थिएँ । ‘कति बोतल भयो बा, जिउमा लगाएको ?’ ‘खै, गनिनँ, हिजोदेखि लाका’छन्,’ बाले नाडीतिर हेर्नुभयो । ‘बा, यसले घोचेको दुखेको छैन ?’ आइभिक्यानुला देखाउँदै मैले भनेँ । ‘दुख्यो हिजोचँै, आज त त्यति छैन । मुटुमै सियो रोपेकोजस्तो भा’थ्यो ।’ बाले एकचोटि नाडी छाम्नु भयो । मानिसहरू बिरामी भेट्न आउँदा अनेकथरि खानेकुरा बोकेर आउँछन् तर म बबुरो आफ्नै बालाई भेट्न आँखाभरि आँसु बोकेर गएँ । मेरै बा हुन्, जसले मलाई काँधमा राखेर पहिलोचोटि मैले चिनेको जति चिनाएँ । मैले आजसम्म आफूले केही चिनिनँ । ढोकामा कसैले टकटक गरेको आवाज आयो । पारिलो घाम बालाई छुन आइसकेको थियो । बाले अलिकति पर्दा खोल्नु भयो, दायाँ हातले । बाको अनुहार अघिकोभन्दा अझै उज्यालो देखेँ । ढोका खोलेँ । हातमा बिपी कफ बोकेकी नर्स हुनुहुँदोरहेछ । ‘तपाईंलाई अहिले कस्तो छ, बा ?’ उनी परैबाट मुस्कुराइन् । ‘ठीक छ छोरी । हिजोको भन्दा सन्चो छ,’ उनीतिर हेरेर बाले भन्नुभयो । म पनि मुस्कुराएँ, बाले त्यति भनेपछि । उनले स्लाइनको बोतल फेरिन् । उनले भनिन्, ‘के खानुभयो बा ?’ ‘स्याउ खाएँ एउटा ।’ उनले बिपी (ब्लड प्रेसर) लिइन्, ‘बिपी त कम छ बा ।’ ‘बिहानचैँ के खानुभो नि ?’ ‘बिहान बिस्कुट र चिया खाएँ ।’ ‘कति छ बाको बिपी ?’ मैले उनीतिर हेरेँ । ‘१००/६०’, उनले भनिन् । ‘त्यतिले पुग्छ त, जाउलो खानुपर्छ नि ।’ ‘छोरीले ल्याउँदै छे । म होटेलमा पका’को खान्न छोरी ।’ उनी गइन् । ढोकामा फेरि चुकुल लगाइदिएँ । बेड साइड लकरको माथिल्लो भागमा छरिएर बसेको बाको ओपिडी कार्डले बालाई हेरिरहेको थियो । औषधिका क्याप्सुलले पनि बालाई नै हेरिरहेको हो भन्ने लाग्यो । बेडको तन्ना खुम्चिएको थियो । मिलाउन खोजेँे बाले दिनुभएन । फेरि ढोकामा टकटक आवाज आयो । ढोका खोलेँ । ठूलीदिदी रै’छिन् । ढोकाबाटै ‘दर्शन बा’ भन्दै दिदी बातिर गइन् । बाले ‘भाग्गेमानी’ भन्नुभयो । दिदी हाँसिन् । बा रुन लाग्नुभयो । अब म त्यहाँ बसेर हँुदैन । यसकारण कि बाको आँखाबाट खसेको आँसु हेर्ने क्षमता मसँग छैन । दिदीलाई भनेर म बाहिर निस्किएँ । प्रत्येक मानिसको कमजोरी भनेको आँसु हो । बाले पनि आफ्नो कमजोरी देखाइहाल्नुभयो । सरासर ओपिडी भवनलाई छोडेर म तल आएँ र चौरमा बसेँ । सम्झिएँ, बाले खै त नातिहरू भन्नुभयो होला ? दिदीले त्यसको जवाफ दिइन् होला । अब बा दिदीले ल्या’को जाउलो खानुहुन्छ । अघिको दुब्लो बा अब अलिकति मोटाउनुहुन्छ । बाले जाउलो खाइसक्नुभएको रहेछ । बालाई दिदीको जिम्मामा छोडेर म घरतरि आएँ । बाटोमा कवि क्षेत्रप्रताप अधिकारीसँग भेट भयो । उहाँसँग बाबारे एकछिन कुरा गरेपछि मैले घरकै बाटो तताएँ । म निकैबेर फ्ल्यासब्याकमा गएँ । नोस्टाल्जियाले मानिसलाई गलाउँदो रहेछ, जसरी अहिले मेरा नौनाडी गलेर गएका छन् । बाले माया गरेर काँधमा राखेर गाउँ डुलाएको कुराले मलाई झसंग बनाउँछ । ००० एम्बुलेन्समा आउँदा बाको एउटा जुत्ता छुटेछ । बा बारम्बार जुत्ता छुटेकोमा चिन्ता गर्नुहुन्थ्यो । आफ्नो ज्यानको चिन्ताभन्दा पनि बालाई जुत्ताको चिन्ता भएछ । म त छक्क परेँ । एकमनले सोचेँ, बा त बच्चा नै हुनुभएछ । ‘नयाँ जुत्ता ल्याइदिउँला बा’ मेरो यो बोलीले बालाई छोएन । ‘अस्ति भर्खर किनेको काँ सधैँ नयाँ किन्न सकिन्छ ।’ एउटा जुत्तालाई नमज्जाले हेर्नु भो बाले । बा सानो सानो कुरामा रमाउन थाल्नुभएको छ । जस्तो कि दुई सय पचास रुपियाँको जुत्तामा बा रमाउनुहुन्छ । एक सय पच्चीसको ढाकाटोपीमा बा रमाउनुहुन्छ । सस्तो दौरा र सुरुवालले पुग्छ बालाई । दाजुले भन्नुभयो, ‘तँ घर जा ।’ बाको रेखदेख गर्ने जिम्मा दाजुले लिनुभयो । घर हेर्ने जिम्मा मैले लिएँ । सुत्ने बेलामा दाजुसँग सोधँे, ‘बालाई अहिले कस्तो छ ?’ दाजुले भन्नुभयो, ‘अहिले ठीक हुँदै छ ।’ त्यसपछि कतिखेर निदाएँ, पत्तै भएन । भोलिपल्ट बालाई भात बोकेर म अस्पताल गएँ । म पुग्दा, भातबाहेक अन्य खानुपर्ने कुरा बाले खाइसक्नुभएको रहेछ । म जहिले पनि ढिलो । म पुग्दा दाह्री काटेर चिटिक्क परेर बसिसक्नुभएको थियो बा । बालाई देखेपछि लाग्यो– आज बा हिजोको भन्दा झनै उज्यालो देखिनुभएको छ । दाजुले भन्नुभयो, ‘गधा ।’ दिन अघिल्लो दिनजस्तै गरी बित्यो । तेस्रो दिन म बालाई कुर्न बसँे । राति दिनभरि बाले पढ्नुभएको पत्रिका पढ्ने पालो मेरो आयो । म पत्रिका पढ्दै थिएँ । ‘कविता लेख्न थालिस् कि क्या हो ?’ हाँसेर जवाफ दिएँ, ‘हैन बा ।’ ‘सुत्, बिहान चाँडै उठ्नुपर्छ ।’ बत्ती ननिभाई सुतेँ । विडम्बना म बाको कुरुवा बसेको छु । तर, अचम्म मभन्दा बा पहिला उठ्नुहुँदो रै’छ । सम्पूर्ण काम सकिएपछि बा मलाई उठाउनुहुन्थ्यो र भन्नुहुन्थ्यो– तँ मलाई कुर्न बसेको कि म तँलाई ? म हाँस्थेँ र भन्थेँ, ‘कति बज्यो र बा ?’ ‘सात बजिसक्यो, जा चिया लिएर आइज ।’ बाको उर्दी सुन्दा बा बिरामी हुनुभएकै छैन भन्ने भान मलाई हुन्थ्यो । घडी हेरेँ सातभन्दा पनि पर घडीको सुई गइसकेको थियो । चौथो दिन पनि त्यस्तै भयो । जस्तो अघिल्लो दिन भयो । नर्सहरू साँढे ६ बजे नै आएर भाइटल लिएर गैसकेका रहेछन् । बाले मलाई उठाउनुभयो र गज्जबले हाँस्नु भयो । बाको हाँसोको कारण मैले बुझेँ तर नबुझेजस्तो गरँे । चौथो दिन अति नै भएपछि पाँचौँ दिनबाट म बाको कुरुवा बस्न छाडेँ, लाजले । छैटौँ दिन– डाक्टरहरू राउन्डमा आउँदा गर्नुभएको कुरा मैले सबै सुनेको थिएँ । दाजु, दिदी, बहिनी र बाकी बुहारीले पनि यो कुरा सुनिरहेका थिए । एकचोटि सबैको उज्यालो अनुहारमा हेरेँ । भित्रभित्रै मुस्कुराएँ । अब बा पूरै निको हुनुभयो । भोलि डिस्चार्ज हुने कुरा पनि भयो । सातौँ दिन– डिस्चार्ज पेपरमा लेखिएको औषधि नबिराई खाने सल्लाहबमोजिम डाक्टरले बालाई एकचोटि डर देखाउनुभयो । मलाई थाहा छ । बा औषधि खान डराउनुहुन्न । यो कुरा डाक्टरलाई थाहा छैन । बाले भन्नुभयो, ‘ओखती त म खान्छु, मलाई ओखतीबारे कसैले सम्झाउनै पर्दैन ।’ डाक्टरहरू हाँस्नुभयो । म पनि हाँसेँ । मकै चपाएजस्तै चपाउनुहुन्छ बा औषधिलाई, जस्तो कि बालकहरू चकलेट भनेपछि हुरुक्क हुन्छन्, हो त्यस्तै हुनुहुन्छ बा । डिस्चार्ज हुनुअघि बाको अनुहारमा एकचोटि हेरँे । मैले बा र सानो बालकमा फेरि पनि केही भिन्नता छुट्याउन सकिनँ, जतिबेला म ओखतीको सानो झोला बोकेर क्याबिनबाट बाहिर निस्केको थिएँ ।

प्रतिक्रिया