अस्मिता लुटिएकी केटी र नेपाली राजनीति

मानिसले राज्यसत्ताको राजनीतिक संरचनाको बनोटको निर्माण आफ्ना हितका लागि गरेको हो । दैविक शक्ति र प्राकृतिक शक्तिका पूजकहरूले पनि राज्यसत्ताको निर्माण आफ्नै स्वार्थका लागि गरेका हुन् । सामन्तवादले सामन्तवाद राज्यसत्ताको लागि ऐन, नियम, कानुन बनायो । पुँजीवादले आफ्ना लागि ऐन, नियम, राज्यसत्ताको बनोट, संरचना तयार गर्‍यो । त्यसैगरी साम्यवादले पनि माक्र्सका विचारको आधारमा
आ–आफ्नो बुझाइअनुसार राज्यसत्ता निर्माण गरे । स्वतन्त्रता, बहुलतालगायत थुप्रै नाराहरू आकासमा गुञ्जिए । गाँस, वास र कपासका उद्घोषहरू भए । सांस्कृतिक र आर्थिक उत्थानका कथा वाचनहरू भए । नेपाल त्यसै मध्येको पृथ्वीको एउटा सानो भाग हो । एकीकरणका अभियन्ता पृथ्वीनारायण पछि झन्डैझन्डै ०७ सालसम्म विभिन्न वर्ग र तप्काले उनको सन्तानका नाममा राज गर्‍यो । ०७ सालपछि कुँवरबाट राणा बनेकाहरूको सत्ता संरचनामा सामान्य फेरबदल भयो । उनीहरूका भान्जी, छोरी, भतिजीका लोग्नेहरू कहाँ राज्यसत्ता गयो र पृथ्वीनारायणका सन्तति भन्नेहरूले पुन: राणा हटाउनेहरू सँग संझौता विरोध र एकता गर्दै राज गरे । आन्दोलनकारी मध्ये सुवर्णशमशेरसँग राजा महेन्द्र नजिक भए । सामन्त, सामन्तसँग नजिक हुन पुग्यो । नरशमशेरलाई गंगालाललगायत अपराधबोध गर्न दिएनन् पदोन्नति भयो । राणाका चन्द्रबहादुर, बिपीका दाहिने हात भए । कम्युनिस्ट प्रभाव हिन्दुस्तान र नेपालमा बढ्दै जाँदा प्रजातान्त्रिक समाजवादका नारा आयो । टंकप्रसाद आचार्यहरू बिपीको तेज रोक्नका लागि कम्युनिस्टहरूसँग सामीप्य राखे ।
बिपीबाट गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको रूपमा कल्पना गरिएका टंकप्रसादसँग नै राजा त्रिभुवन र महेन्द्रको चलखेलबाट दूरी बढ्न गयो । भारतका नेहरूका प्रिय पात्र मातृकाप्रसाद ०७ को नेपाली क्रान्तिकै ओज घटाउने गरी राजासँग मिल्दै पार्टी र भाइकै मानमर्दन गर्नपट्टि लागे । नेपाली कम्युनिस्टहरू चिनियाँ मोडेलको नयाँ जनवादी क्रान्ति नेपालमा लागू गर्न सक्ने ठहर गर्न थाले । घटनाक्रमले के.आई.सिंह जन्मायो । संविधानसभा माग्नेलाई पापड बेलेभैँm बेल्छु भन्ने अभिव्यक्ति आउन थाले । आपसका टकराहट राजनीतिक द्वन्द्वका कारणबाट राजा महेन्द्रले देशव्यापी भ्रमण गर्दै तत्कालीन दलका गतिविधि बुझ्दै ०१५ सालको चुनावी नाटक भयो । राजा महेन्द्रले मनपराएका सुवर्णको ठाउँमा बिपी प्रधानमन्त्री भए । राजाले कांग्रेसबाटै कांग्रेसको विरोधका स्वर बढाउन लगाए । प्रतिपक्षलाई त्यहि दिशातिर केन्द्रित गरे । पृथ्वीनाराणदेखि राजेन्द्रको एक कालखण्डसम्म प्रत्यक्षरूपमा शासक भएका राजाहरू पुन: महेन्द्रको पालामा पुनरुत्थान भयो । नाटक प्रजातन्त्रको अवसान भयो ।
कोही जेल परे, केही कम्युनिस्टहरू राजामा राष्ट्रियता देख्न थाले । बिपीका घरमा खाई हुर्केकाहरू केही राजावादी भए । भारतको संस्थापन पक्षसँग भन्दा प्रतिपक्षसँग गाढा सम्बन्ध राखेका बिपी कोइराला जेलबाट मुक्त भएपछि भारत निर्वासनमा लागे । पुष्पलालहरू भारत निर्वासनका लागि वनारसको गल्लीमा पुगे । सूर्यप्रसाद, टंकप्रसाद जेल बाहिर रहे । कृष्णप्रसादहरू जेलभित्र रहे । ०३६ साल आयो , ०४६ आयो । ०३६ ले राजा केही कमजोर भए । ०४६ ले अझ कमजोर भयो । दलीय राजनीतिको फाइदा उठाउँदै हतियार उठाउनेले हतियार उठाए । ०५८ मा राजा र उनका सन्तानको बिनास भयो । प्रारब्ध वा पौरख केले हो ज्ञानेन्द्र राजा बने । दलहरू भित्र विशिष्ट, फस्ट क्लास, सेकेन्ड क्लास, थर्ड क्लास, श्रेणीविहीन थुप्रै किसिमका कार्यकर्ताहरू तयार भए । राजामा पुन: तृष्णा जाग्यो । राज्यसत्ता हातमा लिए । दलहरू आ–आफ्नो ढंगबाट केही सच्चिएको गोर्खाली राजाबाट न्याय पाए भन्नेहरू समेत निस्के । अन्तत: के स्वार्थ मिलेन क्यारे, मालिकसँग वार्ता गर्छु भन्नेहरू भारतको पहलकदमीबाट हतियार बोक्ने योद्धाहरूको पार्टी र दलहरूबीच संझौता भयो । आन्दोलन भयो । संसद् पुन:स्थापना भयो । छोरी राजा हुने कुरा आयो । माग नभएको धर्मनिरपेक्षता आयो । अन्तरिम संविधान आयो । संसद् भागबन्डा भयो, चुनाव भयो । जितेका, हारेका सबैले प्रधानमन्त्री पाए । मुनी, जोगीका चेला पनि प्रधानमन्त्री भए । संविधान आएन । मधेसलाई विभाजन नगर्ने पहाडलाई एकल जातीयतामा बिभाजन गर्ने राजनीति चल्यो । आ–आफ्ना हतकण्डा भए । देशी विदेशी आफ्ना स्वार्थका लागि लागिराखेका छन् । नागरिकसमाज प्रधानमन्त्रीको दावा गर्दै छन् । बाबुरामकै पालामा सातपल्ट पेट्रोल, डिजेल भाउ बढ्यो । बजारले उपभोक्तालाई कार्टेलिङ गर्दै ठगेको ठगै छ । मौन छ देश । विभिन्न कालखण्डमा राज्यलक्ष्मीमाथि भोग गर्नेहरू आए । राज्यलक्ष्मीले चुपचाप भोग गर्न दिइन् । को गलत को ठीक ठम्याउन गाह्रो भइसकेको छ । राज्यलक्ष्मीसँग लाखौँंको पलङमा सुत्ने आकांक्षाहरू बोकेका नेतृत्वबाहेक केही देखिँदैन क्षितिजसम्म हेर्दा पनि । देशका नेता, कार्यकर्ता, राजनीतिक चिन्तनका चालढाल देख्दा भारतका प्रख्यात साहित्यकार कमलेश्वरको महफील कृतिको ‘हमलावर कौन?’ भन्ने लघुकथा जस्तै भएको छ । यो कथाको मूल लेखक मुद्रा राक्षस हुन् । कमलेश्वरले पनि आफ्नो कृतिमार्फत मुद्रा राक्षसको कथा भन्ने प्रयत्न गरेका हुन् । यो कथाले यथार्थ चरित्र चित्रण गरेकाले नेपाली सन्दर्भमा बुझ्ने प्रयत्न भएको छ ।
भारत–पाकिस्तानको युद्ध, भारतीय सेनाले पाकिस्तानी इलाका जितेर पाकिस्तानी क्षेत्रभित्र घुस्यो । भारतीय सेनाले त्यो गाउँहरू कब्जा गर्‍यो । कब्जापछि भारतीय कमान्डर गस्तीमा निस्के । सारा गाउँ खाली थियो । तर, एउटा घरमा १६–१७ वर्षकी केटी एक्लै थिइन् । वासनामय हुँदै कमान्डरले केटीमाथि बलात्कार गर्‍यो । निसहाय केटी के गर्न सक्थी र † बाजी पल्टियो । पाकिस्तानी फौज आयो र उक्त इलाका पाकिस्तानी फौजले कब्जा गर्‍यो । अस्मिता लुटिएकी केटीले राहतको सास फेरी । अब गाउँ फेरि चहलपहल र सुरक्षा हुने कल्पनामा थिई । एकदिन पाकिस्तानी कमान्डर गस्तीमा निस्कियो । उसले पहिले अस्मिता लुटिएकी केटी देख्यो । केटीले दयाको भावमा हेरी । उसले वासनालाई काबुमा राख्न सकेन । उसले केटीमाथि फेरि बलात्कार गर्‍यो जसरी हिन्दुस्तानी टुकुटीको कमान्डरले गरेको थियो । केटीको शरीर हिउँजस्तो चिसो भयो । तर, ऊ जिउँदो नै थिई । उसले सोची आखिर हमलावार को हुन् ? राज्यसत्ता भोग्नेले नेपाली जनताका मनको राज्यलक्ष्मी माथि बारम्बार यही कृत्य गरेका छन् र त्यो राज्यलक्ष्मीले त्यही केटीको पीडा भोगेकी छ । त्यसैले को असल को खराब छुट्याउन नसकेको जस्तो छ । राज्यलक्ष्मीको नियति सधैँ त्यही केटीकोभैँm नहुन सक्छ । त्यतिबेला सिंगो जनता नै राज्यलक्ष्मी हुनेछ । अब त बेला भयो राज्यलक्ष्मीले योग्य, इमान्दार, सक्षम, चिन्तनशील राष्ट्रिय वर खोज्ने । वर खोज्ने अभियानको थालनी अब हामीले कहिलेदेखि सुरु गर्ने ?

प्रतिक्रिया