बलेको आगो ताप्न खोज्नेहरू

‘बलेको आगो सबै ताप्छन्,
निभेको आगो कसले ताप्छ र ?’
लेखक तथा उपन्यासकार झमक घिमिरेले लेखेका हरफ हुन् यी । वर्तमान नेपाली समाजमा बल्दै गरेको आगो ताप्न सबै जान्छन् । तर, बल्न खोजिरहेको आगोलाई सल्काएर ताप्ने बानी हामीमा छैन ।
पुष्पा बस्नेतले ‘सिएनएन हिरो अफ द इयर–२०१२’ जितेपछि उनको गुणगान गाउने धेरै देखिए । पुष्पाभन्दा अगाडि चेलीबेटी बेचबिखन विरुद्धको अभियानमा योगदान पुर्‍याएवापत अनुराधा कोइराला पनि ‘सिएनएन अवार्ड–२०११’ बाट सम्मानित भएकी थिइन् । विश्वमै महत्त्वपूर्ण मानिएको यो सम्मान लगातार दुईपटक नेपाली चेलीले जितेर नेपालको गौरव विश्वमै बढाएका छन् । यससँगै चरीमाया तामाङ पनि आधुनिक दासताका विरुद्ध–२०११ बाट अमेरिकी सरकारद्वारा सम्मानित भइन् । उल्लिखित तिनै नेपाली चेलीले पाएको सम्मान पछिल्लोसमय चर्चामा छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली चेली चर्चाको शिखरमा रहेकै बेला नेपाली समाजमा महिलामाथि हुने हिंसाका दर्दनाक उदाहरणसमेत देख्न पाइयो । त्यो पनि विश्वभरि लंैगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला । गुलरिया, बर्दियाकी शिवा हासमी पनि विवाह गर्न नमानेका कारण पेट्रोल छर्किएर जलाइन् । जुन अहिले आएर परिवारले जलायो अथवा शिवालाई मनपराउने उनका प्रेमीले भन्ने कुरा अनुसन्धानकै क्रममा छ ।
उल्लिखित दुई तथ्यका आधारमा नेपाली समाजमा रहेको अन्तरलाई झल्काउँछ । तैपनि, शिक्षा, आत्मनिर्भरता र सक्षम पुरुषसँगै महिला पनि अग्रपंक्तिमा रहेको तथ्य ‘सिएनएन हिरो’को उपाधिले पुष्टि गरिदिएको छ । तर, महिलाको क्षमता र दक्षता मूल्यांकन गर्ने नजरमा कतै न कतै दोष रहेको अनुमान गर्न सकिन्छ । अन्तर्राष्ट्रिय स्तरमा सिएनएन हिरो बन्न सक्ने पुष्पा र अनुराधा नेपालमा सम्मानित हुन लायक थिएनन् ? सिएनएन हिरो बन्नुपूर्व नेपालमा पुष्पा र अनुराधाको योगदानलाई किन देख्न सकिएन ?
जतिबेला पुष्पाले जेलमा रहेका बालबालिकालाई सरण दिएर उनीहरूका लागि गाँस बास खोज्दै थिइन्, त्यतिबेला उनलाई कसैले सहयोग गरेनन् । त्यतिबेला एक युवती सामाजिक सेवामा लागेको देखेर धेरैले पुष्पाको खिसी गरे । आँैलामा गन्न सकिने २–४ जनाबाहेक उनलाई कसैले पनि सहयोग गरेनन् । मिहिनेत र लगनशीलताले अँध्यारोलाई चिर्दै पुष्पा उज्यालोमा पुगेकी हुन् । पुष्पाको योगदानलाई नेपाल र नेपालीभन्दा अगाडि विदेशीले पहिचान गरे । जब, उनी विश्वमै चम्किइन्, उनका पछाडि दौडिने धेरै देखिए, बलेको आगो ताप्न । अहिले पुष्पाको ताप र रापले आफूलाई चम्काउन उनका पछाडि धेरै कठ्यांग्रिएका संघ/संस्था दौडँदै छन् । यस्तै तीतो यथार्थकै वरिपरि संघर्ष गरेकी पुष्पाले सिएनएनमा पाएको रकमले ‘आफ्ना बच्चाका लागि ठूलो कम्पाउन्ड भएको घर बनाउँछु’ भनेकी छन् । घर बनाउने उनको सपना विगत ८ वर्षदेखिको हो । जसमा कसैले पनि सघाएका थिएनन् ।
चरीमाया तामाङ अर्थात् अनु, जससँग मुम्बैका कोठीमा भोगेका पीडा र अमेरिकी सरकारबाट पाएको आधुनिक दासताविरुद्ध–२०११ को सम्मान दुबै छ । उनी हाल बेचबिखनबाट प्रभावित महिला तथा किशोरीलाई समाजमा स्थापित गराउन र बेचबिखन अन्त्य गर्न कार्यरत छिन् । चरीमाया अहिले जहाँ छिन्, त्यो उनकै व्यक्तिगत संघर्षको प्रतिफल हो । समाजले त उनलाई बाँच्नै गाह्रो हुने गरी ‘वेश्या’को आरोप लगाएको थियो । तर, उनले समयसँग हारिनन् । निरन्तर संघर्ष र लगनशीलता जारी राखिरहिन् । अनुराधा कोइराला पनि चेलीबेटी बेचबिखनविरुद्धको अभियानकी अभियन्ता हुन् । अनुराधाले समाजमा रहेका विकृति विसंगतिविरुद्ध लड्न निरन्तर संघर्ष गरिन् । समाजमा रहेर निभ्दै गरेको दियो आपैँm बाल्नेहरू र आफू हिंसामा परेपनि अरूका लागि लड्नेहरू, जसको अहिले सानो काम पनि चर्चाको चुलीमा छ ।
यतिबेला मुलुकमा सहमतीय सरकारको नेतृत्वका लागि प्रधानमन्त्रीको खोजी भइरहेको छ । सबैका आँखा पुरुष प्रधानमन्त्रीतिर छन् । महिलालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने आवाज किन उठ्दैन ? व्यक्तिगत र पार्टीगत स्वार्थ र भ्रष्टाचारका कारण पछिल्ला सरकारले जनपक्षीय काम गर्न नसकेका हुन् । उल्लिखित विकृतिबाट टाढा रहन महिला नेत्रीले मात्रै सम्भव होला । महिलामा हुने मातृत्व र इमान्दारिताले निष्पक्ष रूपमा संविधानसभाको निर्वाचन गराउन सक्नेमा कुनै शंका रहँदैन । महिलाले पनि देशको नेतृत्व गर्न सक्छन् भनेर भाषण गर्ने र विदेशी महिला नेतृत्वको गुणगान गाउने नेताले किन अहिले नेपाली महिलामा त्यो क्षमता देख्दैनन् ? छिमेकी राष्ट्र भारतको १२ औँ राष्ट्रपति प्रतिभा पाटेलले गरेको नेतृत्वबाट नेपालले सिक्नुपर्ने बेला आएन र ? नेपाली महिला क्षमता, नेतृत्व र सम्मानयोग्य छ्रैनन् भने किन विदेशीको आँखाबाट योगदानको कदर हुन्छ ? सिएनएन हिरो नेपाली महिला किन हुन्छिन् ? आवश्यक जिम्मेवारी दिने हो भने नेकपा (एमाले) की विद्यादेवी भण्डारी, कांग्रेसकी सुजाता कोइराला, नेकपा–माओवादीकी पम्फा भुसाल र एमाओवादीकी हिसिला यमी, सद्भावना पार्टीकी सरिता गिरी महिला नेत्रीको उदाहरण बन्न सक्छन् । घरदेखि जंगलसम्म र कार्यालयदेखि राजनीतिसम्म महिलाको क्षमतामा प्रश्नचिह्न लगाउने ठाँउ अहिले छैन । तर, राजनीतिमा पनि महिलामाथि हिंसा भइरर्‍यो । विघटित संविधानसभामा रहेका ६ सय १ सभासद्मध्ये ९७ जना महिला सभासद् थिए । तर, उनीहरूको एउटै गुनासो हुन्थ्यो, आफूले भनेको कुरा नसुनिने र निर्णयका लागि पुरुषमै गएर टुङ्गिने ।
यसै सन्दर्भमा स्व. शैलाजा र जीउँदो सहिदझै बल्खुमा पल्टिरहेकी साहना प्रधानलाई सम्झनै पर्ने हुन्छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालकी धर्मपत्नी एवं नेकपा एमाले नेत्रीको बोल्ने क्षमता बन्द भएको करिब डेढ वर्षभन्दा बढी भयो । तर, उनले आवश्यक उपचार पाउन सकेकी छैनन् । नेता केपि ओली बिरामी हुँदा भारतबाट एयर एम्बुलेन्स आउँछ । तर, साहनाको लागि उपचारको बन्दोबस्त किन गरिएन ? अरूलाई आफ्नै खर्चमा उपचार गराउने सरकारले साहनाको उपचारमा किन ध्यान दिन सकेको छैन ? प्रश्न गम्भीर छ । अहिले पुष्पाको पछि दौडिनेहरू धेरै छन् । तर, साहना प्रधानजस्ता निभ्दै गरेका महिलाको कसैलाई वास्ता छैन ।
प्रकृतिले पुरुषभन्दा महिलालाई शारीरिक रूपमा कमजोर बनाएको सर्वविदितै छ । तर, महिला बौद्धिकदेखि कुटनीतिक रूपमा कुनै कुरामा कमजोर छैनन् । जंगलमा लड्दा, बन्दुक बोक्दा महिलालाई समान सम्झने र भाषणमा महिलालाई समान सम्झने पुरुषवादी नेतृत्व राजनीतिमा नेतृत्व गर्न महिलालाई कहिले समान सम्झला ? अब धेरै भयो पुरुषले प्रधानमन्त्री भएर देश चलाएको, जसको हविगत हामी सबैसामु छर्लङ्ग छ । तर, महिला आफ्नो बौद्धिकता र क्षमताले उच्च ओहदा र स्थानमा पुगेका छन् । त्यसमाथि आफ्नै श्रेय देखाउन महिलाको पछि दौडने पुरुष पनि धेरै देखिए । त्यसैले त बलेको आगो ताप्न सबैलाई आउँछ । तर, आगो बालेर ताप्न कसैलाई आउँदैन ।

प्रतिक्रिया