राष्ट्रिय सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले पटक–पटक गरी दिएको समयावधि नेताहरूले त्यसै गुजारे । करिब एक महिना पुग्न लाग्दा पनि मुलुकका प्रमुख दलहरूबीचमा सहमति हुन नसक्नुको
कारण राजनीतिक अकर्मण्यता र सत्तालिप्साकै कारण हो । पछिल्लोपटक दलहरूको आग्रहमा नै राष्ट्रपति रामवरण यादवले दिएको पाँच दिनको म्याद पनि सोमबार सकियो । सोमबारसम्मको समय–सीमाभित्र पनि दलहरूबीचमा सहमति कायम गरी राष्ट्रिय सरकार बन्न सकेन र सम्भावना अझै पनि छैन । यसले गर्दा ठूला राजनीतिक दलहरूप्रति आमनागरिकमा वितृष्णा पैदा भइरहेको छ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूमा देश र जनताभन्दा पनि आ–आफ्ना दल र व्यक्तिगत स्वार्थप्रति डम्फु बजाउँदै मेरो गोरुको बाह्रै टक्का भन्ने र विरोधका लागि विरोध गर्ने अराजनीतिक प्रवृत्तिले देश आज दिशाविहीन अवस्थातर्फ जाँदै छ ।
राजनीतिक अस्थिरताका कारण मुलुकमा जताततै डामाडोल अवस्था छ । राजनीतिक दलका नेताहरूमा मुलुकका लागि केही गर्नुपर्छ भन्ने भावनामा धमिरो लागेको स्थिति देखिँदै छ । आफूलाई देश र जनताभन्दा टाढा राखेर व्यक्तिगत र पार्टीगत स्वार्थमा आफ्नो सम्पूर्ण शक्तिकेन्द्रित गर्ने आत्मकेन्द्रित सोच र सोहीअनुसारका गतिविधिले नेपालीको बलिदानपूर्ण आन्दोलनपछि प्राप्त लोकतन्त्र नै धरापमा पर्न लागेको छ । दलका नेताहरूमा विनयशीलता र मधुरताको संस्कृति नष्ट भएको छ । उनीहरूमा दिनहुँजसो धम्कीका भाषा मात्र मुखरित भइरहेका छन् । लोकतान्त्रिक मूल्य, मान्यता र संस्कृति लोप हँुदै छ । आन्दोलनको लक्ष्य र उद्देश्यका लागि अघि बढ्नु पर्नेमा पद प्राप्तिको मात्र होड चलिरहेको छ । आफ्नो स्वार्थबाट माथि उठेर देश र जनताको लागि निस्वार्थ भावका साथ काम गर्ने नेताहरूको हरेक दलमा खडेरी पर्न थालेका आभास मिलेको छ । अन्तर पार्टीबीच रहने परस्पर विश्वासको वातावरण गुम्दै छ । सत्तारूढ दलहरूले अन्य दलको विश्वास प्राप्त गर्न सकेका छैनन् भने प्रतिपक्षले पनि सबैको विश्वास लिएर अघि बढ्न सकेका छैनन् । विश्वास दिलाएर विश्वासघात गर्ने अराजनीतिक संस्कार नै हाबी भइरहेको छ ।
सहमतिका नाममा सुरु गरिएको असहमतिको यात्राले मुलुक प्रतिदिन गम्भीर संकटमा होमिँदै छ । दलहरूबीच रहेका गम्भीर वैचारिक मतभेदका बीच पनि दिल्ली सम्झौता भई राजनीतिक दलहरूका बीचमा सहयात्राको राजनीति सुरु भएको थियो । त्यस यथार्थतालाई चटक्क बिर्सेर राजनीतिक परिपक्वता गुमाउँदै जानुभन्दा देश र जनताप्रतिको भावनात्मक सम्बन्धलाई स्थापित गर्नुपर्ने अहिलेको आवश्यकता हो । घातप्रतिघात र अविश्वासका कारण राष्ट्रिय सहमति हुन नसक्दा मुलुकमा लामो समयदेखि कामचलाउ सरकार छ । कामचलाउ सरकारको आयु बढाइराख्नुलाई नै सत्तारूढ दल र सरकार आफ्नो सफलता ठानिरहेको छ भने उसका नियमित क्रियाकलापमा बेलाबेलामा कँैची लगाई राम्रो काम गर्नबाट रोक लगाउनुलाई विपक्षीले आफ्नो उपलब्धि ठानेका छन् । देश र जनताप्रतिको आफ्नो कर्तव्यप्रति कसैलाई पनि चिन्ता छैन । नेताहरूमा रहेको बोलाइ र गराइबीचको अन्तरलाई जनताले हात्तीको देखाउने र चपाउने दाँतको रूपमा परिभाषित गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले गर्दा नेपाली जनताको ००७ सालदेखिको आन्दोलनबाट प्राप्त उपलब्धि क्षणभरमा नै गुम्नसक्ने खतरा पनि उत्तिकै रहेको छ ।
राष्ट्रिय सहमति निर्माण हुनुपर्ने आज मुलुकको प्रमुख कार्यभार हो भन्नेमा कुनै पनि दल र तिनका नेताहरू असहमत छैनन् । तर, सहमतिको मार्ग खोली मुलुकमा उत्पन्न गतिरोधलाई अन्त्य गर्न आफ्नो पनि महत्त्वपूर्ण अग्रसरता चाहिन्छ भन्नेमा भने कुनै पनि दल तयार देखिँदैनन् । यस्तै स्वभावका कारण नै मुलुकमा राजनीतिक स्थायित्व र स्थिरता कायम हुन सकेन र दुई वर्षभित्रमा संविधान निर्माण गर्नुपर्ने संविधानसभा नै विघटनको अवस्थासम्म पुग्यो । फेरि, दलहरूका बीचमा निर्वाचनका लागि सहमति गरिएको छ । तर, त्यसका लागि आधारभूमि तयार गर्न कोही पनि लागि परेका छैनन् । यस किसिमको प्रवृत्तिले संविधानसभाको निर्वाचन कहिले र कसरी भन्ने प्रश्न नै जटिल प्रश्नको रूपमा खडा भएको छ । देश र जनताप्रतिको कर्तव्यबोधलाई बिर्सिएर सत्ता र कुर्सीमोहका लागि डुब्ने प्रवृत्तिका कारण नै मुलुकले यो दुर्नियतिको सामना गर्नु परिरहेको छ । नेताहरूको सत्तामोह, व्यक्ति स्वयंको आराम गर्ने चाहना, सुविधा र सुरक्षापूर्ण जीवनयापन गर्ने सोचका कारण जनतामा निराशा र कुण्ठा बढिरहेको छ । जसका कारण मुलुकको आगामी राजनीतिक यात्रा असहज र अपत्यारिलो अवस्थामा पुग्दै छ ।
अस्थिर राजनीतिका कारण उत्पन्न संकटग्रस्त अवस्थालाई किनारा लगाउने कार्य फेरि पनि राजनीतिक दल र ती दलका नेताहरूको काँधमा छ । त्यसका लागि देश र जनताप्रति समर्पित राजनीतिक संस्कार, अन्तरपार्टीबीचको सुमुधर राजनीतिक सम्बन्ध र अधिक लचकता प्रदर्शन गर्न सक्ने व्यवहार भने आवश्यक पर्छ नै । समयले एक दिन सबैबाट आवश्यक त्याग मागेको हुन्छ । त्यस्तो त्याग गर्ने अवसर एकपटक मात्रै आउँछ र सही ठाउँमा त्याग गर्न सक्नुलाई नै मानवीय बहादुरी ठानिन्छ । अहिले मुलुकलाई त्यस्तै मानवीय त्याग गर्न सक्ने बहादुर नेतृत्वको आवश्यकता छ । यस्तै त्याग गर्न सक्ने बहादुर नेताहरूको कार्यशैलीबाट राष्ट्रिय सहमति कायम गरी मुलुकलाई नयाँ सरकार दिने र त्यो सरकारले ठोस कार्यक्रमसहित नेपालको लोकतन्त्रलाई समृद्ध पार्ने कामको सुरुआत गर्नुपर्छ । अहिलेको मुलुकको सर्वाेपरि राष्ट्रिय आवश्यकता नै यही हो । राष्ट्रिय सहमतिको नारा फलाक्न नछाड्ने र सहमतिका लागि भन्दै दलका शीर्ष नेताहरू एक पछि अर्काे गरी राष्ट्रपतिसमक्ष म्याद थप्न तारिख धाइरहने हास्यास्पद अवस्थाको पटाक्षेप अब हुनै पर्दछ । तबमात्र मुलुकले सार्थक गन्तव्य प्राप्त गर्न सक्नेछ ।
प्रतिक्रिया