गुरु षडानन्दलाई राज्यले राष्ट्रिय विभूति घोषणा किन गर्नुपर्छ ?

जहानियाँ र सामन्ती शासन व्यवस्था रहेको असहज परिस्थितिमा पनि गुरु षडानन्दले जनस्तरबाट सामुदायिक विद्यालय स्थापना गर्नुभयो । शैक्षिक विकासका लागि यो अत्यन्त महत्त्वपूर्ण कार्य थियो । त्यसको सञ्चालन र आवश्यक व्यवस्था गर्नका लागि गुठी स्थापना गरी एउटा धर्मपत्रिका बनाउनुभयो । साथै, उहाँले सनातन संस्कृति विस्तारका लागि मठ, मन्दिर स्थापना पनि गर्नुभयो ।
शिक्षाको केन्द्रका रूपमा रहेको त्यहाँ अध्ययनका लागि भुटान, सिक्किम, आसामलगायत क्षेत्रबाट विद्यार्थीहरू आउथे । शिक्षामार्फत समाजको उत्थान गर्ने व्यक्तित्वका रूपमा परिचित उहाँले समाज सुधारका लागि सतीप्रथा र दासप्रथाको पनि अन्त्य गर्न ठूलो योगदान दिनुभएको छ । त्यस्तै पर्यावरण संरक्षणका लागि रुद्राक्षका बोटबिरुवा लगाउने सुरुआत गर्नुभयो । जुन अहिले भोजपुर र संखुवासभामा रुद्राक्ष उत्पादनले त्यस क्षेत्रका जनताले राम्रो आर्थिक विकास र प्रगति गर्न सफल भएका छन् । समग्रमा भन्दा उहाँ समाज सुधार र विकासका साथै योजनाकार हुनुहुन्थ्यो । असल समाजको निर्माण गरेर अनन्तकालसम्म राष्ट्रलाई सत्मार्गमा डोर्‍याउने युगपुरुषका रूपमा राज्यले षडानन्दलाई लिनुपर्छ । उहाँका कामबाट हामी सबैले प्रेरणा लिँदै असल र सभ्य समाजका लागि केही गर्नैपर्छ । समाज सुधार, शैक्षिक विकास, संस्कृति विस्तार र पर्यावरणीय संरक्षणका मामलामा उहाँको योगदानलाई कसैले बिर्सन मिल्दैन । यी सबै क्षेत्रमा उहाँले गर्नुभएको सुधार कार्यप्रति राज्यले गौरव गर्दै उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ ।

प्रतिक्रिया