सतीले सरापेपछि …

मैले यसअघिका लेखहरूमा देशको समसामयिक राजनीतिका बारेमा कलम चलाए । यो अवस्था ल्याउन को कति जिम्मेवार छन् । कसका कारणले देश यो अवस्थामा छ भन्ने बारेमा लेखाजोखा हुँदै आएको थियो तर यसपटक अलि फरक कोणबाट यो विचार लेखिएको छ ।
भन्ने गरिन्छ यो सतीले सरापेको देश हो । नेपालको इतिहासका बारेमा जानकारी राख्ने जो कसैले पनि पढेको सुनेको हुनुपर्छ इ.सं. १६४१ को मल्लकालीन समयमा राष्ट्रसेवक काजी भीम मल्लका विरुद्ध उनका शत्रुले लगाएका झुटा कुरालाई विश्वास गरी राजा लक्ष्मीनरसिंह मल्लले उनको टाउको छिनाउने आदेश दिए । भीम मल्ल मारिए । उनकी श्रीमती सती जाने बेलामा अब नेपाल र नेपालीको कहिल्यै भलो हुने छैन भनेर श्राप दिएकी थिइन् । (दरबारमा कसैको पनि विवेक नरहोस् भनेकी थिइन् भन्ने पनि पाइन्छ ) कतिलाई लाग्दो हो त्यस्तो सराप पनि कही लाग्छ ? हुन त कतिले देशको भलो होस् भन्दै ज्यानको आहुति पनि दिएका छन् । फाँसीको तप्कामा झुन्डिएका छन् तर, ज्यानको आहुति दिनेले दिएको आसिक लागेन सतीले दिएको श्राप भने लाग्दै आएको छ । नेपालसँगै राजनीतिक रूपले स्वतन्त्र भएका संसारका अरू देशको इतिहास र वर्तमान अवस्थालाई हेर्दा छोटो समयमै ठूलो उपलब्धि हाँसिल गरेका छन् । आर्थिक र सामाजिक हिसाबले देशलाई कायापलट नै गरेका छन् । तर, नेपाल र नेपालीको हकमा हेर्दा यो सब उल्टो छ । जति–जति समय बित्दै आयो त्यही गतिमा प्रगति हुनु पर्नेमा झन् झन् पछाडि परेको अवस्था छ । समृद्ध नेपालको कल्पना गर्दै राजनीतिक रूपमा ठुल्ठूला परिवर्तन भएका छन् तर पनि गणतन्त्रीय व्यवस्थाभन्दा बहुदल व्यवस्था ठिक, बहुदल व्यवस्थाभन्दा पञ्चायत व्यवस्था ठिक, पञ्चायत व्यवस्थाभन्दा राणा शासन ठिक भन्ने अवस्था आएपछि शासन गर्ने शासकले के गरे त ? अब पनि आशा गर्ने केही बाँकि होला र ? यो सब एउटा नेता एउटा पार्टीका कारणले मात्र भएको छैन । ग्रह दशा नै बिग्रेको हो । सतीको श्राप लागेको हो ।
राजनीतिक दलका नेताहरूमा देशको अहिलेको मात्र होइन विगतदेखिको अवस्थाबारेमा राम्रो जानकारी छ । पछिल्लो समय राजनीतिक संकट ल्याउने पनि तिनै नेता र दल हुन भने त्यसका बारेमा अनभिज्ञ हुने त कुरै भएन । राजतन्त्र फालेर गणतन्त्र ल्याएर संविधानसभाबाट संविधान बनाएर शासन गर्ने उद्देश्यले गरिएको परिवर्तनपछि देश झन् झन् अस्थिर राजनीतिमा फसेको छ । आफूहरूले नै सिर्जना गरेको संकटको निकास दलहरू मिल्नुको विकल्प छैन पनि भन्छन् । जनताको अगाडि भाषण गर्दा देशमा देखिएको वर्तमान राजनीतिक संकटको निकासका लागि फाँसी नै चढ्नु परे पनि पछि नपर्ने सम्मको भाषण गर्छन । संकटका बारेमा बुझेका छन् । त्याग गर्न तयार छाँै पनि भन्छन् तर परिणाम आउने गरी सहमति कहिल्यै गर्दैनन् । यस्तो किन भइरहेको छ कतै यो सब सतीले सराप दिएकैकारण त होइन ? एक पटक नेपाल र नेपालीको नाममा पूजा पाठ, होम ग्रहशान्तिका लागि यज्ञ लगाउने हो की ?
सतीको सरापलाई विश्वास नगर्ने हो भने नेपाली रिसोर्टमा होइन भारतको कुनै ठाउँमा गएर सहमतिका लागि परिणाम आउने गरी वार्ता गर्ने हो की ? पहिला त्यसका बारेमा दलहरूले छलफल गर्दा राम्रो हुने दखियो । अहिले सम्मको घटनाक्रमलाई हेर्दा भारतीय भूमिमा भएका वार्ता र सहमतिले तत्काल निकास दिए जस्तो देखिए पनि टिकाउ हुने खालका भएनन् । यस्तै कुरा बुझेर वा नबुझिकनै भए पनि कुनै बेला प्रचण्ड र सुजताले तराईमा गएर भैँसी पूजा गरेका थिए । अब व्यक्ति व्यक्तिले होइन देशमा जति दल छन् तिनका नेता राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सचिवहरूलगायत दुई करोड ६५ लाख जनताले एकैपटक पूजा गर्नु पर्‍यो । सतीले सरापेको त्यो देशलाई मुक्त पार्नु पर्‍यो । अनिमात्र देशमा परिवर्तन गर्ने हो की ? नत्र परिवर्तनका नाममा देश सधैँ किन अधोगतितर्फ जाँदै छ ? नेपाल र नेपालीका लागि भनेर राजनीति गरेका राजनीतिक दल र तिनका नेता देशको नाजुक अवस्था देख्दा देख्दै पनि किन अन्धा बनेका छन् ? शासकहरू अहिलेमात्र होइन धेरै पहिलेदेखि नै अन्धा बन्दै आएका छन् । शक्तिमा नआउदासम्म सबै बेथिति देखिने सत्तामा पुगेपछि पुरै अन्धो हुने यो त्यसै भएको छैन यो श्राप नै हो ।
सतीले दिएको श्राप कुन दिशाबाट लागेको छ त्यो पनि छुट्याउन आवश्यक छ । २००७ सालको आन्दोलन दिल्ली सम्झौता भएर टुङ्गियो । ०४६ सालमा पञ्चायत फाल्न चन्द्रशेखरसहितका नेताले काठमाडांैमा आएर भाषण गरी देशमा नाकाबन्दी गर्न लगाएर भए पनि सफल पारे । माओवादी र तत्कालीन सात संसदवादी दललाई भारत कै भूमिमा बाह्रबँुदे सहमति गराउँदै ०६०/६३ मा राजतन्त्र नै फाल्ने काममा सहयोग गर्‍यो । अहिलेको राजनीतिक संकटको समाधान पनि उसैलेनै गर्दिनु पर्छ । पछिल्लोपटक दलहरू सहमतिको नजिक पुग्नै लागेको समाचार आएको छ । सहमति दुबै पक्षले जित्नेखालको छ भनिदै छ । यो पनि धेरै दिन टिक्ने खालको कुरा होइन ।
देश र जनतासँगभन्दा पनि सत्ताका लागि गरिएको सहमति कुन बेला कहाँनेर चुडिन्छ भन्ने सकिदैन । यहाँका नेताहरू विवेकशून्य भएका छन् । आफ्नै बुद्धिले काम गर्नुभन्दा अरू कसैको दबाबमा काम गर्दा उसको काम गरिदिए जस्तो हुने दास मनोवृत्ति हट्न सकेको छैन । त्यो रोग आजको मात्र होइन यो त नेपाल र नेपालीको नियती नै बनिसक्यो । त्यसका लागि करणसिंह एक्लै आएर वा राष्ट्रपति एक्लैलाई भारत बोलाएर होइन नेपालमै आएर सहमति गराउने हो भने ४६ सालको आन्दोलन गराउन पाँच जना आएका थिए भने ६९ सालमा कम्तिमा पनि दश जान आउनु पर्‍यो । भारतीय भूमिमा गराउने हो भने मुलुकमा धेरै दल खुलेका छन् कुनै बेला सात दललाई बोलाउदा हुन्थ्यो भने अहिले कम्तिमा पनि तीन दर्जन दलका नेता र राष्ट्रपतिलाई बोलाउनु पर्‍यो तबमात्र निकास आउन सक्छ । पछिल्लोपटक खुलेका दलहरू पनि कसरी हुन्छ एकपटक भारतीय भूमिमा टेकेर सहमति गर्न आतुर छन् । नेपाली जनता माथि त शासन गर्ने न हो तिनले चाहेको र भनेको मान्न कुनै जरुरी छैन भन्ने सोचेका छन् । किनकि, नेपाली जनता त सतीले सरापेका न परे । उनीहरू त नेताका लागि लड्दिन्छन् आफ्ना लागि केही नभए पनि चुप लाग्छन् ।

प्रतिक्रिया